सिद्धबाबा सुरुङमार्ग ब्रेक थ्रु : प्रधानमन्त्री ओलीले भर्चुअल उद्घाटन गर्ने, दुई उपप्रधानमन्त्री आउने

रुपन्देही । प्रधानमन्त्री केपी शर्मा ओली पाल्पा र रुपन्देहीमा आज हुने कार्यक्रममा नआउने भएका छन् । सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रुसहितका कार्यक्रम उद्घाटन गर्न उनी यहाँ आउने कार्यक्रम तय भएको थियो ।

शुक्रवार बिहानसम्म आउने तयारी रहेको जनाइए पनि अन्तिममा उनी यहाँ नआएर भर्चुअल रूपमै काठमाडौंबाट उद्घाटन गर्ने भएका हुन् ।

केही दिनयता स्वास्थ्यमा समस्या भएपछि उनी औपचारिक कार्यक्रममा निस्किएका थिएनन् तर बिहीबार साँझ पनि उनले जसरी पनि जाने भनेर संकेत गरेपछि तयारी गरिएको थियो ।

उनी नआए पनि उपप्रधानमन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य आउनेछन् ।

सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबादेखि दोभानसम्म पर्ने झण्डै तीन किलोमिटर पहिरोको उच्च जोखिममा पर्ने सडकलाई मध्यनजर गरेर गराइएको सिद्धबाबा सुरुङमार्गको वारपार खन्ने काम सकिएपछि आज०प्रधानमन्त्री केपी शर्मा ओलीले ‘ब्रेक थ्रु’ गर्ने भएका छन् ।

उनले दिउँसो १२ः४५ मा इलेक्ट्रोनिक प्रविधिबाट ‘ब्रेक थ्रु’ गर्ने कार्यक्रम रहेको बताइएको छ । पहिले सिद्धबाबामै आएर ब्रेक थ्रु गर्ने भनिएकामा अन्तिम समयमा आएर उनी आउन नसक्ने जनाइएको छ । अब ओलीले काठमाडौँबाटै इलेक्ट्रोनिक प्रविधिबाटै ब्रेक थ्रु गर्नेछन् ।

नेपाल सरकार र चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनबीच २०७८ फागुनमा सात अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सुरुङमार्ग बनाउने ठेक्का सम्झौता भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *