‘पूर्णबहादुरको सारंगी २’ घोषणामा निर्देशक पौडेलको असन्तुष्टि, कमाइ खाने भाँडो नबनाउन सुझाव

काठमाडौं । ‘पूर्णबहादुरको सारंगी २’ का कथाकार तथा निर्देशक सरोज पौडेलले चलचित्रको सिक्वेल घोषणालाई लिएर असन्तुष्टि व्यक्त गरेका छन् । आफूले लेखेको कथालाई अनावश्यकरूपमा तन्काएर कमाइ खाने भाँडा नबनाउन उनको सुझाव छ ।

हिजोमात्रै ‘पूर्णबहादुरको सारंगी’ को सक्सेस पार्टीमा चलचित्रको दोस्रो भाग बन्ने घोषणा गरिएको थियो । उक्त कार्यक्रममा पौडेल पनि उपस्थित थिए ।

उनले आफूसँग कुनै सल्लाह नगरी ‘पूर्णबहादुरको सारंगी २’ घोषणा गरिएको जनाउ दिएका छन् । साथै, चलचित्रको निर्देशन आफूले नगर्ने पनि प्रष्ट्याएका छन् ।

‘पूर्णबहादुरको सारंगी’ विशुद्ध आफ्नो आइडियामा बनेको पौडेलको भनाइ छ ।

पौडेलले फेसबुकमा लेखेका छन्, ‘पूर्णबहादुरको सारंगी विशुद्ध मेरो स्टोरी, आइडिया र निर्देशनमा बनेको फिल्म थियो, जसलाई दर्शकहरूले अपार माया साथ दिएर ऐतिहासिक बनाइदिनु भएको छ । इतिहास घरीघरी कोर्न सम्भव हुँदैन, त्यही कारण मैले पूर्णबहादुरको सारंगीले कोरेको इतिहासलाई इतिहास नै बनाई सम्मानपूर्वक राखौं, यसलाई कमाइ खाने भाँडो बनाउन खोज्दा आफ्नै हातले बनाएको इतिहास आफैँ भत्काउन हुँदैन भन्ने लागेर मैले यो फिल्म दोस्रो भागमा काम गर्दिनँ, सकेसम्म २/३/४/६ बनाउनतिर नलागेर आफ्ना कथाहरू फरक शैलीमा भन्नु पर्दछ, भन्ने मेरो मान्यतालाई नै निरन्तर दिँदैछु ।’

उनी थप्छन्, ‘मेरो जानकारीबिना मैले सृजना गरेका पात्र र मेरो कथालाई तन्काएर व्यापार गर्ने माध्यम नबनोस् । पूर्णबहादुरको सारंगी २, मैले काम नगरे पनि आवश्यक प्रक्रिया पूरा गरेर अगाडि बढाउनु होला । सारंगी १ ले स्थापित गरेको गरिमा जोगाउनु होला ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *