काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथिको आक्रम र उनले दिएका अभिव्यक्ति दुवै अस्वीकार्य भएको न्यायाधीश समाजले जनाएको छ ।
समाजले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै माघ २ मा काठमाडौं जिल्ला अदालतमा चलिरहेको ठगी गरी संगठित अपराध गरेको मुद्दामा थुनछेक बहसपछि अदालत हाता बाहिर वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको भौतिक आक्रमण तथा त्यसपछिको क्रियाकलापबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
विशेष अदालतका अध्यक्षसमेत रहेका समाजका महासचिव टेकनारायण कुँवरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘न्याय सम्पादन प्रकृयाको अभिन्न अंगको रुपमा रहेको नेपाल बार र त्यसका कुनै पनि सदस्य माथि भौतिक आक्रमण गरिनु निन्दनीय कार्य हो । उक्त दिन काठमाडौ जिल्ला अदालत परिसर बाहिर बरिष्ठ अधिवक्ता श्री दिनेश त्रिपाठी माथि भएको भौतिक आक्रमणको यो समाज निन्दा गर्दै त्यस्तो अवाञ्छित कार्यमा संलग्न रहेका व्यक्तिलाई आवश्यक कानूनी कारवाही गर्नको लागि माग गर्दछ ।’
‘घटना पश्चात बरिष्ठ अधिवक्ता श्री दिनेश त्रिपाठीबाट विभिन्न सञ्चार माध्यममा सो मुद्दामा भएको आदेश गर्ने न्यायाधीशका सम्बन्धमा वदनियतपूर्वक कार्य गरेको भनी सर्वसाधारणमा न्यायपालिका प्रति नै भ्रम र अनास्था फैलाउने गरी अन्तर्वाता दिएको कुरा युट्युब च्यानलमा प्रसारण भएको पाइएकोले सो सम्बन्धमा समेत यस न्यायाधीश समाज, नेपालको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा उल्लेख छ ।
कुनै न्यायाधीश विशेषबाट कानून बमोजिम न्यायिक प्रक्रिया अवलम्बन गरी भएको कुनै आदेश वा काम कारवाही कानून विपरित भएको भन्ने लागेमा त्यस बारेमा सम्बन्धित निकायमा कानून वमोजिमकै प्रक्रिया अवलम्बन गरी उपचार खोज्नु स्वाभाविक हुने समाजले जनाएको छ ।
तर त्यसतर्फ नलागी वरिष्ठ अधिवक्ता जस्तो जिम्मेवार व्यक्तिले आफूले वहस गरे वमोजिमको परिणाम नआएको भन्ने आधारमा कानून व्यवसायीको आचरण विपरित हुने गरी आदेश गर्ने न्यायाधीशमाथी नै बदनियतपूर्वक कार्य गरेको भन्दै सार्वजनिक सञ्चार माध्यममा अन्तरर्वाता दिएको समाजले जनाएको छ ।
वरिष्ठ अधिवक्ताको उक्त अभिव्यक्तिबाट प्रचलित न्यायिक पद्धति र समग्र न्यायपालिका प्रति नै अनास्था पैदा हुन जाने भन्दै न्यायाधीश समाज नेपालले त्यस प्रकारका अवाञ्छित गतिविधिप्रति दुख पनि व्यक्त गरेको छ ।


Leave a Reply