खेम सेञ्चुरीको दुखेसो- कामी, दमाई भनेर गाली आउँदा आफू मान्छे नै होइन कि जस्तो लाग्छ

काठमाडौं । टिभी रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ पहिलोपटक कोच भएर आएका लोकगायक खेम सेञ्चुरी अहिले चर्चामा छन् । उनले खुट्टाले बजर थिचेको विषयमा निकै टिकाटिप्पणीहरु भए ।

भ्वाइस अफ नेपालमा जजले बजर थिच्न खुट्टा प्रयोग गरेको यो पहिलो दृष्य थिएन । यसअघि प्रमोद खरेल, मिलन नेवार, जस्ता जजले पनि हातको साटो खुट्टाले थिचेका थिए । तर, उनीहरू यति विवादित बनेका थिएनन् । सेन्चुरी भने एक लोक संगीतकर्मी भएको उनलाई यस्तो उछृंखलता नसुहाउने कतिपयको धारणा छ । केहीले चाहीँ उनको जातलाई समेत जोडेर अवाञ्छित टिप्पणी गरेका छन् ।

हिजो एक कार्यक्रममा गायक सेन्चुरीलाई विषयमा सोधियो । उनले नकारात्मक टिप्पणी गर्नेहरुप्रति निकै दुखेसो गरे । खासगरि आफ्नो जातलाई जोडिएको विषयमा उनी आक्रोशित सुनिए । यो समाज परिवर्तन नभएको र हुन पनि नसक्ने सेन्चुरीको भनाइ थियो ।

भावुक मुद्रामा उनले भने, ‘कामी, दमाई, सार्की भनिदिँदा कहिलेकाहीँ त मलाई आफू मान्छे नै होइन कि भन्नेजस्तो फिल आउँछ ।’

एउटा गीत रिलिज कार्यक्रममा उनी मोडल उषा पौडेल, सुनील बिकेलगायतसँग उभिएर पत्रकारको प्रश्न सामना गरिरहेका थिए । गीतको प्रसंगबाट बाहिर निस्किएर पत्रकारले भ्वाइस अफ नेपालको प्रसंग निकाले ।

सुरूमा उनलाई सोधियो, ‘भ्वाइस अफ नेपालबाट निकै माया पाइरहनु भएको छ, कस्तो लागेको छ ?’

सेन्चुरीले जवाफ दिए, ‘सबैलाई धन्यवाद भन्न चाहन्छु । एकदमै सकारात्मकरूपमा लिएको छु । (जज भएर जाँदा) एक खालको डर र नर्भस फिल त थियो । मलाई दर्शकले स्वीकार्ने हुन् कि होइनन् भन्ने थियो । एपिसोड बाहिर आएपछि केही पर्सेन्ट नकारात्मक तर अधिकांश सकारात्मक प्रतिक्रिया आएका छन् । नकारात्मक कमेन्ट लेख्ने पनि मेरै दर्शकहरू हुन् । म एकदमै खुशी र सकारात्मक छु ।

– तपाईंले खुट्टाले बजर थिचेको विषयमा पनि कोही कोहीले आलोचना गरेका छन् । यसबारे के भन्न चाहनुहुन्छ ?

किताब पढ्नुभन्दा अगाडि ढोगिन्छ । मन्दिर छिर्नुअगाडि जुत्ता फुकालिन्छ । कसैलाई खुट्टाले छोइयो भने ढोगिन्छ । हामी यही संस्कारबाट हुर्केका हौं । यही संस्कारको प्रमाण हो अहिले आइरहेका प्रतिक्रिया । यो स्वभाविकै हो जस्तो लाग्छ । जसले गुनासो गर्नुभएको छ, म के भन्न चाहन्छु भने मैले फम्र्याटभित्रै रहेर काम गरेको छु । सबै कुरालाई नकारात्मक लिनु पनि हुँदैन । केही कुरा हामीमा चेत पनि हुनुपर्छ । स्वीकार्नुपर्ने कुरा त स्वीकार्नुपर्‍यो नि ।

– खुट्टाले नथिचेको भए हुन्थ्यो जस्तो महसुस भएको छैन ?

कार्यक्रमको फर्म्याटअनुसार गएको हो । यसलाई कसैले पनि इस्यूको रूपमा नलिनुहोला । म त सबै पचाउन सक्छु केही भएन । तर, मेरो समुदायलाई गाली नगर्नुहोला । एउटाले कामी भन्दिँदा, एउटाले दमाई भन्दिँदा, एउटाले सार्की भन्दिँदा कहिलेकाहीँ त म मान्छे नै होइन कि जस्तो फिल हुन्छ के साथी हो । कहिलेकाहीँ मलाई उशा जीसँग उभिन अप्ठेरो लाग्छ । बद्रीजीहरूसँग उभिन अप्ठेरो लाग्छ । मेरो क्षेत्री-बाहुन, मगर साथीहरु छन् । कहिलेकाहीँ उनीहरुसँग बस्न पनि गाह्रो हुन्छ । तर, के गर्ने समाज यस्तै छ भन्ने पनि लाग्छ ।

– हाम्रो सोच परिवर्तन हुन नसकेको हो ?

खोइ कसरी छ भन्ने । यो गालीगलौज र कमेन्टले गर्दा त कहाँ छ र जस्तो लाग्छ । नसोध्नुस् सकेसम्म यस्तो प्रश्न । यो समाज परिवर्तन भएको छैन र हुँदैन । मैले बुझेअनुसार परिवर्तन हुँदैन । जबसम्म दिमागको चेत खुल्नेवाला छैन, केही हुनेवाला छैन । दिमागको चेत खुल्नेवाला पनि छैन । यो समाज कति अगाडि पुगिसकेको छ, तर पनि सोचको हिसाबले उही पछाडि नै छ ।

– नकारात्मक कमेन्टले कत्तिको असर पुर्‍याउँछ ?

ठिकै छ । अब बाँच्नु त पर्‍यो । कसैले नराम्रो भन्दैमा रोएर हिँड्न कुरा पनि भएन । यही होला हाम्रो कर्म । यही होला हाम्रो भाग्य । हाम्रो जन्म यही होला ।

Comments

One response to “खेम सेञ्चुरीको दुखेसो- कामी, दमाई भनेर गाली आउँदा आफू मान्छे नै होइन कि जस्तो लाग्छ”

  1. Nepali kanxo Avatar
    Nepali kanxo

    Khem jee le yaslai birsiyara agadi badnu parxa.

Leave a Reply

Your email address will not be published. Required fields are marked *