प्रदेश सरकार नागरिकको भरोषाको केन्द्र बनिरहेको छ: मुख्यमन्त्री आचार्य

रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले गरेका कामहरुको बारेमा दुई दलीय प्रदेश संयन्त्रको बैठकमा जानकारी गराएका छन् ।

नेपाली कांग्रेस र नेकपा एमालेको दुई दलिय जिल्ला संयन्त्रको प्रदेशस्तरीय संयुक्त बैठकलाई कपिलवस्तुमा सम्वोधन गर्दै उनले प्रदेश सरकारले गरेका कामबाट देखिएका उपलब्धिलाई नजरअन्दाज गरेर धारणा बनाउन नहुने बताएका हुन ।

‘प्रदेश सरकार बन्नुअघि र बनिसकेपछि विकासको अवस्था के थियो, एक पटक फर्केर हेरौं । अहिले गाउँगाउँमा भइरहेको विकासको काम प्रदेश सरकारले नै गरेको हो’, मुख्यमन्त्री आचार्यले भने, ‘प्रदेश सरकार नागरिकको भरोषाको केन्द्र बनिरहेको छ । विकास र समृद्धिको सारथि प्रदेश नै हो ।’

योजना निर्माणदेखि कार्यान्वयन गर्ने प्रवृत्तिलाई लयमा ल्याउनेगरी सरकारले भूमिका बढाएको उनको भनाइ छ । ‘अघिल्ला सरकारले टुक्रे योजना धेरै बनाए । बजेटको आकार पनि बढायो । उतिबेलाको गल्तीले अहिले समस्या परेको छ’, उनले भने, ‘आगामी बजेट ३३-३४ अर्बको हाराहारीमा ल्याउँदा प्रदेशले लय समात्छ ।’

मुख्यमन्त्री आचार्यले चालू आर्थिक वर्षमा सरकारले पूरक बजेट नल्याउने स्पष्ट पारे । चालू आर्थिक वर्षको बजेट सहमतिका साथ आएको उनले बताए ।

बैठकमा आएका सुझावहरुलाई सरकारले आत्मसात गर्दै सरकारको कामलाई गति प्रदान गर्नेगरी भूमिका बढाइरहेको बताए ।

‘चालू आर्थिक वर्षको बजेट साझा दस्तावेज हो । यस वर्ष सरकारले पूरक बजेट ल्याउँदैन । बजेट कार्यान्वयनलाई गति बढाएका छौं’, मुख्यमन्त्री आचार्यले भने, ‘योजना छनोटमा देखिएका बेथिति रोक्न पाँच लाखभन्दा माथिका योजना प्रतिस्पर्धाबाट कार्यान्वयन गर्न निर्मम निर्णय लिनु परेको हो ।’

टुक्रे योजना बनाउने र उपभोक्ता समितिको नाममा कार्यान्वयन गर्दै व्यक्तिगत लाभ लिने प्रवृत्ति देखिएपछि यसखाले निर्णय लिनुपरेको मुख्यमन्त्री आचार्यको भनाइ छ ।

उनले गत वर्षको दायित्व भुक्तानी गर्ने काम भइरहेको जानकारीसमेत दिए ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनको अध्यक्षता तथा नेकपा एमाले लुम्बिनी प्रदेशका इञ्चार्ज पद्मा अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा दुइटै पार्टीका जिल्ला अध्यक्षहरुले जिल्लागत रिपोर्टिङ गरेका थिए ।

बैठकमा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी, एमाले लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेल, प्रदेश सरकारका अन्य मन्त्री, प्रतिनिधिसभा सदस्यलगायतको सहभागिता थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *