काठमाडौं । नेकपा माओवादी केन्द्रनिकटको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) यतिखेर नयाँ नेतृत्व चयनको प्रक्रियामा जुटेको छ । भोलि (माघ १२ गते) केन्द्रीय कमिटी छान्न मतदान तोकिएको छ ।
क्रान्तिकारीको नेतृत्व हत्याउन ६ जना मैदानमा देखिएका छन् । जसमा उपदेशकुमार यादव, सुदिन पौडेल, हेमन्त राई, विजयप्रकाश शर्मा, विश्वमणि थापा र योगेन्द्र बुढाले उम्मेदवारी दिएका छन् ।
अखिल क्रान्तिकारीको सांगठानिक इतिहासमा नेतृत्वको लागि पहिलो पटक मधेशी समुदायको उम्मेदवारी परेको छ । एक दशकभन्दा बढी संगठनमा बिताएका रौतहट परोह नगरपालिकाका उपदेश यादवले आफूलाई अध्यक्षको दाबेदारका रूपमा उभ्याउँदै १७ संकल्प प्रस्तुत गरेका छन् ।
इन्जिनियरिङका विद्यार्थी यादवले नेपाल प्रेससँग भने, ‘संयोगले अध्यक्षमा मेरो उम्मेदवारी अखिल (क्रान्तिकारी) को इतिहासमा पहिलो मधेसी समुदायको उम्मेदवारी बन्न पुगेको छ । मलाई लाग्छ यो मेरो र मधेसी समुदायको जीवनमा मात्र हैन संगठनकै जीवनमा पनि एउटा इतिहास रचना गर्ने समय हो । यसकारण पनि प्रतिनिधि साथीहरूसँग विशेष अनुरोध गर्दछु ।’
अहिलेसम्म प्राविधिक शिक्षामा रोजगार र सीप जोडिन नसकेको भन्दै शिक्षालाई उत्पादनसँग, उत्पादनलाई रोजगारसँग साथै रोजगारलाई समृद्धिसँग जोड्न आफ्नो उम्मेदवारी भएको उनले सुनाए ।
‘विश्वविद्यालय शिक्षा अनुसन्धानमुखी छैन । नेपाली समाजका मूल्य मान्यता परम्परा र आवश्यकता अनुसार खोज अनुसन्धानतिर केन्द्रित गर्नुपर्नेछ’, उनले भने ।
विद्यार्थी आन्दोलनको औचित्य अझै बाँकी छ ? भन्ने प्रश्नमा यादवले भने, ‘यस्तो किमार्थ हुन सक्दैन । दुनियाँले सुन्ने, बुझ्ने र थाहा पाउने गरी हामीले हुंकारका साथ भन्न सक्नुपर्दछ – जुनदिनसम्म नेपाली विद्यार्थी र शिक्षा क्षेत्रका समस्या समाधान हुँदैनन्, त्यसदिन सम्म विद्यार्थी आन्दोलनको औचित्य समाप्त हुँदैन । तर, हामीले इतिहासको कठाघरामा उभिएर निर्मम समीक्षा गर्नैपर्दछ । यसबीचमा कतै हामी अलमलमा त परेनौं ? कतै हामी अकर्मण्यतामा त फसेनौं ? कतै हामीले हाम्रा मुद्दा र कार्यसूची त भुलेनौं ? कतै बदलिएको परिस्थितिमा आफूलाई बदल्न त चुकेनौं ? हो त्यही जवाफ खोज्न सबैको साथ खोजेको हुँ ।’
उमेर हदको नीतिले क्रान्तिकारी वास्तविक विद्यार्थीको साझा चौतारी बन्न पुगेको यादवले बताए ।
यादवले आफ्नो संकल्प यी बुँदामा प्रस्तुत गरेका छन्-
– आफनै भवन सहितको स्मार्ट कार्यालय बनाउने ।
– कार्यकाल भित्र कम्तिमा १० लाख सदस्य बनाउने ।
– संगठनका सदस्यता, दस्तावेज, गतिविधि लगायत सम्पूर्ण अभिलेख लाई डिजिटलाइज्ड गर्ने ।
– संगठनका सम्पुर्ण कामलाई क्यालेण्डर प्रणाली वनाई लागू गर्ने ।
– हरेक तहका सम्मेलन अवधि पुगेपछि हरहालतमा गर्ने / गराउने ।
– संगठनको तहगत स्कुलिङ्गको पाठ्यक्रम वनाई लागू गर्ने ।
– विधि र विधान अक्षरश पालना गर्ने ।
– जहां विद्याथी त्यहां संगठन, जहाँ संगठन त्यहां सङ्घर्ष र कार्यक्रम ।
– प्रदेश र विश्वविद्यालयलाई आधार वनाई अखिल (क्रान्तिकारी) लाई महासंघीय ढांचामा लैजान पहल गर्ने ।
– शिक्षा क्षेत्रमा मेरिटोक्रेसि लागु गर्न अगुवाइ गर्ने ।
– हरेक सदस्यलाई उत्पादनसंग जोड्ने र पार्टटाइम रोजगारीका लागि सङ्घर्ष गर्ने ।
– संगठनलाई भ्रष्ट्राचार विरुद्ध र सुशासन कायम गर्न अग्रदस्ताको रुपमा उभ्याउने ।
– अपारदर्शी आर्थिक प्रणाली अन्त्य गरी संगठनलाई पुर्ण रुपमा पारदर्शी र मितव्ययी वनाउने ।
– संगठन भित्र पु्र्ण रुपमा विधि, नीति, विधान र संस्थागत निर्णय प्रणाली अवलम्बन गर्ने ।
– अग्रजको सम्मान तथा नयां पुस्ता र प्रतिभाको प्रोत्साहनको संस्कृति आत्मसात् गर्ने ।
– रोजगारमुलक प्राविधिक शिक्षाको पक्षमा सङ्घर्ष गर्ने ।
– राष्ट्रिय स्वाधिनताको पक्षमा अविराम सङ्घर्ष गर्ने ।
यसकारण मेरो उम्मेदवारी
– मेरो उम्मेदवारी विद्यार्थी आन्दोलनलाई पुनर्जीवन दिन अखिल (क्रान्तिकारी)को पुनर्गठन गर्नका निम्ति हो ।
– मेरो उम्मेदवारी नेपाली विद्यार्थी आन्दोलनलाई प्रश्नहरुको हैन, उत्तरहरुको विद्यार्थी आन्दोलन वनाउनका लागि हो ।
– मेरो उम्मेदवारी विद्यार्थीका विचवाट विद्यार्थी नेता जन्माउन र विद्यार्थी नेतालाई शिक्षणसंस्था र कक्षाकोठातिर फर्काउनका निम्ति हो ।
– मेरो उम्मेदवारी क्रान्तिकारी विद्यार्थी आन्दोलनलाई रहरलाग्दो , डरलाग्दो र भरलाग्दो वनाउनका लागि हो ।
– मेरो उम्मेदवारी राजनीतिक एजेण्डामा रुमल्लिएको विद्यार्थी आन्दोनलाई विद्यार्थी र शैक्षिक मुद्धामा फर्काउनका निम्ति हो ।
– मेरो उम्मेदवारी घिसिपिटे बनिरहेको विद्यार्थी आन्दोनलाई जुरुक्क उठाएर राष्ट्रियता , लोकतन्त्र र समाजवादको पहरेदार वनाउनका निम्ति हो ।
– मेरो उम्मेदवारी नेपाली विद्यार्थी आन्दोलनलाई दवाव, जागरण र खबरदारीको अचुक निशाना वनाउनका निम्ति हो ।
– मेरो उम्मेदवारी शिक्षालाई श्रमसित, श्रमलाई उत्पादन र रोजगारीसित, त्यसलाई समृध्दिसित र समृध्दिलाई समाजवादसित जोड्ने प्रणाली वहालीका लागि हो ।
– मेरो उम्मेदवारी संविधानमा ग्यारेन्टी गरिएको शिक्षा , स्वास्थ्य र रोजगारीको मौलिक हकलाई कार्यान्वयन गर्नका लागि हो ।
– मेरो उम्मेदवारी राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन कार्यान्वयन गराउन र अविलम्ब नयां शिक्षा ऐन जारी गराउनका लागि हो ।
– मेरो उम्मेदवारी विद्यार्थीलाई उद्यमशील, आत्मनिर्भर र स्वरोजगार वनाउने अभियानका निम्ति हो ।
– मेरो उम्मेदवारी संगठन र पार्टी आन्दोलनमा मधेसलाई जोडेर पहिलो संगठन र पहिलो पार्टी वनाउने अभियानमा टेवा पुर्याउनका निम्ति समेत हो ।
क्रान्तिकारीमा यस्तो छ यादवको इतिहास
– २०६७ सालमा उपत्यका स्थित अखिल (क्रान्तिकारी) एन.सि.आई.टी. कलेज मूल इकाई कमिटी सदस्य ।
– सोही कमिटीको दुई कार्यकाल उपाध्यक्ष हुंदै २०७० सालमा अध्यक्ष ।
– २०६९ सालमा अखिल (क्रान्तिकारी) पोखरा वि.वि काठमाण्डौ उपत्यका जिल्ला सदस्य हुंदै २०७२ सालमा सचिव ।
– २०७३ मा केन्द्रीय सदस्य, अनेरास्ववियू (क्रान्तिकारी) ।
– २०७६ मा केन्द्रीय सदस्य, अनेरास्ववियू (एकता भएको वेला) ।
– २०७७ मा केन्द्रीय सदस्य, अनेरास्ववियू (क्रान्तिकारी) ।
– २०७७ मा सहसंयोजक, अखिल (क्रान्तिकारी) पोखरा विश्वविद्यालय समन्वय समिति ।
– २०७८ विद्यार्थी विशेष जिल्ला / महाशाखा समिति सदस्य, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ।
– २०८० मा सचिव, अखिल (क्रान्तिकारी) केन्द्रीय समिति ।

Leave a Reply