पोखरा । कास्कीकी रमा राय थापा आमाको नामबाट नागरिकता पाउन लामो समयदेखि अड्डा अदालत धाइरहेकी छन् । पोखरा उच्च अदालतले ‘आमाको नामबाट नागरिकता दिनू’ भनेर दुई पटक परमादेश दिए पनि रमालाई वडा कार्यालयले सिफारिस नै गर्न मानिरहेको छैन । ‘प्रक्रिया पुगेन’ भनेर वडा कार्यालयले उनलाई अड्काइरहेको छ ।
एसएलसीमा तनहुँ जिल्लाको महिलातर्फबाट जिल्ला प्रथम भएकी रमा प्लस टुमा कलेज टपर हुन् । निजी कम्पनीमा जागिर गरिरहेकी उनले नागरिकताकै कारण अनेक झमेला सहनुपरेको छ । तलब थाप्न आमाको बैंक अकाउन्ट प्रयोग गर्नुपर्ने बाध्यता छ ।
अहिले भने नागरिकता नबनाई काठमाडौं नफर्कने निधो गरेर पोखरा पुगेकी रमाले जागिर पनि छाडिसकेकी छन् । आमाको नामबाट नागरिकता पाउन कानूनी लडाइँ लडिरहेकी रमाले नेपालप्रेसलाई आफूले झेलेको दुःख र झमेलाको फेहरिस्त सुनाएकी छन्-
मेरो नाम रमा राय थापा । म जागिरको सिलसिलामा काठमाडौं बस्थेँ । म त पढ्ने मान्छे, काम गरेर खाने मान्छे । भाइ र मैले नै घरको आर्थिक व्यवस्थापन गरिरहेका थियौं, तर नागरिकता नहुनाले गएको चैतदेखि मैले जागिर छाडेँ । नागरिकताको लागि अहिले घरमै छु ।

एउटा नागरिकता नहुनुले मैले औधी दुःख पाइरहेकी छु । मेरो पढाइ राम्रै छ । म प्लस २ मा कलेज टपर थिएँ । एसएलसीमा महिलातर्फको जिल्ला प्रथम हुँ, तर नागरिकता नभएकैले मैले आफूले चाहेको विषय पढ्न पाइनँ ।
नागरिकता नहुँदा मैले एजुकेसन पढेँ । मेरो भाइसँग पनि नागरिकता छैन । ऊ अहिले ब्याचलर गरेर बसेको छ । बैंक अकाउन्ट त परको कुरा, हामीले आफ्नो नामको सिमकार्डसमेत किन्न पाउँदैनौं । बाँकी काम त कसरी गर्नु र ! जागिर गर्दा पनि मैले आमाको बैंक अकाउन्ट दिएकी थिएँ अफिसलाई ।
अब एउटा नागरिकताको लागि मैले के के गरुँ ? अझै कति धेरै दुःख पाउनु ? नागरिकता बनाउन अड्डा अदालत धाउँदैमा मेरो धेरै समय बितिसकेको छ । यो समय मैले पढाइ र जागिरमा लगाउन पाएको भए कति धेरै गर्थें जस्तो लाग्छ ।
मैले नागरिकता पाउन के के मात्र गरिनँ होला, तर नागरिकता प्राप्त गर्नै सकिनँ । मेरी ममीको नागरिकता पोखरा नगरपालिका– ३३ को छ, तर २०५३ सालमा मेरी ममीको परिवार वडा नम्बर ३२ मा बसाइँ सर्नुभएको थियो ।
त्यसवेला कामको सिलसिलामा मेरी ममी र उहाँका तीन दिदीबहिनी पोखराबाट तनहुँको दमौलीमा पुग्नुभयो । दमौलीमा उहाँहरुको सानो पसल थियो । त्यही क्रममा उहाँको भेट बाबासँग भयो । ममीले भन्नुभएअनुसार बाबाले त्यहाँको स्कुलमा पढाउनुहुन्थ्यो रे ! ममी र बाबाको तनहुँमै विवाह भयो ।
त्यसपछि म र भाइ जन्मियौं । म २०५४ र भाइ २०५६ सालमा जन्मियौं । बाबा हामीसँगै हुनुभए पनि उहाँले कहिले पनि स्थायी घर यहाँ हो ममीलाई भन्नुभएन रे ! ममीलाई बाबाले आफ्नो घर पनि लैजानुभएन रे ! स्कुलमा उहाँको नामबाहेक केही थिएन, शैवल राय राजीव ।
म र भाइलाई चाहिँ बाबाले पढाउने स्कुलमै भर्ना गराइयो । बाबाको नामअनुसार भर्ना भयौं । थरमा राय राख्यौं, तर २०६० सालपछि बाबा अचानक काठमाडौंतिर जान्छु भनेर जानुभयो रे ! यसपछि धेरै समयसम्म हामीसँग सम्पर्कमा आउनुभएन ।
(इलाका प्रशासन कार्यालय लेखनाथले जिल्ला प्रशासन कास्कीसँग मागेको कानूनी परामर्श)

