काठमाडौं । स्वास्थ्य पत्रकार मञ्च नेपालको छैटौं राष्ट्रिय अधिवेशनबाट भिषा काफ्लेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।
मञ्चको अध्यक्षमा काफ्लेले नेपाल समाचारपत्रकी भगवती तिमिल्सिनालाई पराजित गरेका हुन् । हेल्थ आवाजका कार्यकारी सम्पादक रहेका काफ्ले यसअघि मञ्चकाे वरिष्ठ उपाध्यक्ष थिए ।
अधिवेशनबाट निर्वाचित १५ सदस्यीय कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा मेडिकल पत्र डटकमका सम्पादक बुद्धि कट्टेल निर्विरोध निर्वाचित भए ।
त्यस्तै दुई उपाध्यक्ष पदमध्ये एकमा महेश तिमल्सिना निर्वाचित भए । अर्को उपाध्यक्ष पदमा शरद शर्मा र सञ्जिता खनालको बराबर मत आएपछि एक-एक वर्ष आलोपालो गर्ने सहमति भएको छ । उपाध्यक्षमा जनस्वास्थ्य सरोकारका सम्पादक पुरुषोत्तम घिमिरे पनि प्रतिस्पर्धामा थिए ।
महासचिवमा शिवहरि घिमिरे निर्वाचित भए । उनले स्वास्थ्यखबरका डीबी खड्कालाई पराजित गरे । सचिवमा ज्योति अधिकारीले प्रकाश बस्याललाई हराएर निर्वाचित भइन् ।
यसैगरी कोषाध्यक्षमा गोरखापत्रकी सिर्जना खत्री निर्वाचित भइन् । कोषाध्यक्षमा खत्री र हेल्थपाटीका केदार गौतम प्रतिस्पर्धामा थिए ।
सदस्यहरुमा उपेन्द्र खड्का, सिर्जना कार्की, कृष्ण आचार्य, लक्ष्मी चौलागाईं, सुरेश खनाल, वीना न्यौपाने, सन्तोष निरा राई निर्वाचित भए । कार्यसमितिको कार्यकाल दुई वर्ष हुने मञ्चको विधानमा छ ।
मञ्चको अधिवेशनमा द राइजिङ नेपालकी पत्रकार अजिता रिजाललाई क्रियाशील स्वास्थ्य पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । उक्त पुरस्कार मञ्चका लुम्बिनी प्रदेश संयोजक बासुदेव न्यौपानेले स्थापना गरेका हुन् ।

Leave a Reply