बाहुबली बलराम कुमार ! एक डलरको कम्पनीलाई वर्ल्डलिंकबाट हङकङमा ११ अर्ब भुक्तानी (भिडिओसहित)

काठमाडौं । सरकारले सम्पत्ति शुद्धीकरण दिवस मनाइरहेका बेला वर्ल्डलिंक कम्युनिकेशनले ११ वर्षमा ११ अर्ब रूपैयाँ हङकङको एक डलर कम्पनीमार्फत पुँजी पलायन गरेको सन्दर्भमा नियामक निकाय मौन देखिएका छन् । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले गैरकानूनी काम गरेको पाइए कारवाही हुने भनेका छन्, तर वर्ल्डलिंकले ११ वर्षमा ११ अर्ब रूपैयाँ कहाँ र किन पठायो भन्नेबारे छानबिनमा अग्रसरता देखाइएको छैन ।

नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट सेवा प्रदायक तथा नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र प्राप्त संस्था वर्ल्डलिंक कम्युनिकेशन लिमिटेडले इन्टरनेशनल इन्टरनेट व्याण्डविथ खरिदबापत विगत ११ वर्षमा करिब ११ अर्ब रकम हङकङमा रहेको १ डलर पुँजी भएको इन्ट्राप्टस लिमिटेड (Interaptus Limited) नामक कम्पनीमा पठाएको प्राधिकरणको अभिलेखबाट देखिएको छ । भुक्तानी Interaptus Limited लाई गरेको भए पनि वर्ल्डलिंकले इन्टरनेट ब्याण्डविथ भने भारतीय सेवा प्रदायक संस्थाहरू टाटा (Tata)  र एयरटेल (Airtel) बाट प्राप्त गर्दै आएको देखिन्छ ।

हङकङस्थित उक्त एक डलरको कम्पनी : Interaptus Limited को त्यहाँ दर्ता गरिएको अभिलेखअनुसार कम्पनी निर्देशकको नाम बलराम कुमार उल्लेख भएको देखिन्छ । उनको ठेगाना भारतको विहारको दरभंगा भनी उल्लेखसमेत भएको नेपाल प्रेसले पाप्त गरेको कागजातमा उल्लेख छ । यसका साथै हङकङमा Interaptus Limited दर्ता गर्न विहार दरभंगाका उनै बलराम कुमारले भारतीय पासपोर्ट प्रयोग गरेको देखिएको छ ।

हङकङमा Interaptus Limited को ठेगाना रहेको स्थानः १२-१३ Jubilee Street, Central Hong Kong मा नेपाल प्रेसका प्रतिनिधि पुग्दा उक्त कम्पनीको कार्यालय सेटअप देखिएन । भवनको भुइँतला जहाँ अन्य सबै कम्पनीहरूको नाम नामेसी उल्लेख गरिएको देखियो त्यस स्थानमा Interaptus Limited को नामसमेत उल्लेख भएको देखिएन ।

उक्त ठेगानामा नेपाल प्रेस प्रतिनिधिले भिडिओसमेत खिचेका छन् जसमा “Dhun Sukh Management Services Limited” को अफिस सेटअप गरेको देखियो जो Interaptus Limited को प्रतिनिधिको रुपमा रहेको अभिलेखबाट पाइएको छ । धुन सुख म्यानेजमेन्ट सर्भिसेज लिमिटेड हङकङमा रहेको पब्लिक एकाउन्टिङ संस्था रहेको बताइएको छ ।

उक्त कम्पनीले विभिन्न कम्पनीहरूको हिसाब किताब मिलाउने कार्य गर्दै आएको देखिन्छ । त्यस्तै इन्टरनेशनल इन्टरनेट ब्याण्डविथसम्बन्धी काम गन हङकङमा Interaptus Limited को कुनै पनि सञ्चार पूर्वाधार नरहेको समेत पाइएको छ । धुन सुख म्यानेजमेन्टको कार्यालय सानो कोठामा सेटअप भएको, उक्त कम्पनीमा दुईजना मात्र कामदार कार्यरत छ ।

उनीहरूलाई Interaptus Limited को बारेमा जिज्ञासा राख्दा उक्त कम्पनीको छुट्टै अफिस हङकङमा नरहेको र सोही कम्पनी (धुन सुख) ले नै Interaptus को एकाउन्टिङसम्बन्धी काम गरेकाले उसले आफ्नो कम्पनीको ठेगानामा Dhun Sukh कै ठेगाना देखाएको बताए । उक्त एक डलरको कम्पनी कागजमा मात्र रहेको र उसको कार्यालय नरहेको उनीहरूले पुष्टि गरे ।

कहाँ छन् त बलराम कुमार ?