ममीले आफैं दुःख गरेर म र भाइलाई पढाउनुभयो । सुरुमै हामीले राय थर राखेका थियौं । पछि त्यही थर रहन गयो । डकुमेन्टमा पनि बाबाको नाम छ । मेरो नाम रमा राय र भाइको रवि राय नै भन्ने छ । ममीको नागरिकतामा नाम रुकमिनी थापा छ ।
मेरो पनि नागरिकता बनाउने उमेर पुग्यो । छरछिमेकको सल्लाहअनुसार जन्मदर्ता यही गराउनुुपर्छ भनेर दमौलीमा दर्ता गराएँ । ममी जन्मदर्ता बनाउन ब्यास नगरपालिका जानुभयो । ममीको नागरिकताका आधारमा उहाँले जन्मदर्ता पनि बनाइदिनु भयो । जन्मदर्ता २०७१ सालमा बनाएको छ । डकुमेन्टमा बाबाको नाम खुलिसकेकाले बुबाकै नाम राख्दिनुभएको छ । अनि जन्मदर्ता लिएर नागरिकताको सिफारिसका लागि जाँदा आमाको नागरिकता कास्कीको छ, यहाँबाट मिल्दैन कास्की नै जानुस् भनेर हामीलाई त्यहाँबाट पठाइदिनु भयो ।
हामी पोखरा महानगरपालिका–३२ मा गयौं । वडा कार्यालयबाट नागरिकताका लागि अनुसूची फारम लग्यौं । इलाका प्रशासन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा पुग्यौं । त्यहाँ पुग्दा ‘आमाको नामबाट नागरिकता दिने नियम कानून छैन अहिले, नियम कानून बनेपछि आउनुस्’ भनेर हामीलाई पठाइदिनु भयो । यो २०७६ सालको कुरा हो ।
सरकारी कार्यालयले दुईदुई पटक फर्काएपछि नियम आउँछ भनेर फर्कियौं । धेरै समय केही नभएपछि आफन्तको सल्लाहअनुसार कानूनी रुपमा जाने निर्णय ग¥यौं । २०८० बैशाखमा उच्च अदालत पोखरामा आमाको नामबाट नागरिकता पाउँ भनेर जिल्ला प्रशासन कार्यालय कास्कीलाई विपक्षी बनाई मुद्दा दर्ता ग¥यौं । सो वर्षको असारमा हाम्रो मागबमोजिम ‘प्रक्रिया पु¥याई नागरिकता उपलब्ध गराइदिनू’ भनेर परमादेश जारी भयो ।
अदालतको आदेशपछि फेरि म वडा नम्बर ३२ गएँ । त्यहाँ पुग्दा बुझ्नुपर्छ भनेर उहाँहरुले आलटाल गर्नुभयो । हाम्रो निवेदन पनि बुझ्नुभएन । म फेरि दोस्रो पटक मुद्दामा गएँ । २०८० कै भदौमा हामीले फेरि मुद्दा हाल्यौं । दोस्रो पटक चाहिँ हामीले वडा कार्यालय, वडाध्यक्ष, इलाका प्रशासन कार्यालय र जिल्ला प्रशासन कार्यालय सबैलाई विपक्षी बनाएर मुद्दा हालेका थियौं । त्यो पटक पनि हाम्रो मागबमोजिम आमाको नामबाट नागरिकता दिनू भनेर परमादेश जारी भयो । माघमा आएको फैसलाको चैतमा पूर्णपाठ सार्वजनिक भयो ।

