काठमाडौं । सभामुख देवराज घिमिरेले सात दशकअघि सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्ध निरन्तर विकसित र सुदृढ हुँदै आएको बताएका छन्।
नेपाल र जनवादी गणतन्त्र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै चीनसँगको सम्बन्ध शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरू अर्थात् पञ्चशीलद्वारा निर्देशित हाम्रो द्विपक्षीय सम्बन्ध असल छिमेकपन, आपसी साझेदारी र सम्मानका साथै अन्तर्राष्ट्रिय मूल्य र मान्यतामा आधारित रहेको बताए।
उनले भने, ‘हामी बीचको यस्तो सुमधुर सम्बन्धलाई थप सुदृढ र घनीभूत तुल्याउँदै लैजान हामी सदा तत्पर रहँदै आएका छौँ।’ एक चीन सिद्धान्त’ लाई दृढतापूर्वक पालना गर्नुका साथै यसप्रतिको नेपालको प्रतिबद्धता बलियो रहिआएको छ। चीन विगत लामो समयदेखि नेपालको एक भरपर्दो र महत्त्वपूर्ण विकास साझेदार मुलुकको रूपमा रहिआएको छ।’
नेपालले चीनसँगको सम्बन्धलाई उच्च महत्त्व दिँदै आएको उल्लेख गर्दै एक आपसमा उच्चस्तरीय भ्रमण एवं कार्यक्रमहरूको नियमित आदानप्रदानमार्फत द्विपक्षीय सम्बन्धमा उल्लेख्य प्रगति र गतिशीलता हासिल गरेको बताए।
उनले सन् २०१९ मा नेपालका तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको चीनको राजकीय भ्रमण र सोही वर्ष चिनियाँ राष्ट्रपति सी चिनफिङबाट भएको नेपालको राजकीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन महत्त्वपूर्ण योगदान गरेको बताए।
हालै भएको प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणले नेपाल–चीनबीचको मित्रवत् सम्बन्धलाई थप प्रगाढ र मजबुत बनाउन मद्दत पुगेको बताए।
उनले भने, ‘उक्त औपचारिक भ्रमणका क्रममा भएका महत्त्वपूर्ण निर्णयहरू र सम्झौताहरूले हाम्रो द्विपक्षीय सम्बन्ध र सहकार्यलाई नयाँ गति प्रदान गर्न मार्ग प्रसस्त गरेका छन्। यसबाट नेपालको आर्थिक रूपान्तरण र विकासका प्राथमिकताका क्षेत्रहरूमा सहयोग तथा सहकार्य अभिवृद्धि हुँदै राष्ट्रिय आकांक्षा ‘समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य प्राप्तिमा मद्दत मिल्ने कुरामा म विश्वस्त छु।’

Leave a Reply