सूचनाको हकको नाममा दुरुपयोग पनि बढ्दो छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सूचनाको हकको नाममा अत्यधिक खुल्ला छोड्दा सूचनाको दुरुपयोग गर्ने क्रम बढेको टिप्पणी गरेका छन् ।

राष्ट्रिय सूचना आयोगले विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै कार्कीले सूचनाको हकलाई सदुपयोग गर्नुपर्ने बताए ।

उनले भने,- ‘हामी कहाँ अलि बढी खुलापन हुँदा यसको दुरुपयोग पनि बढेको जस्तो देखिन्छ ।’

संविधानले सूचनाको हक ग्यारेन्टी गरेपनि त्यसलाई सही ढंगले परिचालन गर्न तर्फ लाग्नुपर्ने भन्दै कार्कीले आफूलाई अनुकूल हुने मात्र सूचना दिने प्रवृत्तिको अन्त्य गर्दै समाजलाई सुशिक्षित हुने खालको सूचनाहरू सम्प्रेषण हुनुपर्नेमा जोड दिए ।

सूचनाको हकले पारदर्शीता र जवाफदेहिता बढ्ने भएकाले यसतर्फ ध्यान दिँदै यसलाई राम्ररी प्रयोग गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ । निश्चित व्यक्तिले होइन आम समुदायले सूचनाको सदुपयोग गर्नुपर्ने गरी अघि बढ्न सुझाव दिए ।

सूचना आयोगका प्रमुख आयुक्त सुरेश आचार्यले स्वच्छ रूपमा काम गर्नेहरूले डराउनु नपर्ने बताए । उनले भने,- ‘यदि तपाईं हामीले पारदर्शी ढंगले काम गर्‍यौं भने सूचना लिने पनि र दिने पनि डराउनु पर्दैन ।’

उहाँले आयोगले अब अनावश्यक सूचना माग्नेसँग पनि छलफल गर्ने र उनीहरूलाई सतर्क गराउने तर्फ लाग्ने बताए ।

गलत नियत राखेर कसैले पनि सूचना माग्न नहुने र सूचना दिनेले पनि सूचना अपडेट भएर बस्नुपर्ने बताउँदै आचार्यले भने,- ‘कर्मचारीहरूले पनि सबै सूचना अपडेट गर्नुपर्छ ।’

आयुक्त गगन विष्टले सूचना ज्ञान र शक्तिको स्रोत भएकाले यसलाई सदुपयोग गर्नुपर्ने बताए ।

कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले सूचना लिने र दिनेका बीच नियत राखेर काम गरेमा समस्या उत्पन्न हुने चर्चा गर्दै एकअर्काले सूचना आदान प्रदान गरेमा सहज हुने बताए ।

Comments

One response to “सूचनाको हकको नाममा दुरुपयोग पनि बढ्दो छ : मुख्यमन्त्री कार्की”

  1. राजु श्रेष्ठ Avatar
    राजु श्रेष्ठ

    तपाईंलाई याे समाचार पढेर कस्तो लाग्याे भन्ने प्रश्नमा मेराे उत्तर हाँसो लाग्याे हुन्छ । सार्वजनिक सूचनाहरु अनावश्यक हुन्छ र??

Leave a Reply

Your email address will not be published. Required fields are marked *