पूर्णपाठ आइसकेपछि फेरि निवेदन लिएर वडामा गएँ । यसपालि पनि वडाध्यक्ष अक्कलबहादुर कार्कीले बुझ्नुपर्छ भनेर आलटाल गर्नुभयो । बैशाखमा उहाँले ‘कानूनविद्बाट एउटा मुचुल्का लेख्नुपर्ने हुन्छ, त्यो आदेशको आधारमा, त्यसको आधारमा अनुसूची सिफारिस दिन्छौं’ भन्नुभयो । सोहीअनुसार कानूनविद्बाट मुचुल्का लेखेर गयौं । यो लेखेर गएपछि उहाँले गत बैशाखमा अनुसूची सिफारिस गरिदिनुभयो ।
‘वडा कार्यालयले डकुमेन्टमा जे छ, त्यही नै हामीले सिफारिस गरिदिने हो’ भनेर भन्यो । सिफारिस लिएर हामी इलाका प्रशासनमा गयौं । इलाका प्रशासनले भाइको पनि जन्मदर्ता चाहिन्छ भनेपछि हामी फेरि वडामा गयौं । भाइको जन्म पोखरा गण्डकी अस्पतालमा भएको नाताले हामी ३२ नम्बर वडामा गयौं ।
त्यहाँ जाँदाखेरि मेरो जन्मदर्ताबारे पनि बुझ्नुपर्छ भनेर तनहुँ व्यासमा बुझ्नुभयो । त्यहाँ केही रेकर्ड भेटिएन । इलाका प्रशासन कार्यालयलाई एउटा मुचुल्का बनाइदिनु भनेर एउटा पत्र पनि वडा कार्यालयले काट्यो । मुचुल्का पनि बन्यो । हस्ताक्षर पनि गर्नुभयो ।

वडाध्यक्षको रोहवरमा भएको पत्र जब हामीले त्यहाँ लगेर गयौं, उहाँ (अक्कलबहादुर कार्की) ले हस्ताक्षर नै गर्नुभएन । पहिला उहाँले नै त्यत्रो प्रोसेस गर्नुभयो । अन्तिममा भन्नुभयो, ‘यत्तिकै गर्न मिल्दैन, बुझ्नुपर्छ ।’
त्यो डकुमेन्ट आज पनि त्यत्तिकै छ । त्यो प्रक्रिया अघि बढेन । भाइको जन्मदर्ता बनेन । इलाका प्रशासन कार्यालयले फेरि मुचुल्का उठाउनुपर्छ भन्यो । ‘केही कागजात छ कि’ भनेर तनहुँ, कास्कीमा विभिन्न निकायमा पत्र पठाउनुभयो । त्यहाँबाट पनि मुचुल्का बनेर आयो । त्यहाँ बाबाको नामबाहेक अरु केही भेटिएन ।
वडा नम्बर ३२ का अध्यक्ष अक्कलबहादुर कार्कीले भन्नुभयो, ‘आमाको बसाइसराइ दर्ता २०७६ सालमा भएको छ, तर दर्ता कागजमा छोराछोरीको नाम छैन ।’
तर ममी २०५३ सालदेखि नै वडा नम्बर ३२ मा सर्नुुभएको हो, बसाइसराइको कागजमात्रै २०७६ सालमा बनाउनुभएको हो ।
हामीले हाम्रोतर्फबाट साँचो जे हो, त्यही विवरण पेश गरेका हौं, तर इलाका प्रशासनले पत्र दिँदै भन्यो, ‘विभिन्न तीन नियममा हामीले नागरिकता दिने हो । बुबाआमा नेपाली भएमा वंशजको आधारमा । अर्को अंगीकृत र अर्को चाहिँ नेपाली आमाबाट जन्म भएको र बुवा पहिचान नभएको खण्डमा ।’
बुवा नेपाली हो कि विदेशी भनेर हामीसँग कागजात थिएन, त्यसैले पहिलो बुँदाअनुसार नागरिकता लिन मिलेन । दोस्रो अंगीकृतका लागि बुवाको राष्ट्रियताको पहिचान भएको कागजात थिएन । तेस्रो बुँदामा हामीलाई बुवाको नाममात्रै थाहा भएको हो । त्यसैले तेस्रो नियमअनुसार नागरिकता उपलब्ध गराइदिनुस् भनेर हामीले निवेदन इलाका प्रशासनमा बुझायौं ।
हाम्रो निवेदनलाई इलाका प्रशासनले जिल्लामार्फत सरकारी वकिलको कार्यालयमा बुझ्न पठायो । सरकारी वकिल कार्यालयले भन्यो, ‘सर्टिफिकेटमा बुवाको नाम उल्लेख भए पनि बुवा २०६० सालबाट बेपत्ता भएको कारण आमाको नामबाट नागरिकता दिन कुनै बाधा पुग्ने देखिँदैन ।’

त्यो पत्र अहिले पनि हामीसँगै छ । इलाका प्रशासन कार्यालयले ७ दिने सूचना पनि टाँस गर्दै भन्यो, ‘विरोध गर्ने केही आधार छ भने प्रमाण लिएर आउनुस् ।’
त्यहाँ कसैको पनि विरोध आएन । विरोध नआएपछि इलाका प्रशासन कार्यालयले पत्र लेखेर भन्यो, ‘आमाको नामथरबाट अगाडि बढ्ने हो भने थप कागजपत्र चाहिन्छ ।’
थप कागजपत्र भनेको चाहिँ आमाको नामथर कायम गरेको सिफारिस, भाइको जन्मदर्ता, आमासँग नाता प्रमाणित र बाबु पहिचान नभएको भन्ने रहेछ । यो सबै कागजपत्र हामीलाई स्थानीय तहले दिने रहेछ ।
हामी फेरि निवेदन लिएर ३२ नम्बर वडा कार्यालय गयौं । त्यहाँ जाँदा मेरो निवेदनसमेत दर्ता गर्न मानेनन् । त्यहाँबाट आएर हुलाकबाट वडा कार्यालयलाई निवेदन पठायौं । गत असोज २३ मा नै पठाएको निवेदनमा वडा कार्यालयले केही प्रक्रिया अगाडि बढाइदिएन । त्यसबिचमा पनि हामी कति पटक वडा कार्यालय गयौं, तर उहाँहरुको व्यवहार उस्तै भयो ।
हामीले भनेका छौं, ‘दिन मिल्दैन भने यो यो कारणले दिन मिल्दैन भनेर लेखेर दिनुस् । हामी जान परे अदालतमै जान्छौं ।’
यसो भन्दा पनि उहाँहरुले ‘लेखेर दिन्नौं, कानूनी सल्लाहकारसँग सल्लाह गर्नुपर्छ’ भन्नुहुन्छ । यसपछि हामी सीडीओ कार्यालयमा गयौं । सीडीओ साबले एक पटक मिटिङ पनि राख्दिनुभयो । वडाध्यक्षज्यूले भन्नुभयो, ‘ठीक छ, वकिलसँग सल्लाह गरेर प्रोसेस अगाडि बढाइदिन्छु ।’
त्यसको ३-४ दिनपछि वडा कार्यालय गएँ । उहाँले भन्नुभयो, ‘फेरि मुचुल्का गर्नुपर्छ ।’ अनि इलाका प्रहरी कार्यालयमा तेस्रो पटक मुचुल्काका लागि पठाउनुभयो ।
त्यसपछि कुनै प्रक्रिया अगाडि बढेको छैन । हामी धेरै पटक वडामा गइसक्यौं । उहाँहरु भन्नुहुन्छ, ‘तपाईंहरु यहाँको बासिन्दा होइन ।’

के गर्ने, कसो गर्ने, सोच्न सकेकी छैन मैले । एउटा नागरिकता नहुनुले मैले हदसम्मको दुःख पाइसकेकी छु । नागरिकता पाउन पाए पनि त हुने ! मलाई त वडा कार्यालयले नेपाली नागरिक नै होइन जसरी व्यवहार गरिरहेको छ । अब म कहाँ जाउँ ? मेरो समाज खोज्न कहाँ जाउँ ? मेरो देश खोज्न कुन ग्रहमा जाउँ ?
नागरिकताका लागि कि बाउको नागरिकता ल्याऊ कि त मृत्यु दर्ता ल्याऊ : वडाध्यक्ष अक्कल कार्की
उनीहरुको बाबा भारत पटनाको बंगाली राय रहेछन् । तनहुँ दमौली बसेका थिए । रमाको २०७१ सालमा दमौलीबाट जन्म दर्ता भएको रैछ ।

उनीहरुले नागरिकता पाउन कि बाबाको मृत्यु दर्ता कि त नागरिकता चाहियो भनेका छौं । पढेलेखेका व्यक्तिलाई अनपढ भन्न सकिएन । स्कुलका सबै डकुमेन्टमा राय नै छ । रायलाई थापा बनाउन सकिने कुरा भएन ।
आमाको नामबाट धेरैलाई नागरिकता दिएका छौं । अदालतले दिनु भन्नुपर्दैन, तर उहाँहरुको केसमा फरक छ । जन्म दर्तादेखि सबै डकुमेन्टमा बुबाको नाम छ । जन्म दर्ता पनि दमौलीको छ । आमामात्रै बसाइ सरेर आएको देखिन्छ । बच्चाहरुको बसाइसराइको केही कागज छैन । आधिकारिक केही छैन । वडा नम्बर ३२ को मेल खाने कुनै आधार छैन ।

Leave a Reply