काठमाडौं । राष्ट्रिय एकता अभियानका संयोजक तथा पूर्वउपाध्यक्ष वामदेव गौतम एमाले फिर्तीमा ढिलाइ हुने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको संवादपछि हौसिएका वामदेवको इन्ट्रीमा विलम्व भएको हो ।
ओलीसँगको सहमतिपछि सोमबार बसेको सचिवालय बैठकलगत्तै गौतम एमाले फर्किन चाहन्थे ।
ओलीसँग संवाद भएपछि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँगको वार्ता पन्छाएर एमाले फर्किने निर्णयमा पुगेका थिए । तर, गौतमलाई दिने पदको विषयमा एमालेले निर्क्याैल नगर्दा गौतमको फिर्ती ढिलाई हुने देखिएको हो ।
वामदेवलाई फर्काउने एमालेको आन्तरिक तयारी के हुँदैछ ? हामीले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमलाई सोध्यौं ।
उनले अहिले सहकार्य गर्दै जानेमात्रै निर्णय भएको बताए ।
सचिवालयको निर्णय प्रष्ट्याउँदै गौतमले भने, ‘हामीले सहकार्य गर्ने निर्णय गरेका छौं । भोलि नै भित्र्याउने भन्ने निर्णय गरेका छैनौं । सहकार्य गर्ने भनेको उहाँको संगठन कत्रो बनाउनुभएको छ, कति मान्छे छन्, त्यसको प्रभाव के छ त्यसको आधारमा एकता हुन्छ ।’
भनेपछि यो प्रक्रिया कहिलेसम्म टुंगिन्छ ? भन्ने जिज्ञासामा उनले थपे, ‘त्यो उहाँकै हातमा छ । कहिलेसम्म उहाँले आफ्नो डाटाहरू प्रस्तुत गर्नुहुन्छ । त्यसपछि उहाँको माग र हाम्रो शर्तको मिलन हुनुपर्यो । त्यो बाँकी नै छ ।’
उनले वामदेवलाई दिने जिम्मेवारीको विषयमा अहिले नै टुंगिने अवस्था नरहेको बताए ।
उनले थपे, ‘अब विधान बदल्न मिल्दैन । विधान महाधिवेशन भदौमा गर्ने निर्णय भइसकेको छ । उता महाधिवेशन घोषणा गर्ने यता बदलेर पद सिर्जना गर्न मिल्दैन । उहाँलाई कहाँ राखेर काम गराउने भन्ने कुरा पनि हुन्छ ।’
उनले निशर्त एमालेमा फर्किन तयार भनेर बाहिर भनेपनि अध्यक्षसँग केही पद मागेकै हुनसक्ने आशंका व्यक्त गरे ।
गौतमले भने, ‘त्यसैले विधानलाई च्यालेन्ज गरेर पद सिर्जना हुँदैन । अहिले विधानको व्यवस्थालाई बदलेर नयाँ पद सिर्जना गरेर प्रक्रिया अगाडि बढ्दैन । भएको ठाउँबाट समाधान गरेर जान्छ ।’

Leave a Reply