काठमाडौं । आफूमाथि भएको आक्रमणको घटनामा बलिउड अभिनेता सैफ अली खानले प्रहरीमा बयान दिएका छन् । चोरी गर्न आएका व्यक्तिलाई आफूले नियन्त्रणमा लिँदा उनले चक्कु प्रहार गरेको सैफको भनाइ छ ।
बान्द्रा प्रहरीले सैफको बयान दर्ता गरेको हो । यसअघि उनकी कामदार अरियामा फिलिप र पत्नी करिना कपुरको बयान प्रहरीले लिइसकेको छ । सैफको बयान सबैभन्दा प्रतीक्षित थियो ।
सैफका अनुसार त्यस रात उनी करिनासँग सुतेका थिए भने उनको कान्छा छोरा जेह नानी (हेरचाह गर्ने सुसारे)सँग सुतेका थिए । राति अचानक चिच्याएको आवाज आएपछि आफूहरु उठेर जेहको कोठामा गएको उनले बताएका छन् ।
सैफको बयानपछि केही नयाँ तथ्यहरु बाहिर आएका छन् । जस्तो कि यसअघि सैफलाई उनका जेठा छोरा इब्राहिमले अटो रिक्सामा हालेर अस्पताल लगेको बताइएको थियो, तर सैफलाई छोराले नभएर उनका म्यानेजरले अस्पताल लगेको पुष्टि भएको छ ।
सैफको बयान यस्तो छ
म र करिना हल्लाखल्ला सुनेर ब्युँझियौं । दुवै जना जेहको कोठामा जाँदा त्यहाँ लिमा (सुसारे)सँगै एक जना अपरिचित पुरुष बहस गरिरहेका थिए । ती पुरुषको हातमा चक्कु थियो । मैले उनलाई को हो र किन आएको भनेर सोधेँ । उसले केही बताएन । कोठाभित्र मेरो सानो छोरो सुतिरहेको थियो । त्यसैले उसलाई खतरा हुनसक्ने सोचेर मैले उक्त व्यक्तिलाई च्यापचुप समातेर आफ्नो नियन्त्रणमा लिएँ । त्यसले मबाट फुत्किने प्रयासमा मलाई पटक-पटक चक्कु हान्यो । मेरो पिठ्यूँ, हात र गर्दनमा चोट लाग्यो । म घायल भएँ । मैले घाइते अवस्थामै धक्का दिएर आक्रमणकारीलाई लडाएँ । त्यसपछि कोठाको धोका थुनेर हामी निस्कियौं । कर्मचारीले जेहलाई लिएर माथि तल्लामा गए ।
हल्लाखल्ला सुनेर १२ औं तल्लाबाट अरु कर्मचारीहरु झरे, तर जेहको कोठा खोलेर हेर्दा त्यो व्यक्ति त्यहाँ थिएन । कर्मचारीले सबैतिर खोजे, तर ऊ कतै पनि भेटिएन । मलाई मेरो म्यानेजरले अटोरिक्सामा हालेर अस्पताल पुर्यायो ।
यस घटनामा पक्राउ परेका आरोपी सरिफुल इस्लामलाई आज म्याद थपका लागि अदालत पेश गर्दैछ । केही मिडियाले प्रहरीले गलत व्यक्तिलाई पक्राउ गरेको र फरेन्सिक रिपोर्टमा उनको अनुहार सीसीटीभी फुटेजमा देखिएको व्यक्तिसँग म्याच नभएको दाबी गरिरहेका छन् । स्मरणीय छ कि घटना भएको डेढ घन्टापछि मात्रै सैफलाई अस्पताल पुर्याइएको थियो ।

Leave a Reply