काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष राजेन्द्र लिङदेनसँग फरक मत राखेका धवलशमसेर राणाविरुद्ध संस्थापन पक्षका केन्द्रीय सदस्य संगठित रुपमा उत्रिएका छन् ।
राजधानीमा जारी राप्रपाको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री राणाले ल्याएको राजनीतिक विचारको चर्को आलोचना भएको छ । शुक्रबार सुरु भएको बैठकमा महामन्त्री राणाको विचार भनेर केन्द्रीय समिति सदस्यहरुलाई बाँडिएको दस्तावेजलाई महामन्त्री कुन्ती शाहीले वाचन गरेकी थिइन् ।
त्यसपछि बोल्ने संस्थापन पक्षका केन्द्रीय सदस्यले राणाको दस्तावेज पार्टीलाई विभाजनमा लैजाने प्रकृतिको भएको भन्दै आलोचना गरेका हुन् । तीन वर्ष संगठन विभागको प्रमुखसमेत रहेर काम गरेका राणाले संगठन कमजोर भएको भन्दै अध्यक्षलाई दोषारोपण गरेपछि केन्द्रीय सदस्यहरुले तीन वर्षमा महामन्त्रीले गरेको कार्यहरुको विवरण माग गरेका छन् ।
देशभर राप्रपाको माहोल बढेका बेला नेतृत्वलाई कमजोर बनाउन खोजेको भन्दै कतिपय केन्द्रीय सदस्यले राणालाई कताबाट परिचालित भएको भनेर प्रश्न गरेका थिए ।
महामन्त्री राणाको दस्तावेजमा अध्यक्ष लिङदेनको निष्ठामा प्रश्न उठाएपछि आक्रोशित भएका पार्टीका सहमहामन्त्री धनबहादुर बुढाले गणतन्त्रवादी पार्टी एमालेबाट आएका राणाले जीवनभर राजसंस्थाको पक्षमा उभिएका अध्यक्षलाई आरोप लगाउनु अनैतिक भएको टिप्पणी गरे ।
‘महामन्त्रीज्यू कुनै बेला एमाले पार्टीमा हुनुहुन्थ्यो, एमाले राजसंस्थावादी पार्टी हो ?’ उनले प्रतिप्रश्न गरे, ‘पार्टीका नेताहरु पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी, लोकेन्द्रबहादुर चन्द जस्ता नेता गणतन्त्रका पक्षमा उभिँदासमेत आफ्नो निष्ठा नछाड्ने अध्यक्षलाई निष्ठा र इमानदारिताको प्रश्न गर्न मिल्छ ?’
त्यस्तै पार्टीका सहमहामन्त्री प्रकाश रिमालले राजेन्द्र लिङदेनको नेतृत्व आएपछि देशभर पार्टीको पक्षमा आकर्षण बढेका बेला नेतृत्व कमजोर बनाउने र पार्टीलाई पुनः टुटफुटको श्रृंखलामा धकेल्ने प्रयास भएको दाबी गरे ।
महामन्त्री राणाले विचारपत्रमा पार्टी सरकारमा किन गएको भन्ने प्रश्न औंल्याएकोमा पनि उनले राणामाथि प्रतिप्रश्न गरे ।
राणा आफैंसमेत सहभागी केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयले पार्टी प्रचण्ड सरकारमा गएको स्मरण गर्दै रिमालले त्यसमा नोट अफ डिसेन्ट किन नलेखेको भन्दै प्रतिप्रश्न गरे ।
त्यस्तै महामन्त्री राणाले आफ्नो विचारपत्रमा पार्टीले हालै खुला आवेदनमार्फत भित्र्याएका २० जना ४० वर्षमुनिका केन्द्रीय सदस्य ल्याउने प्रक्रियालाई दुष्कर्मको संज्ञा दिएपछि अधिकांश केन्द्रीय सदस्यले त्यसको विरोध गरेको एक नेताले बताए ।
पार्टीका केन्द्रीय सदस्य उद्धवराज भेटवालले नयाँ केन्द्रीय सदस्य बनाउने प्रक्रियालाई महामन्त्रीले दुष्कर्मको संज्ञा दिएको भन्दै त्यो शब्द फिर्ता लिएर युवाहरुसमक्ष माफी माग्न महामन्त्री राणालाई अनुरोध गरे ।
‘पार्टीमा आएका युवालाई तिरस्कार गर्ने, तर पार्टीको सिद्धान्त र संगठन छाडेर अर्को पार्टीका चिन्हमा चुनाव लड्न जाने नेता चाहिँ चाहिने ?’, उनले महामन्त्रीलाई प्रश्न गरे ।
४० वर्षमुनिका युवा केन्द्रीय सदस्य बनाउने नवीन राप्रपाको कार्यक्रमअनुसार केन्द्रीय सदस्य बनेका लोकेन्द्र कुँवरले मापदण्डमा भिडेर आएका युवा केन्द्रीय सदस्यलाई दुष्कर्मको परिणाम भन्नु दुर्भाग्यपूर्ण भएको भन्दै महामन्त्री राणाको आलोचना गरे ।
कुँवरले भने, ‘के हामी पार्टीमा आउनु, यो पार्टीका निम्ति जीवनपर्यन्त संघर्ष गर्छु भन्नु हाम्रो अपराध हो ? युवालाई केन्द्रीय सदस्य बनाउने कार्यसम्पादन समिति बैठकमा हस्ताक्षर गरेका राणाले अहिले कुन मुखले त्यस प्रक्रियाको विरोध गरेको ?’
त्यस्तै नवीन राप्रपा कार्यक्रमअन्तर्गत केन्द्रीय सदस्य बनेकी नानु थापा, अशोक सिंह सम्राटलगायत नेताले युवालाई तिरस्कार गरेर कस्तो पार्टी बनाउन खोजेको भन्दै प्रश्न गरे ।
आइतबारसम्म चल्ने राप्रपाको बैठकमा केन्द्रीय सदस्यहरुले बोल्ने क्रम जारी छ । केन्द्रीय सदस्यहरुले बोलिसकेपछि पार्टीका पदाधिकारीहरुले बोल्ने र निर्णय गरेर बैठक सम्पन्न गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply