गिनिजमा दिनेशको २१ औँ रेकर्ड

काठमाडौं । मानवीय उपलब्धि र प्राकृतिक तथ्यका सर्वोत्कृष्ट सूची प्रकाशन गर्ने ‘गिनिज बुक अफ वर्ल्ड रेकर्डस’ मा खोटाङ हलेसी स्थायी घर भएका दिनेश सुनारले पार्कर विधामा २१ औँ पटक आफ्नो कीर्तिमान राख्न सफल भएका छन् ।

विक्रम संवत् २०७१ मा विराटनगरमा सम्पन्न सातौँ राष्ट्रिय खेलकुद र २०७४ सालमा नेपालगञ्जमा सम्पन्न आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा जिम्न्यास्टिक विधातर्फ स्वर्णपदक विजेता दिनेश नेपालमा पार्कर खेलका अगुवा मानिन्छन् ।

जिम्न्यास्टिकअन्तर्गतको पार्कर विधा विभिन्न अवरोधहरूलाई सहज, छरितो र सुरक्षित तरिकाले पार गर्ने कला हो । नेपालमा यस खेललाई व्यावसायिक रूपमा मान्यता दिएको पाइँदैन ।

सन् २०१७ देखि लगातार पार्कर विधामा विभिन्न रेकर्डहरू राख्न सफल दिनेशले यस पटक ‘मोस्ट बटरफ्लाई ट्वीस्ट ईन ३० सेकेण्ड’ मा आफ्नो रेकर्ड राख्न सफल भएका हुन् ।

यो शीर्षकमा गिनिजले तोकेको न्यूनतम १२ पटकको मापदण्ड पुरा गरी दिनेशले कीर्तिमान आफ्नो नाममा गराएका हुन् । दिनेशले ३० सेकेन्डभित्र १४ पटक को रेकर्ड बनाएका छन् । यस प्रकारको यो पहिलो रेकर्ड हो ।

यही जनवरी १९ तारिखमा अमेरिकाको न्युयोर्कस्थित क्विन्समा आयोजित एक समारोहमा तेम्बा शेर्पा, उर्गेन शेर्पा, न्गवाङ निमा शेर्पा, नन्दी प्रसाद ढकाल, अजित शाह र निक स्टेभको उपस्थितिमा दिनेशले आफ्नो २१ औँ पटकको रेकर्डका लागि सहभागिता जनाएका थिए ।

समारोहको भिडियो तथा फोटोसहित गिनिज बुक अफ वर्ल्ड रेकर्डसको प्रक्रिया पूरा गरी आवेदन दिएका दिनेशको रेकर्डलाई जनवरी २४ मा आधिकारिकता प्रदान गरिएको हो ।

ज्याकी चेन, ब्रुस ली जस्ता कलाकारका चलचित्रबाट प्रभावित दिनेश गाउँघरमा जिम्नास्टिकको अभ्यास गर्ने गर्थे । यसभन्दा अघि विभिन्न २० विधामा गिनिज बुकमा नाम लेखाएका दिनेशले आफ्ना कतिपय रेकर्ड आफैले तोड्ने गरेका छन् । उनका कतिपय रेकर्ड अरूले उछिनेका पनि छन् । हाल गिनिज रेकर्डमा दिनेशका व्यक्तिगत १२ रेकर्ड कायम छन् ।

सन् १९५५ बाट विश्वका एक सय देशबाट ४० भाषामा प्रकाशित हुने गिनिज बुक अफ वर्ल्ड रेकर्डमा हालसम्म ५३ हजार भन्दा बढी रेकर्ड दर्ता भएका छन् । कला, खेलकुद, साहसिक कार्य, विज्ञान, प्रविधि, उत्पादन, बौद्धिक क्षमता, समयावधिका उपलब्धि र सहभागिताजस्ता विषयलाई गिनिजले आफ्नो रेकर्डमा समावेश गर्ने गरेको छ । ओलम्पिक र विश्वकपजस्ता प्रतियोगिताबाट समेत गिनिजले रेकर्ड राख्ने गरेको छ ।

नेपालबाट पनि पर्वतारोहण, खेलकुद, बौद्धिक क्षमताका आधारमा दर्जनौँ रेकर्ड गिनिजमा दर्ता भएका छन् । सन् २०१२ मा विश्वको सबैभन्दा होचो व्यक्तिको रेकर्ड नेपालका चन्द्रबहादुर डाँगीको नाममा दर्ता भएको थियो । उनको सन् २०१५ मा मृत्यु भएको थियो ।

पर्वतारोहणका क्षेत्रमा सबैभन्दा सानो उमेरमा सगरमाथाको आरोहण देखि बिना अक्सिजन सगरमाथाको आरोहण, सबैभन्दा धेरैपटक सगरमाथाको आरोहण, सबैभन्दा छोटो समयमा सगरमाथाको आरोहण लगायतका रेकर्ड नेपालका आरोहीहरूको नाममा दर्ता छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *