काठमाडौंमा तीन महिने ‘नारीवादी’ दक्षिण एसियाली कला प्रदर्शनी सुरु

काठमाडौं । नारीवादलाई आधार बनाएर गरिएको कला प्रदर्शनी काठमाडौँमा सुरु भएको छ । फेमिनिष्ट फ्युचरः आर्ट, एक्टिभिजम एण्ड साउथ एसियन वुमनहुड शीर्षक दिइएको प्रदर्शनको बौद्धस्थित तारागाउँ सांस्कृतिक केन्द्रमा सुरु भएको छ ।

प्रदर्शनी तीन महिनासम्म हुने परिकल्पनाकार डाक्टर अर्शिया लोखन्डवालाले जानकारी दिइन् ।

तारागाउँ नेक्स्टको आयोजना र सराफ फाउन्डेसनको सहकार्यमा जारी प्रदर्शनीमा दक्षिण एसियाका १० जना महिला कलाकारको सिर्जना राखिएको छ । विद्यार्थीलाई दुई सय र अन्यलाई तीन सय शुल्कमा प्रदर्शनी हेर्न पाउने व्यवस्था गरिएको छ ।

प्रदर्शनीले पितृसत्तात्मक संरचना, परम्परागत सोच र लैङ्गिक राजनीति जस्ता विषय सम्बोधन गर्ने लोखन्डावाको भनाई छ ।

प्रदर्शनीमा भारतका चार, नेपालका तीन र श्रीलङ्का, पाकिस्तान र बङ्गलादेशका एक एक महिला कलाकारका सृजना राखिएका छन् ।

भारतीय कलाकारहरू अनिता दुबे, मिथु सेन, शेबा छाच्छी र पुष्पमाला, नेपाली कलाकार अश्मिना रञ्जित, विधाता केसी र उमा विष्टसँगै श्रीलङ्काकी अनोली पेरेरा, पाकिस्तानकी नाइजा खान र बङ्गलादेशकी तायबा बेगम लिपीका सृजना प्रदर्शनीमा छन् ।

सबै कलाकारहरूले कलामार्फत पारम्परिक लैङ्गिक भूमिकालाई चुनौती दिँदै महिलाको स्वायत्तता र सामाजिक संरचनाहरूको प्रभाव उजागर गर्ने प्रयास गर्ने बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *