के हो सांसद एलपी सावा लिम्बुलाई सटल भ्यानबाट प्लेन नचढाइ फर्काइएको प्रकरण ?

काठमाडौं । झापाको भद्रपुरका लागि जहाजमा उड्ने समयमा सटल भ्यान चढेर विमानस्थल भित्र आधी बाटो पुगेपछि फर्किनु परेकाे सांसद एलपी साँवाले गुनासो गरेका छन् । यति एयरलाइन्सबाट भद्रपुर जान विमानस्थलमा भ्यान चढेर जाँदै गर्दा जहाजको ढोका बन्द भएपछि  फर्काइएको भन्दै उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

उनको शुक्रबार एटी ९२५ मा बिहान १० बजेर ५ मिनेटमा उडान थियो । भीआईपीबाट बोर्डिङ च्यातेर करिब १० बजेर १८ मिनेटमा मारुती सटल भ्यानमा राखेर लिम्बुलाई जहाज भएको ठाउँमा लगिँदै थियो । तर, विमानस्थल भित्रबाट भ्यान चढेर जहाज भएको ठाउँमा जाँदाजाँदै जहाजको ढोका बन्द भयो र उड्यो ।

‘म सटल भ्यानमा चढेर जहाज भएको ठाउँमा पुग्नै लाग्दा जहाजको ढोका बन्द भयो भनेर भ्यानको चालको सञ्चार सेटमा खबर आयो । एयर क्राफ्ट भएको छेउमा पुग्नै लाग्दा भ्यानको ड्राइभरले बोकेको सञ्चार सेटमा अचानक डोर क्लोजको सूचना आयो र मलाई फर्काएर एराईभल तिर झारियो । धेरै साथीहरुलाई प्लेनमा प्राविधिक समस्या आयो उडान नभएर फर्काएको त सुनेको थिएँ । मेरो केस भने अलि फरक रह्यो । मलाई भीआईपीमार्फत सटल भ्यानमा चढाएर प्लेन देखाएर फर्काइयो’, संसद् लिम्बुले लेखेका छन् ।

उनले यो हेपाह प्रवृत्ति भएको भन्दै आक्रोश व्यक्त गर्दै यस प्रकारको यति एयरको लापरबाही र गैर जिम्मेवारपन उचित नरहेको बताए ।

यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्ताैलाले भने संसद् लिम्बु समयमा नै नआइपुगेकाले जहाज छुटेको बताए ।

उनले भने, ‘माननीय लिम्बुलाई डिउटी अफिसरले धेरै पटक फोन गरेका थिए । उहाँले आउँदै छु भन्नु भएको थियो । जहाज उड्नुभन्दा अघि नै विमानस्थल आइपुग्नु पर्ने हो । तर, संसद् लिम्बु ढिलो आइपुग्नु भयो । हामीले भीआईपीका लागि भनेर भ्यान रेडी बनाएर राखेका थियौँ । उहाँ आइपुग्ने बित्तिकै भ्यानमा राखेर जहाज भएको ठाउँ तर्फ लगिँदै थियो । तर, ढोका बन्द भएको सूचना आयो । संसद् लिम्बु नै समयभन्दा ढिलो आइपुग्नु भएकाले भ्यानमा चढाएर लाँदा पनि नभ्याएको हो । उडान रोक्दा अर्को उडान कति बेला हुन्छ भन्ने नै ठेगान हुँदैन ।’

Comments

3 responses to “के हो सांसद एलपी सावा लिम्बुलाई सटल भ्यानबाट प्लेन नचढाइ फर्काइएको प्रकरण ?”

  1. ksp pyl Avatar
    ksp pyl

    १०:०५ को फ्लाइटले १०:१८ मा पुग्दा पनि उडाएन भन्न मिल्छ ? अनि समयमा फ्लाईट हुदैन भन्ने पनि आफैं । समयमा एयरपोर्ट पुगौं । र यस्ता विषयमा बाहिर नबोलौं माननीय जि ।

  2. केशव राज चौहान Avatar
    केशव राज चौहान

    समयको ख्याल गह्रौं माननीय ज्यू। हजुर समयमै पुगिस्या भएर जहाजले छोड्या भए कारबाही प्रक्रिया अगाडि बढाऔं। एक पटक नेपालगन्जमा एक जना माननीय हुन कि मन्त्री ज्यू ले आफु उडान समय भन्दा ढिलो पुगेर जहाजलाई नै ढिलो उड्ने बनाइदिनु भएछ,बबुरा जहाजका कर्मचारीहरूले त केही भन्न सकेनन् तर अन्य यात्रुहरूले भने ति मन्त्रीको धत्तुरो झारेको कुरा आजकाल पनि यू ट्युबमा देखिन्छ।

  3. अमृत Avatar
    अमृत

    कति बजे प्लेन उँड्छ , कति घण्टा अगाडि एअर पाेर्ट पुग्नुपर्छ भन्ने थाहा नभएका भिआइपि भनाउँदालाई थाेत्राे ट्रकमा हालेर पठाइदिए हुन्छ । लाज पचेकाहरू! अझ टाइममा उँडायाे भनेर एअरलाइन्स लाई गालि गर्ने😡

Leave a Reply

Your email address will not be published. Required fields are marked *