हङकङमा बलराम कुमार र उनको कम्पनी इन्टरप्टस दुवै भेटिएनन् । त्यसो भए बलराम कुमार को हुन् र कहाँ छन् त ? यसको खोजी गर्दा सोही कम्पनीको कागजातमा उनको सम्पर्क ठेगाना सिंगापुरको कोलम्यान स्ट्रिट उल्लेख भएको छ ।

उक्त ठेगानामा रहेको भर्चुअल मेल बक्सलाई सिंगापुरमा भर्चुअल अफिसको रुपमा प्रयोग गरिने यहाँको तस्बिरबाट नै स्पष्ट खुलेको देखिन्छ। यहाँ प्रश्ने के उठाउन सकिन्छ भने नेपालबाट ११ अर्ब रकम लिएर गएको १ डलरको कम्पनीको अत्तो पत्तो नहुनु, कम्पनी उल्लेखित ठेगानामा कुनै व्यक्ति फेला नपर्नु र व्यक्तिको ठेगानासमेत भर्चुअल मेल बक्समा भेटिनुले नेपालबाट पुँजी पलायन/ Money Laundering को लागि रचिएको प्रवन्ध त होइन ? नियामक निकायले खोजी गर्नुपर्ने विषय हो नेपाल दूरसञ्चार प्राधिकरण, सञ्चार मन्त्रालय, नेपाल राष्ट्र बैंकलगायतका निकायले खोजी गर्ने हो भने अरु धेरै तथ्यहरू भेटिनेछन् ।

सिंगापुरको तस्बिर-

एक डलर पुँजी भएको हङकङस्थित एक कम्पनीमा ११ अर्ब रकम पठाइयो, वाइडबडीमा जस्तै Money Laundering र भ्रष्टाचारको आशंका

नेपाल सरकारले आज माघ १४ मा Anti-Money Laundering Day मनाइरहँदा नेपालबाट भएका भ्रष्टाचारजन्य कार्य तथा Money-Laundering उदाहरणको लागि नेपाल एयरलाईन्सले नेपाली मुलका बेलायतमा बस्ने दिपक शर्मा भनिने व्यक्ति मार्फत १ डलरको कम्पनीबाट वाइडबडी जहाज खरिद प्रकरणमा Price escalation गरी भ्रष्टाचार गरेको तथा सो रकम अमेरिकालगायतका विदेशी मुलुकमा व्यवस्थापन गरेको दृष्टान्त भुल्न नसकिने सुशासनको वकालतमा लागिरहेकाहरू बताउँछन् ।

वर्ल्डलिंक कम्युनिकेशन लिमिटेडले त्यसैगरी हङकङमा रहेको १ डलरको कम्पनी Interaptus Limited बाट विगत १० वर्षभन्दा बढी समयावधि देखि Internet bandwidth को नाममा ११ अर्ब रकम पठाएको र थप ४ अर्ब रकम लैजान तयारी गरिरहेको विषयमा हङकङ, सिंगापुर, ब्रिटिस भर्जिन आइल्याण्डलगायतका मुलुकहरूबाट सत्यतथ्य विवरण अध्ययन गरी Money Laundering तथा भ्रष्टाचार भए/नभएको छानबिन गरी सत्यतथ्य विवरण सार्वजनिक गर्न ढिला भइसकेको छ ।

वर्ल्डलिंकले Interaptus Limited, हङ्गकङ्गमा पठाएको रकमको विवरणः

प्राधिकरण स्रोतका अनुसार वर्ल्डलिंक कम्युनिकेशन लिमिटेडले इन्टरनेशनल इन्टरनेट व्याण्डविथ भारतको Airtel बाट आयात गर्दै आएको थियो । प्राधिकरणमा भएको अभिलेख अनुसार वर्ल्डलिंक कम्युनिकेशन लिमिटेडले सन् २०१५ को अगष्टसम्म भारतको Airtel सँग सम्झौता गरी इन्टरनेशनल इन्टरनेट व्याण्डविथ आयात गर्दै आएको थियो तर, सन् २०१५ को अगष्टपछि भने वर्ल्डलिंकले Hongkong मा स्थानीयरूपमा दर्ता भएको र जम्मा १ डलर मात्र पुँजी भएको Interaptus Limited नामक कम्पनीको सम्झौता पेश गरी इन्टरनेशनल इन्टरनेट व्याण्डविथबापत रकम विदेशमा लैजाने प्रपञ्च गरेको स्रोतको भनाइ छ ।

नेपालका इन्टरनेट सेवा प्रदायक संस्थाहरूले भारतीय सेवा प्रदायकहरूबाट International Internet Bandwidth आयात गर्दै आएका र भुक्तानीसमेत सोही कम्पनी वा तिनका एसोसियट कम्पनीमा गर्दै आइरहेको देखिन्छ । भारतीय सेवा प्रदायक संस्थाहरूको वार्षिक कारोबार तथा Market Capitalization देहाय अनुसार भएको देखिन्छ ।

तर, नेपाल दूरसञ्चार प्राधिकरणले वर्ल्डलिंक कम्युनिकेशन लिमिटेडको लागि विदेशी मुद्रा सिफारिस गर्ने Interaptus Limited को जम्मा पुँजी १ डलर (हङ्गकङ्ग डलर) मात्र रहँदा समेत नियामक निकायले नजरअन्दाज र लापरवाही गरी विदेशी मुद्रा सिफारिस गर्दै आइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *