प्रचण्ड रणनीति- ‘विपक्षी मोर्चा’ मार्फत सरकारलाई पेल्ने, कांग्रेसभित्र खेल्ने

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारमाथि सदनदेखि सडकसम्म घेराबन्दी गर्ने रणनीतिका साथ विपक्षी दललाई एकै ठाउँमा उभ्याएका छन् ।

चार दलीय समाजवादी मोर्चा ब्यूँताएका प्रचण्डले अहिले ७ दलका ‘८० सांसदको समर्थन’ देखाएर दबाब बढाउन खोजेको चर्चा हुन थालेको छ । विपक्षी नेताहरूलाई सँगै राखेर उनले प्रधानमन्त्री ओलीको राजीनामा समेत मागेका थिए ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘सरकार ठीक उल्टो गतिविधि गरिसकेपछि नैतिकरूपले सरकारमा बसिराख्ने आधार गुमाएको छ । नैतिकताको आधारमा भन्ने हो भने प्रधानमन्त्रीले राजीनामा दिनु नै उचित हुन्छ ।’

मंगलबार भरतपुर विमानस्थलमा कांग्रेसका नेताद्वय डा. शशांक कोइराला र चन्द्र भण्डारीसँगको जम्काभेटपछि दुईजनाको बीचमा बसेर ओली सरकारको आयु लामो नभएको उनले दोहोर्‍याए ।

‘हाम्रो प्राथमिकतामा सरकार छैन । मैले धेरैचोटि भनेको छु । हामी जनतासँगको सम्बन्ध विस्तारमा केन्द्रित छौं । तर, यो सरकार धेरै जान्छ भन्ने हामीलाई लाग्दैन । यो प्रष्ट भन्दै आएको छु, प्राकृतिक छैन, स्वाभाविक छैन, पारदर्शी पनि छैन’, उनको भनाइ थियो ।

उनले ओली सरकारले उल्टाउल्टा काम गर्दै गएको टिप्पणी पनि गरेका थिए ।

‘यो सरकार ०८४ सम्म गइदिए हुन्थ्यो । जाँदैन भन्ने पो चिन्ता छ हामीलाई । गएन भने कांग्रेस त पार्टनर छँदैछ हाम्रो,’ प्रचण्डले भनेका थिए ।

प्रचण्डको यो अभिव्यक्तिपछि कांग्रेस नेता कोइरालाले भने तत्काल सरकार परिवर्तन हुने सम्भावना नरहेको बताएका छन् । तर, राजनीतिमा जे पनि हुनसक्ने उनको तर्क थियो ।

शशांकको भनाइ थियो, ‘ठूलो दल मिलेर स्थिर सरकार दिनुपर्छ भन्ने चाहना छ । तत्काल तलमाथि हुने सम्भावना कमै छ । नहुने होइन, राजनीतिमा जे पनि हुन्छ, तर हामी स्थिर सरकारको पक्षमा छौं । अहिले संविधान परिवर्तनको कुरा आएको छ, के बुँदामा हो स्पष्ट हुनुपर्छ भन्ने कुरा हो ।’

ओली सरकार ढाल्न प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री मान्न तयार देखिन्छन् । तर, देउवाले अहिलेसम्म उनलाई कुनै सकारात्मक स‌‌केत गरेका छैनन् ।

ठूलो दलको हैसियतमा देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति अन्तिमसम्म तयार भएपनि दबाबमा ओलीलाई नियुक्त गर्न बाध्य पारिएको दाहालले केही दिनअघि टिप्पणी गरेका थिए ।

माओवादी नेता भन्छन्- सरकार ढाल्ने खेलमा छैनौं

माओवादी केन्द्रका सचिव दिनानाथ शर्मा आफूहरूको ध्यान सरकार ढाल्नेतिर नभएको बताउँछन् ।

उनले भने, ‘अध्यक्षले हामीले पहल गरेर यो सरकार ढल्ने होइन । उनीहरूबीच नै आन्तरिक किचलोको कारणले धेरै टिक्ने अवस्था छैन भन्नुभएको हो । त्यसैले हाम्रो ध्यान अहिले सरकारतिर ध्यान दिएका छैनौं ।’

माओवादीका नेताहरू पछिल्लो समय कांग्रेसका नेताहरूसँग संवादमा छन् भन्ने चर्चा सुनिन्छ नि भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले भने, ‘हामीले अहिले सरकार बनाउने/ढलाउने कुनै खेल गरेका छैनौं । यो विषयमा कुराकानी भएको छैन ।’

कांग्रेसका नेताहरू अहिले सरकार परिवर्तन गर्ने एजेण्डा लिएर अहिलेसम्म छलफलमा नआएको उनले सुनाए ।

अर्का सचिव लीलामणि पोखरेलले पनि सरकार परिवर्तन गर्ने विषयमा कुनै छलफल नभएको बताउँछन् ।

उनले भने, ‘यो सरकारको आयु आफ्नै कारणले छोट्टिरहेको छ भन्ने आशयले अध्यक्षले बोलेका हुन् । हामीले कुनै पहल गरेका होइन । हामी अहिले सरकारको खेलमा लागेका छैनौं ।’

उनले समाजवादी मोर्चा र विपक्षी दलको मोर्चाबन्दी सरकार परिवर्तनको लागि नभएको जिकिर गरे ।

नेकपा एकीकृत समाजवादीका सचिव सोम पाण्डेले पनि आफूहरूले बनाएको मोर्चा सरकार परिवर्तनको लागि नभएको दाबी गरे ।

उनले भने, ‘हामी बनाएको मोर्चा सरकार परिवर्तनको लागि होइन । त्यस्तो कुनै योजना बनाएका छैनौं । अहिले विपक्षीहरूको आवाज बलियो बनाउनको लागि एकैठाउँमा उभिएका हौं ।’

के प्रचण्डले कांग्रेसभित्र खेल्दैछन् ?

कांग्रेसका संस्थापन पक्षभित्रकै नेता पनि अहिले ओली सरकारविरुद्ध चर्को सुनिन्छन् । इतर पक्षका नेतृत्व गरिरहेका डा. शेखर कोइराला त ओली सरकारसँग पूर्ण रुपमा रुष्ट छन् । विराटनगर पुगेर कोइरालाले यो सरकार नढल्ने दाबी गरे । तर, सरकारले लक्ष्य अनुसारको काम गर्न नसकेको भन्दै खरो आलोचना गरे ।

उनले भने, ‘६ महिनाको यो अवधिमा धेरै काम भएन। जसरी सरकार अघि बढ्नुपर्ने थियो, त्यसरी बढ्न सकेको छैन । हामी डेमोक्रेटिक सिस्टममा छौं, डेमोक्रेटिक सिस्टममा संयन्त्रले देश चलाउने होइन । प्रधानमन्त्रीले संयन्त्रले देश चलाउन खोज्दै हुनुहुन्छ, यो गलत हो ।’

सरकारले ल्याएको अध्यादेशको विषयमा समेत नेता कोइरालाले असन्तुष्टि व्यक्त गरे ।

उनले भने, ‘माघ १८ गते संसद बोलाइएको छ । संसद खोलेर ल्याउँदा हुने थियो नि ! ६ महिनामा केही भएर सातदिन दश दिनमा के पल्टिहाल्छ ? पहिले संसद बोलाएको भए हुन्थ्यो नि !’

उनले अध्यादेशको विषयमा मात्रै नभइ उपसभामुख इन्दिरा राणा र कुलमान घिसिङलाई हटाउने सरकारको प्रयास, दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने खोजेको प्रति पनि बाधक बने ।

तर, कांग्रेस सांसद रामहरि खतिवडा कांग्रेस अहिलेको गठबन्धन परिवर्तनको पक्षमा आफूहरू नरहेको प्रष्ट्याउँछन् ।

उनले भने, ‘कांग्रेस र एमालेमा मिलेपछि उहाँ प्रतिपक्षमा पुग्नुभएको छ । उहाँले कार्यकर्तालाई उत्साहित पनि बनाइराख्नुपर्छ । त्यसैले उहाँले बोल्नुभएको छ । तर, कांग्रेसले हिजो प्रचण्डसँग भएको सहमतिमा इमान्दार भयो । अहिले पनि हामी गठबन्धनप्रति इमान्दार छौं । एमालेलाई धोखा दिँदैनौं ।’

उनले कांग्रेस र माओवादीबीच चर्को तिक्तता नहुनुलाई अर्को समीकरण बनिहाल्छ भन्ने बुझ्न नहुने उनको तर्क छ ।

उनी थप्छन्, ‘प्रचण्डजीसँग हामी हिजो पाँच बर्ष गठबन्धन गरेर सँगै चुनाव लडेका आएका हौं । त्यसैले उहाँ कांग्रेसप्रति सधैँ नरम हुनुहुन्छ । कांग्रेस सबैसँग नरम नै छ । कसैसँग तिक्तता गरेर अघि बढ्दैन । तिक्तता नगर्नु भनेको फेरि उसैसँग गएर मिलिहाल्ने भन्ने होइन । तर, हामी गठबन्धन गर्ने पक्षमा छैनौं ।’

विपक्षीमा ८० सांसदलाई एकैठाउँमा ल्याउन सफल भएका प्रचण्डले पछिल्लो समय कांग्रेसभित्र पनि खेलिराखेको राजनीतिक विश्लेषक पुरञ्जन आचार्यको बुझाइ छ ।

उनले भने, ‘यो अध्यादेश ल्याएको, संसद ढिला बोलाएको लगायतको विषयमा धेरै असन्तुष्टि छ । आजै पनि कांग्रेस नेता शेखर कोइरालाले सरकारको आलोचना गरेको सुनेको थिए । एमालेभित्र पनि असन्तुष्टि चुलिँदैछ । त्यसैले एमाले नेतृत्वको सरकार लामो समय जाँदैन भन्ने देखिएको छ । ’

उनले माओवादी, रास्वपा, मधेश केन्द्रित दलहरूको समर्थनमा कांग्रेसको जोकोहीलाई प्रधानमन्त्रीको रूपमा अगाडि सार्ने अभियान निकै अगाडि बढिसकेको पनि दाबी गरे ।

आचार्यले थपे, ‘अब बन्ने प्रधानमन्त्री कांग्रेसको हो । कांग्रेसले देउवा नै सार्छ कि के गर्छ भन्न सकिँदैन । तर, माओवादी, रास्वपा, मधेश केन्द्रित अहिलेको विपक्षी मोर्चाबाट कांग्रेसको जोकोहीलाई प्रधानमन्त्रीको रूपमा अगाडि सार्ने अभियान निकै अगाडि बढिसकेको बुझिएको छ ।’

प्रचण्डले सरकार ढल्दैछ भन्नु स्वाभाविक भएको भन्दै उनले भूराजनीतिक चलखेललाई ईँगित गरेका छन् ।

प्रचण्डले डाकेको विपक्षी दलको बैठक ।

उनले भने, ‘नेपालको राजनीतिमा सरकार ढल्दैन भनेर कहिलेपनि आश्वस्त हुन सकिँदैन । त्यही सन्दर्भमा उहाँले पनि भन्नुभएको होला । हामीले हेर्दा पनि कांग्रेसभित्र भएको असन्तुष्टि र सरकारमा देखिएको अन्योलताको कारणले पनि यो सरकारको आयु लामो नभएजस्तो देखिएको छ । यो कुरा सरकारकै मान्छेहरूले पनि भन्न थालेका छन् ।’

सरकारसँग जनताको चर्को असन्तुष्टि रहेको दाबी गर्दै अन्तराष्ट्रिय समुदायले पनि ओली सरकारलाई महत्व नदिएको जिकिर गरे ।

‘कांग्रेसप्रति प्रचण्डजी सधैँ नरम नै हो । तर, यो सरकार ढाल्नमा कांग्रेस निर्णायक हो । त्यसैले कांग्रेस तयार छ कि छैन भन्नेमा निर्भर रहन्छ’, आचार्यले भने, ‘अहिलेको सिनारियो हेर्दा जनता पनि सरकारसँग रुष्ट छन्, अन्तराष्ट्रिय समुदायले पनि खासै महत्व दिएको छैन । त्यसैले यो सरकार ढल्दैछ भन्ने देखिएको छ । आजभोलि नै नहोला तर यो सरकार ढल्ने वातावरण बन्दै भएको देखिन्छ ।’

यता एमालेका महासचिव शंकर पोखरेलले पनि नेपालका साना राजनीतिक दलहरु भू-राजनीतिक द्वन्द्वको खेल लागेको दाबी गरेका छन् ।

‘अहिले एमाले र त्यसको नेतृत्वका विरुद्धको घेराबन्दी बलियो राष्ट्रिय शक्ति बन्न नदिने भू-राजनीतिक द्वन्द्वको खेल हो’, पोखरेलको भनाइ छ, ‘नेपालका साना राजनीतिक दलहरू या त आफ्नो राजनीतिक कुण्ठाबाट ग्रस्त भएर उनीहरूका सहयोगी बन्न पुगेका छन् या त निराशा र कुण्ठाग्रस्त मनस्थितिमा सामाजिक अराजकताको वाहक बनिरहेका छन् र एमालेको नेतृत्वमाथि हमला गर्दैछन् ।’

प्रचण्डले कहिले कांग्रेस, कहिले एमालेलाई घुर्क्याएर र सरकारमा टिकिरहने नीति लिएर ३२ सीटलाई म्याजिक नम्बर भन्नु नै अस्थिरताको कारक भएको उनको टिप्पणी छ ।

उनले थपेका छन्, ‘यही प्रवृत्ति नै हो नेपाली राजनीतिको अस्थिरताको कारक, यसलाई मलजल गर्ने कुरामा कहीँ न कहीँ कांग्रेस, एमालेका नेताहरू पनि जिम्मेवार छन्, जुनकुरा यतिबेला आएर उनीहरूले महसुस गरेका छन् ।’

Comments

2 responses to “प्रचण्ड रणनीति- ‘विपक्षी मोर्चा’ मार्फत सरकारलाई पेल्ने, कांग्रेसभित्र खेल्ने”

  1. Nepali kanxo Avatar
    Nepali kanxo

    Prachanda vanne manxe vanekai faida ko lagi j pani garni manxe ho.

    1. ksp pyl Avatar
      ksp pyl

      यस्ता चटकेको पछि लाग्ने या त मूर्ख हुन् या त देला र खाउँला भन्ने लोभी पापी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *