अखिल क्रान्तिकारीको मतगणनामा जनार्दन पक्षको अवरोध, मतपेटिका पेरिसडाँडा लैजान खोज्दा विवाद

काठमाडौं । माओवादीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नयाँ नेतृत्वको लागि भएको निर्वाचनको मतगणना अवरुद्ध भएको छ ।

मधेशमा गणना भइरहेका बेला मतपत्रमा पानी फ्याँकेर चपाइएको विवादलगत्तै उपत्यकाको मतपेटिका पेरिसडाँडा लैजान खोजिएपछि अवरुद्ध भएको हो ।

विश्वविद्यालय प्रदेश र उपत्यका विशेष प्रदेशको मतगणना मतदानस्थल बाल्मिकी क्याम्पसमै गर्ने कि पार्टी कार्यालय पेरिसडाँडामा गर्ने भन्ने विवादपछि गणना अवरुद्ध भएको हो ।

यसअघि मतपत्रमा कालो र रातो रंग प्रयोग भएको भन्दै विवाद भएपछि गणना हुन सकेको छैन । सहमतिपछि आज गणना गर्न लागिएकोमा निर्वाचन समितिले मतपेटिका पेरिसडाँडामा लैजान खोजेपछि विवाद उत्पन्न भएको हो । पार्टी उपमहासचिव जनार्दन शर्मा पक्षका अध्यक्ष उम्मेदवार हेमन्त राई समूहले मतदानस्थलमै गणना हुनुपर्ने अडान राखेको छ ।

राई पक्षका एक नेताले भने- निर्वाचन समिति वर्षमान पुन र शक्ति बस्नेत समूहसँग मिलेको छ । हेडक्वार्टर (प्रचण्ड)ले पनि हामीलाई सहयोग गरेको छैन । उनीहरूले मतपेटिका पेरिस डाँडामा सार्ने बहानामा बाटोमै गडबडी गर्ने आशंकामा हामीले मानेका छैनौँ ।

अर्को पक्षले भने जनार्दन पक्षधर राई अध्यक्षमा हार्ने निश्चित भएपछि बखेडा सिर्जना गरेर मतगणना रोक्ने वा भाँड्ने खेलमा लागेको आरोप लगाएको छ । मधेशमा पनि जनार्दन पक्षले नै विवाद निकालेको आरोप अध्यक्ष उम्मेदवार विजय प्रकाश सापकोटा पक्षको छ ।

सो पक्षका एक नेताले भने- जनार्दनका उम्मेदवार हार्ने निश्चित भइसकेको छ, त्यसैले गणनामा विवाद निकालेर महाधिवेशन भाँड्ने खेलमा लागेका छन् । यसमा केही पूर्वविद्यार्थी नेता पनि संलग्न छन् ।

उपत्यका र विश्वविद्यालयबाहेकको गणनामा सापकोटाले ४५३ मत पाएका छन् भने राईले ४३० मत पाएका छन् । सुदिन पौडेल र उपदेश यादव भने जितभन्दा निकै टाढा छन् ।

Comments

One response to “अखिल क्रान्तिकारीको मतगणनामा जनार्दन पक्षको अवरोध, मतपेटिका पेरिसडाँडा लैजान खोज्दा विवाद”

  1. ksp pyl Avatar
    ksp pyl

    पेरिस डाँडा लैजान नदेउ किनकी यो प्रचण्डको धाँधली गर्ने रणनीति हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *