काठमाडौं । हास्यप्रधान टेलिभिजन शो ‘कमेडी दरबार’ बाट कलाकार विजय बराल बाहिरिने भएका छन् । कार्यक्रममा ‘जज’ को भूमिकामा रहेका उनले तीन एपिसोडपछि आफूले छोड्ने बताए ।
बराल पछिल्लो समय चलचित्रमा निकै व्यस्त बनिरहेका छन् । ‘पूर्णबहादुरको सारंगी’ ब्लकबस्टर बनेसँगै उनको डिमान्ड आकाशिएको छ । बरालले ‘वरिष्ठ बलराम’ र ‘जनै हराएको बाहुन’ मा साइन गरिसकेका छन् । कबड्डी र जारीको सिक्वेलमा पनि उनी देखिने छन् । उनले अभिनय गरेको लज्जा शरणम फागुनमा प्रदर्शन हुँदैछ ।
हिजो ‘पूर्णबहादुरको सारंगी’ को सक्सेस पार्टीमा बराल उपस्थित थिए । सोपश्चात सञ्चारकर्मी अनुप भट्टराईसँगको कुराकानीमा उनले आफू कमेडी दरबारबाट बाहिरिन लागेको जनाउ दिए ।
बरालका अनुसार उनी अब कमेडी दरबारका तीन एपिसोडमा देखिनेछन् । बुधबार आफ्नो अन्तिम सुटिङ हुने उनले बताए ।
बरालले भने, ‘बुधबार सुट भएपछि मैले लगभग भ्याउँदिन होला । अब सिनेमाबाट निस्किने चान्स कम हुन्छ । साथीहरूसँग समझदारी सल्लाहमा मिलाउँ भनेको छु ।’

Leave a Reply