नेपालमा ट्रम्प निर्णयको असर- अमेरिकी सहयोगका सबै कार्यक्रम रोक्न यूएसएडको पत्राचार

काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहायता एजेन्सी यूएसएडले नेपालका सबै साझेदार संघसंस्था तथा कम्पनीहरुलाई हाल चलिरहेका कार्यक्रमहरु रोक्न पत्राचार गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै किसिमका वैदेशिक अनुदान रोक्न आदेश जारी गरेलगत्तै नेपाललाई पनि यसको बारेमा यूएसएडमार्फत सबै कार्यक्रम रोक्न पत्राचार गरिएको हो । अमेरिकी सरकारअन्तर्गतका परियोजनासँग मिलेर काम गरिरहेका सरकारी तथा गैरसरकारी संघसंस्थाहरुलाई आइतबारै यसबारे जानकारी गराइएको छ ।

ट्रम्प ह्वाइट हाउस फर्केलगत्तै वैदेशिक विकास अनुदान तत्काल स्थगन गर्ने निर्णय भएको र ९० दिनको समीक्षापछि निर्क्योल गरिने अमेरिकी विदेश मन्त्रालयले जनाएको थियो । अमेरिकी सहयता नियोगसँग जोडिएका कार्यान्वयन साझेदारहरुलाई अनुदान, ऋण र अन्य सहयोगका सबै कार्यक्रम रोक्न पत्राचार गरिएको कार्यालयले जनाएको छ ।

नेपालमा करिब ४०० वटा गैरसरकारी संघसंस्था र कम्पनीसँग यूएसएड र त्यसअन्तर्गतका एसिया फाउन्डेशन, एचकेआई इन्टरनेशनललगायतका संस्था र कम्पनीहरुले साझेदारीमा काम गरिरहेका छन् । ती सबै संस्थालाई पनि तत्कालका लागि सबै कार्यक्रम रोक्न इमेल आएको गैरसरकारी संस्था महासंघका अध्यक्ष रामप्रसाद सुवेदीले नेपाल प्रेसलाई बताए ।

सुवेदीले भने, ‘हामीलाई पनि एउटा इमेल आएको छ । ३ महिनासम्म उनीहरुको सहयोगमा चलेका परियोजनामा स्टाफको तलबबाहेक अरु सबै गतिविधि रोक्न भनिएको छ । यसबीचमा कार्यक्रम तथा बैठक र तालिमहरुका लागि ट्राभल तथा होटल बुकिङहरु जे जे गरिएको छ, त्यो पनि रोक्न भनिएको छ । उनीहरुले ३ महिनासम्म यसको रिभ्युपछि अब के गर्ने भन्ने जानकारी आउँछ भनेका छन् ।’

यूएसएड र अमेरिकी सरकारको फन्डमार्फत भइरहेका कार्यक्रमहरु कुनै पनि अहिले नचलाउने भन्ने अमेरिकी निर्णय सरकारलाई समेत जानकारी गराइएको स्रोतले जनाएको छ ।

अमेरिकी अनुदानका आधारमा नेपाल उसको सहायता पाउने मुलुकमा १६ औं स्थानमा छ । अर्थ मन्त्रालय र यूएसएआईडीबीच सन् २०२२ मा भएको पाँच वर्षे रणनीति सम्झौतामा ६५ करोड ९० लाख अमेरिकी डलर (७९ अर्ब ७१ करोड रुपैया) अनुदान प्राप्त हुने उल्लेख छ ।

Comments

One response to “नेपालमा ट्रम्प निर्णयको असर- अमेरिकी सहयोगका सबै कार्यक्रम रोक्न यूएसएडको पत्राचार”

  1. Nick Kashyap Avatar
    Nick Kashyap

    खाइस् डलरबादी हरू, सित्तैमा पैसा खाएर बिदेशी निती नेपालमा ल्याउनेहरू अब ट्रम्पको तलुवा चाट्न जाउ!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *