काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई जिम्मेवारी दिने तयारीमा माओवादी केही दिन ‘पर्ख र हेर’ को रणनीतिमा देखिने भएको छ ।
पूर्वउपराष्ट्रपति भइसकेको व्यक्ति फेरि सक्रिय राजनीतिमा आउँदा राम्रो सन्देश नजाने भन्दै माओवादीकै नेताहरूले प्रश्न उठाएका थिए ।
हालैको पदाधिकारी बैठकमा नेताहरूको कार्यविभाजन गर्ने र त्यसैबाट पुनलाई औपचारिक जिम्मेवारी दिने माओवादीको तयारी थियो । पुन माओवादीका पछिल्ला बैठकममा आमन्त्रित रूपमा सहभागी हुन थालिसकेका छन् । केही दिनअघि केन्द्रीय कमिटीको बैठकमा पनि उनी उपाध्यक्षको कुर्सीको लहरमा आसिन थिए ।
सचिव दिनानाथ शर्माले पनि पुनलाई जिम्मेवारी दिनेबारे पार्टीमा अहिले कुनै छलफल नभएको दाबी गरे ।
शर्माले भने, ‘अस्तिको बैठकमा कार्यविभाजन भन्दा पनि विद्यार्थी निर्वाचनको विषयका केन्द्रित भयो । त्यस विषयमा धेरै छलफल भएन । अब अर्को बैठकमा निर्णय हुन्छ होला । पुनलाई जिम्मेवारी दिनेबारे अहिलेसम्म कुनै निर्णय भएको छैन ।’
उनले भने, ‘कार्य विभाजनबारे अहिलेसम्म कुरा टुंगिसकेको छैन । उहाँलाई जिम्मेवारी पार्टीले दियो भने सबै कुरा आइहाल्छ नि !’
अर्का एक नेता पार्टीभित्र नेताहरूले प्रश्न उठाएपनि अध्यक्ष प्रचण्डले तत्काल जिम्मेवारी नदिने संकेत गरेको बताए ।

ती नेताले भने, ‘उहाँ सक्रिय राजनीतिमा आउँदा पार्टीभित्र मात्रै होइन, बाहिरबाट पनि आलोचना हुनसक्ने देखिएकाले उपाध्यक्ष बनाउने तयारी भएपनि तत्काल रोकिन सक्ने देखिएको छ ।’
अर्का सचिव लीलामणि पोखरेलले आगामी हप्तासम्ममा पार्टीले नेताहरूको कार्यविभाजन टुंगिने बताए । पुनलाई जिम्मेवारी दिने विषयमा पार्टीभित्र धेरै छलफल नभएको र विवाद पनि नभएको उनको जिकिर छ ।
पोखरेल भन्छन्, ‘कार्य विभाजनको विषयमा अब बस्ने बैठकमा छलफल हुन्छ । अध्यक्षले अहिलेसम्म बैठक डाक्नुभएको छैन । आगामी साताभित्र सबै टुंगिन सक्छ ।’
माघ २ गतेको बैठकमा उपाध्यक्ष पम्फा भुसालले नेताहरूको कार्यविभाजनको मौखिक प्रस्ताव राखेकी थिइन् । माओवादीले प्रदेश इन्चार्जदेखि सबै नेताहरूको जिम्मेवारी हेरफेर गर्ने तयारी गरेको छ ।
केन्द्रीय कमिटीको बैठकमा प्रचण्डले पुन आफ्नै व्यक्तिगत चाहनाले नै पार्टीमा सक्रिय भएको प्रष्टीकरण दिएका थिए ।
उनले भनेका थिए, ‘उहाँलाई पार्टीले राजनीतिमा सक्रिय गराएको नभई आफैं सक्रिय हुने चाहना व्यक्त गर्नुभएकाले आमन्त्रित रूपमा बैठकमा सहभागी गराइएको हो । अन्य नेताहरूको कार्यविभाजन गर्दा जिम्मेवारी दिइन्छ ।’
तर, पार्टीभित्र आफूमाथि सम्भावित घेराबन्दीलाई सन्तुलन मिलाउन प्रचण्डले नै पुनलाई कमव्याक गराउन लागेको माओवादी वृत्तमा चर्चा छ ।
पछिल्लो समय उपमहासचिव जनार्दन शर्माले नेतृत्व हस्तान्तरणको प्रस्ताव अघि सारेपछि प्रचण्डले पार्टीभित्र आफू दबाबमा पर्नसक्ने देखेरै आफू अनुकूलका नेतालाई जिम्मेवारी दिन खोजिरहेका छन् । यसअघि प्रचण्डले नेत्रविक्रम चन्द ‘विप्लव’ लाई महासचिव बनाएर ल्याउने चर्चा चलेपछि उपमहासचिवद्वय शर्मा र पुन एकैठाउँ उभिएका थिए । माओवादी पंक्तिमा उनीहरू दुवैको तल्लो तहसम्म गुट छ ।
माओवादीभित्र विशेष महाधिवेशनको दबाब बढिरहेको बेलामा प्रचण्डले जनयुद्धकालदेखि नै आफू निकट भएर काम गरेका पुनको साथ खोजेको बताइन्छ । तर, फागुन १ गतेबाट संगठन सुदृढ गर्ने अभियान चलाएर त्यसपछिको ६ महिना महाधिवेशन केन्द्रित अभियान चलाउने निर्णय गरेको छ ।
आगामी महाधिवेशनबाट प्रचण्डसहित सबै नेतृत्व निर्वाचन प्रणालीबाटै आउनुपर्ने दबाब पार्टीभित्रबाटै बढेपछि आफूनिकटका नेताहरूलाई पार्टीमा सक्रिय बनाउन खोजेको बताइन्छ ।

Leave a Reply