अन्जनको २ गोल, एनआरटी सभापति कप फुटबलको सेमिफाइनलमा

काठमाडौं । नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संंघ महाधिवेशन निर्देशन समितिको आयोजनामा भएको सभापति कप फुटबलमा न्यू रोड टिम एनआरटी सेमिफाइनलमा प्रवेश गरेको छ ।

कप्तान अन्जन विष्टको उत्कृष्ट २ गोलको मद्दतले एनआरटी सभापति सेमिफाइनलमा स्थान पक्का गर्न सफल भएको हो ।

दशरथ रंगशालामा आइतबार सम्पन्न चौथो क्वाटरफाइनलमा एनआरटीले फ्रेन्ड्स क्लबलाई ३–१ ले पराजित गर्यो । एनआरटीका लागि कप्तान अन्जनले २ गोल र रिचार्ड विल्सनले १ गोल गरे। फ्रेन्ड्सका लागि विवेक पौडेलले सान्त्वना गोल फर्काए ।

पहिलो हाफमा कप्तान अन्जनले २ गोल गरेपछि एनआरटी बलियो स्थितिमा पुगेको थियो। खेलको २३औं मिनेटमा एन्जल महर्जनको पासलाई अन्जनले पेनाल्टी क्षेत्रभित्रबाट फिनिश गर्दै टिमलाई अग्रता दिलाए ।

त्यसको पाँच मिनेटपछि अन्जनले व्यक्तिगत दोस्रो गोल गरे। कृतिश रत्न छुन्जुको क्रसलाई अन्जनले फार पोस्टमा हेडरमार्फत गोलमा परिणत गरे ।

दोस्रो हाफको सुरुवातमै रिचार्ड विल्सनले एनआरटीलाई ३–० को अवस्थामा पुर्याए । उनले पेनाल्टी क्षेत्रभित्रबाट फार पोस्टमा सुन्दर फिनिश गरे ।

६५औं मिनेटमा रिचार्डको क्रसमा हेनरी पोकुले गरेको हेडरलाई फ्रेन्ड्सका गोलरक्षक अभिषेक बरालले उत्कृष्ट बचाउ गरे । त्यसपछि अभिषेकले एन्जल र रिचार्डका लगातार प्रहारहरूलाई पनि विफल बनाए ।

८१औं मिनेटमा फ्रेन्ड्सका कप्तान विवेक पौडेलले गोल गर्दै टिमलाई खेलमा फर्काउने संकेत देखाए । उनले पेनाल्टी क्षेत्रभित्र दुई डिफेन्डरलाई छलाउँदै बायाँ खुट्टाले सुन्दर फिनिश गरे ।

प्रतियोगिता अन्तर्गत सोमबार पहिलो सेमिफाइनलमा संकटा क्लब र मच्छिन्द्र फुटबल क्लबबीच साँझ ५ः३० बजे खेल हुनेछ। दोस्रो सेमिफाइनल मंगलबार आयोजक बागमती लोकतान्त्रिक र एनआरटीबीच हुनेछ । फाइनल खेल बिहीबार हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *