रुपन्देही । शाक्यहरूको सामूहिक बध गरिएको ऐतिहासिक, पुरातात्त्विक र पर्यटकीय स्थल सगहरवामा गतवर्ष मूर्तिकला कार्यशालाबाट तयार भएका मूर्तिहरूको व्यवस्थापन गरी पार्कका रूपमा विकास गर्न स्थानीयहरूले अग्रसरता लिनुपर्नेमा जोड दिइएको छ ।
लुम्बिनी विकास कोषले सगरहवामा निर्माण गरिएका मूर्तिहरूको संरक्षणका सन्दर्भमा स्थानीय र सरोकारवालाहरूसँग गरिएको छलफल कार्यक्रममा स्थानीयहरूकै अग्रसरतामा मात्रै सम्पदा स्थल संरक्षण हुने भएकाले अगुवाइ गर्न आग्रह गरिएको हो ।
गतवर्ष लुम्बिनी विकास कोष, कपिलवस्तु नगरपालिकासहितका विभिन्न संघसंस्थाको समेत सहकार्यमा कपिलवस्तु राष्ट्रिय मूर्तिकार्यशाला गरी सगरहवाको ऐतिहासिकता प्रस्तरमा उतारिएको छ ।
लुम्बिनी प्रदेशका पूर्वमन्त्री एवम् प्रदेशसभा सदस्य विष्णु पन्थीले ओझेलमा रहेको सगरहवामा बनेका मूर्तिहरूलाई आकर्षक पार्कका रूपमा विकास गर्नसके यसबाट स्थानीयले धेरै लाभ लिन सक्ने बताए । लुम्बिनी आउने पर्यटकहरूको बसाई अवधि अत्यन्तै छोटो भएकोमा सगरहवामा निर्माण गरिएको मूर्तिले पर्यटकको बसाई लम्ब्याउने विश्वास व्यक्त गरे ।
जगदीशपुर तालको छेउमा रहेको सगरहवाले नै कपिलवस्तुको पर्यटनलाई उठाउने उनले बताए । सांसद पन्थीले पर्यटकहरूको लुम्बिनी विकास कोष, स्थानीय सरकारसँगै स्थानीय बासिन्दाहरूको समेत सहभागिता हुने गरी पार्कको मोडेल बनाउन आफू जनप्रतिनिधिका रूपमा सहयोग गर्न तयार रहेको बताए । उनले प्रदेश सरकारका तर्फबाट बजेटका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए ।
लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले सगरहवामा बनेको मूर्तिहरू स्थानीयहरूको सम्पत्ति रहेको बताउँदै यसको संरक्षण स्थानीयकै अग्रसरतामा मात्रै सम्भव हुने बताए ।
उनले कुनै पनि सम्पदाको संरक्षण स्थानीयहरूले नै गर्नसक्ने भएकाले बनेका मूर्तिहरूलाई सजाएर सुन्दर पार्कका रूपमा विकास गर्नका लागि स्थानीय सरकार र स्थानीयलाई नै अगुवाइ गर्न आग्रह गरे ।
कोषका सदस्य सचिव सानुराजा शाक्यले कपिलवस्तु नगरपालिका र सगरहवाका स्थानीयहरूलाई मूर्तिहरूको संरक्षणका लागि स्पष्ट योजना ल्याउन आग्रह गरे । उनले कोषसँग बजेट नभएकाले प्रदेश र स्थानीय सरकारलाई पार्ककको व्यवस्थापनका लागि बजेट छुट्याउनसमेत ध्यानाकर्षण गराए ।
कार्यक्रममा स्थानीय अगुवाहरू ललितबहादुर गुरुङ, देवेन्द्र पोखरेल, हिरालाल पौडेल, डा. अब्दुल रसिद खाँनलगायतले बोल्दै मूर्तिको संरक्षणका लागि कोषले उचित वातावरण मिलाउनुपर्नेमा जोड दिए । त्यस्तै उनीहरूले मूर्तिस्थलसम्म जाने सडकको व्यवस्थापनका लागि समेत कोषको ध्यानाकर्षण गराएका थिए । साथै सोही अवसरमा गतवर्ष सञ्चालित कपिलवस्तु राष्ट्रिय मूर्तिकला कार्यशालाका गतिविधि समेटिएको सगरहवा स्मारिकाको विमोचन गरिएको कोषका कार्यकारिणी सदस्य रामनरेश प्रसाद कोहारले जनाए ।
शाक्यमुनि बुद्धको जीवनको उत्तरार्धतिर कोशल राज्यका राजा विडूडभले आफू बाबु प्रसनजीतलाई झुक्याएर शाक्यपुत्री भनि दासीपुत्रीसँग विवाह गरिदिएको र प्रतिशोधवश कपिलवस्तु राज्यका हजारौं शाक्यहरूको सामूहिक बध गरेको स्थानका रूपमा सगरहवालाई चिनिने कोषका कपिलवस्तु कार्यालयका प्रमुख माधव आचार्यले जनाए ।
सगरहवा तालको पश्चिम र दक्षिण भागमा शाक्यहरूले आफ्नो वंशको नरसंहार भएपछि उनीहरुको सम्झनामा सयौं स्तुपहरूको निर्माण गरेको चिनियाँ यात्री हुुयन् साङ्को सन् ६३६ को यात्रा बृतान्तमा उल्लेख गरिएको पाइन्छ ।

Leave a Reply