अखिल क्रान्तिकारीमा ‘भतिज’विरुद्ध षडयन्त्रमा किन उत्रिए ‘काका’ ? तीन उम्मेदवारले प्रचण्डबाट पाए यस्तो भाका

काठमाडौं । माओवादी सम्वद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयनका लागि शनिबार निर्वाचन हुँदैछ ।

अध्यक्षमा ६ जनाले उम्मेदवारी दिएका थिए । उपदेश यादव, विजयप्रकाश सापकोटा, सुदिन पौडेल, हेमन्त राई, योगेन्द्र बुढा र विश्वमणि थापाले उम्मेदवारी दिएका हुन् ।

यादव वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सापकोटा उपमहासचिव शक्ति बस्नेत, पौडेल उपमहासचिव वर्षमान पुन, राई अर्का उपमहासचिव जनार्दन शर्मा, बुढा उपाध्यक्ष कृष्णबहादुर महरा र थापा महासचिव देव गुरुङका उम्मेदवार हुन् ।

अन्तिम नामावली प्रकाशन गर्नुअघि महासचिव गुरुङका उम्मेदवार थापाले उम्मेदवारी फिर्ता लिएका छन् । उनले कसलाई समर्थन गर्छन् भन्ने खुलेको छैन । शर्माका उम्मेदवार राई तत्कालीन पर्यटनमन्त्री सुदन किरातीका स्वकीय सचिव र श्रेष्ठका उम्मेदवार यादव नारायणकाजी गृहमन्त्री हुँदा उनका सहायक स्वकीय सचिव हुन् ।

श्रेष्ठ, पुन, शर्मा र बस्नेत समर्थित उम्मेदवारले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मको प्यानलै बनाएका छन् ।

प्रचण्डको हात तीनतिर

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र र बाहिर दुवैतिर एकविरुद्ध अर्कालाई खेलाउने नेताको छवि बनाएका छन् । विगतमा उनले मोहन वैद्य र बाबुराम भट्टराईको बीचमा अन्तर्विरोध पैदा गराएर खेले । जब वैद्य पार्टीबाट बाहिरिए तब उनले नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरालाई भिडाए । ०७२ मा संविधान जारी भएपछि नयाँ शक्तिको नारा लिएर बाबुरामले माओवादी छाडे ।

त्यसपछि उनले दोश्रो पुस्ताका नेताहरु वर्षमान पुन र जनार्दन शर्मालाई खेलाए । पार्टी सत्ता र राजकीय सत्ता दुवैमा उनले कहिले वर्षमान र कहिले जनार्दनलाई काँध दिए । पार्टी नेताहरुका बीचमा चलखेल गर्नुलाई त सबैले सामान्य रुपमै लिएका थिए ।

हुँदाहुँदा उनी पार्टीका करिब तीन दर्जनमध्येको एक विद्यार्थी संगठनका नेताहरुका बीचमा खेलिरहेका छन् । जबकि क्रान्तिकारीका अध्यक्षका आकांक्षी सबै प्रचण्डका नाति पुस्ताका छन् ।

३२ उमेर दह लगाएर पुराना विद्यार्थी नेता सबैलाई बिदा गरेपछि पञ्चा सिंह नेतृत्वको केन्द्रीय समितिका उपमहासचिवभन्दा तलका मात्र बाँकी रहे । उनीहरु नै अहिले अध्यक्ष र पदाधिकारीका दाबेदार छन् ।

चुनाव घोषणाअघि प्रचण्डले अध्यक्षका कुनै पनि उम्मेदवारलाई व्यक्तिगत रुपमा चिन्दैनथे । जब चुनाव हुने भयो तब नेताहरुले आ–आफ्ना उम्मेदवार प्रचण्डकहाँ लगेर भेटाउन थाले ।

पछिल्लो समय उनले अध्यक्षका तीन उम्मेदवार पुननिटक पौडेल, शर्मानिकट राई र बस्नेतनिकट सोपकोटालाई एक्लै बोलाएर ‘मेरो उम्मेदवार तपाईं हो है लाग्नूस्’ भनेका छन् । प्रचण्डको आश्वासन पाएका तीनै जना आफूलाई ‘हेडक्वार्टर’ को साथ रहेकामा ढुक्क छन् ।

२४ सय प्रतिनिधिसम्म उनीहरुले प्रत्यक्ष/अप्रत्यक्ष रुपमा आफू नै ‘हेडक्र्वाटर’ को आधिकारिक उम्मेदवार भएको सन्देशसहित भोट मागिरहेका छन् । एक्ला–एक्लै भेट्दा तीन जनालाई बचन दिए पनि प्रचण्डले आफ्नो उम्मेदवार को हो भन्नेबारे मतदानको एक दिनअघिसम्म खुलाएका छैनन् ।

‘काका’ समूहले हल्ला गर्दा ‘भतिज’हरुमा तरंग

अखिल क्रान्तिकारीमा पछिल्लो समय ‘काका’ र ‘भतिज’ समूह भन्ने चर्चित छ । ३२ वर्षे उमेरहद लागेर संगठनबाट बिदा भएकाहरुलाई त्यस मुनिको उमेर समूहले ‘काका’ समूहको संज्ञा दिने गरेको छ । आफूहरुलाई उमेरहद लगाएर बिदा गर्न भूमिका खेलेको भन्दै ‘काका’ समूह ‘भतिज’ समूहसँग आक्रोशित छ । उपमहासचिव बस्नेतले उम्मेदवार बनाएका सापकोटा अन्तिम समयसम्म उमेर हद लगाउन नहुने पक्षमा थिए ।

त्यसबाहेक चारैजना उमेर हदका पक्षमा उभिएका हुन् । उमेर हदमा सबैभन्दा उग्र अध्यक्षका उम्मेदवार पौडेल र राई समूहबाट महासचिवकी उम्मेदवार तृष्णा हमाल थिए । पौडेल र हमालसँग बदला दिन ‘काका’ समूहले शुक्रबार अन्तिम नामावली प्रकाशन हुनुभन्दा केही घण्टाअघि पौडेल र हमालको नाममा निर्वाचन समिति समक्ष उम्मेदवारी फिर्ताको निवेदन दर्ता गरायो ।

‘काका’ समूहका नेता पूर्वउपाध्यक्ष केशव रावल निवेदन लिएर आफैं निर्वाचन समितिमा गएका थिए । निर्वाचन समिति संयोजक मुक्ति प्रधानले पौडेल र हमाललाई फोन गरेर उम्मेद्वारी फिर्ता गरेको हो वा होइन भन्ने बुझ्न खोजे ।

उनीहरु दुवैले आफूहरुको उम्मेदवारी कायम रहेको र उक्त पत्र फर्जी भएको बताएपछि उम्मेदवारी फिर्ता भएन । लगत्तै पौडेलले सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका छन् । ‘मैदानबाट डराएर केही साथीहरुले नक्कली हर्कत गर्दैछन् । मैले मेरो उम्मेदवारी कायम राखेको छु’, पौडेलले लेखेका छन्, ‘केही साथीहरुले नक्कली निवेदन लिएर गएर निर्वाचनमा बुझाएकाले म निर्वाचन कार्यलयमा जाँदैछु ।’

पौडेलले निर्वाचन समितिमा उपस्थित भएर निवेदन नक्कली भएको बताएपछि अन्तिम नामावलीमा उनको नाम प्रकाशित गरिएको छ । यसअघि महासचिवमा उम्मेदवारी दिएका रोशन खड्काको नाम खुला उपाध्यक्षमा आएपछि चर्को विरोध भएको थियो ।

उपमहासचिव बस्नेतले आफ्ना उम्मेदवार सापकोटालाई जिताउन महासचिव उम्मेदवार फेर्ने रणनीतिअन्तर्गत खड्कालाई उपाध्यक्षमा ल्याएर महासचिवमा अर्कै उम्मेदवारलाई समर्थन गर्न खोजेको आरोप पुन–शर्मा समूहका नेताहरुले लगाएका छन् ।

को-को छन् उम्मेद्वार ? यो लिंकमा क्लिक गर्नुस् ।

 

Comments

2 responses to “अखिल क्रान्तिकारीमा ‘भतिज’विरुद्ध षडयन्त्रमा किन उत्रिए ‘काका’ ? तीन उम्मेदवारले प्रचण्डबाट पाए यस्तो भाका”

  1. ksp pyl Avatar
    ksp pyl

    अर्काको उम्मेदवारी फिर्ता लिएको भनेर नक्कली निवेदन लाने कथित विद्यार्थी नेताबाट केही आस गरिन्छ ? यी त किर्तेमा लगेर जाक्नुपर्ने हुन् । माउ पार्टी नै त्यस्तै अवैध काम गरेर आएको हो । उसका सन्तान के सद्दे हुनु ?

  2. Nagendra Avatar
    Nagendra

    प्रचण्डको अशली रुप र योग्यता भनेकै २ जनाको बीचमा खेल्ने :आफु केन्द्रमा देखिने र खेलाई रहने !! १. हिजो बाबुराम र किरण को बीचमा, अलि पछि पुन र सर्माको बीचमा अहिले तिनका पुच्छर केटाकेटी हरुमा !! खै कसरि हो यो पत्रिकाले यत्ति एनलाइसिस गरेर लेख्ने साहस गर्यो : बुझियियो त्यो !! तर प्रचण्डको यो २ बीचमा खेल्ने चतुरे कपट पूर्ण खेल यत्तिमा सिमित छैन !!
    २. देउवा संग भए ओली बिरोधी कुरा, ओली संग भए देउवा बिरोधी कुरा !! यो ब्येवहारले त्येत्ति ठुलो असर पुगेको छैन : पार्टी मात्र १५ टुक्रा भयो, अझै चिरा पर्दै छ, सरकार बाट खुट्टा झिक्न पर्यो : एक प्रकारको बिच्छिप्तता छत्ताछुल्ल हुदै गरेको देखिंदै छ !!
    ३. त्यो पनि ठुलो कुरा भएन तर प्रचण्ड : सी संग भेट गरे हामी त ‘माओबादि’ : वर्ग र सिद्दान्तले तपाइकै हौँ भन्छन : मोदी संग भेटे हामी भारतको बिरुद्द केही गर्दैनौ भनेर कसम खान्छन, भारतकै लगानीमा ‘जनयुद्द’ गरेको बिर्सन्नौ भन्दै कम्फ़र्टेबल भै दिन्छन : अमेरिकन लाई भेटे हामी जत्ती इमान्दार कोहि छैन, आफैले हो MCC मागेको, ल्याएको र लागु गरेको !! युक्रेनको पक्ष्यमा बक्तब्य निकालेर नेटो संगै छम भन्ने देखाउन हत्तारिएर बुर्किनु किन पर्थ्यो ?? प्रचण्डको यो बेदेशी संगको ब्येभिचारले देशको भविस्यमाथि संकटको घन्टी बजाउञ्छ !!
    ४. नेपाली राजनीतिले बुझ्न नसकेको यो कुरा बुझ्न ढिला गर्नु हुन्न !! देशको सुरक्ष्या र उन्नति चाहने हो भने यो प्रबृत्ति अन्त हुनै पर्छ : त्यो नेपाली जनताको हातमा छ : बिबेक पूर्ण निर्णय गर्ने र देश बचाउने लेन्डुप दोर्जी -२ बाट !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *