कुशल भुर्तेलले डडेल्धुराबाट अर्जुन ट्रफी खेल्ने

कैलाली । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले डडेल्धुराबाट अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।

भुर्तेलले डडेल्धुराको फेन्ड्स क्लबबाट धनगढीमा यही माघ १९ देखि २८ गतेसम्म हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने भएका हुन् ।

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा डडेल्धुराको फेन्ड्स क्लबले डीसीए धनगढीविरुद्ध खेल्नेछ ।

प्रतियोगिता हेर्न खल्ती एपबाट टिकट काट्न सकिने सुविधा दिइएको आयोजकले जनाएको छ । डिजिटल वालेट खल्तीबाट टिकट काटेर खेल हेर्ने दर्शकहरुलाई टिकट बराबरको आकर्षक उपहार पनि दिइने भएको छ ।

फेन्ड्स क्लबले माघ २१ गते वोस्टन क्रिकेट झापासँग खेल्नेछ भने माघ २४ गते घोडाघोडी–११ सुख्खडसँग खेल्नेछ । लिग चरणका सबै खेलका प्रमुख तथा गेम चेञ्जर खेलाडीहरुको रुपमा कुशल भुर्तेल रहनेछन् ।

नेपाल पुलिस क्लबलाई हालै सम्पन्न जय ट्रफीको च्याम्पियन बनाउन कुशलले उत्कृष्ट प्रदर्शन गरेका थिए । जसमा उनको एक अर्धशतक पनि सामेल थियो । अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा उनले ५ वटा अर्धशतकसहित ५०० रन पूरा गरेका छन् । उनले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पनि एक हजार रन पूरा गरेका छन् ।

हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल)मा कुशलले पोखरा एभेञ्जरबाट मार्की खेलाडी हुँदै कप्तानको भूमिका निर्वाह गरेका थिए ।

धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेटका सारथि रहेका स्वर्गीय अर्जुन खड्काको स्मृतिमा आयोजना हुने अर्जुन ट्रफीमा झण्डै २० लाख नगद पुरस्कार प्रदान गरिनेछ । रनिङ ट्रफीको रुपमा टी-२० फर्म्याटको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाखसहित ट्रफी पाउनेछन् ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिने आयोजकले जनाएको छ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५० हजार पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ ।

प्रतियोगितामा देशका ८ वटा क्लबको सहभागिता रहेको छ । सबै टोलीले ‘ए’ क्याटोगोरीका चार, ‘बी’ क्याटोगोरीका पाँच र बाँकी ‘सी’ क्याटोगोरीका गरी १४ खेलाडी समावेश गर्न पाउनेछन् ।

‘ए’ क्याटोगोरीमा नेपाली राष्ट्रिय टीमका खेलाडी रहेका छन् । ‘बी’ क्याटोगोरीमा नेपाली राष्ट्रिय टीम ए, यू-१९ नेपाली राष्ट्रिय टोली र प्रदेशस्तरीय सिनियर खेलाडी रहेका छन् । ‘सी’ क्याटोगोरीमा यू-१६ नेपाली राष्ट्रिय टोली, प्रदेशका यू-१९ र यू-१६ का खेलाडी र अन्य खेलाडीहरु रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *