काठमाडौं । नेपालमा उत्पादन भएको सिमेन्ट नेपालमा भन्दा भारतमा प्रतिबोरा ३ सय सस्तोमा निर्यात हुने गरेको विषय उठेकाे छ । बुधवार सार्वजनिक लेखा समितिमा नेपालमा उत्पादन भएको सिमेन्ट नेपाली बजारमा ८ सय रुपैयाँमा बिक्री भएको र भारतमा भने ५ सय रुपैयाँ बोरा निर्यात भएको कुरा उठेको हाे ।
नेपालमा नै उत्पादन भएको सिमेन्ट भारतमा भन्दा नेपालमा किन महँगो मूल्य कायम भएको भन्दै समितिमा आवाज उठाइएकाे थियाे ।
सार्वजनिक लेखा समितिमा आज सिमेन्ट उत्पादक संघ, नेपाल निर्माण व्यवसयी महासंघ र उद्योग मन्त्री दामोदर भण्डारीलाई बजारमा भएको सिमेन्टको मूल्य वृद्धिको विषयमा छलफलका लागि बोलाइएको थियो ।
समितिमा संसद् राजन केसीले नेपाली उद्योगले सिन्डिकेट गर्ने हो भने सिमेन्ट आयात खुल्ला गर्नु पर्ने बताए ।
उनले भने, ‘सिमेन्ट उद्योगीहरुले होङ्सी सिमेन्टसँग मिलेर बजारमा कार्टेलिङ गरेका छन् । हामीले २ वटा पहाड फुटाएर सिमेन्ट उत्पादन गरेर विश्व बजारमा बिक्री गर्न सकिन्छ । तर, उत्पादकले आफू खुसी सिमेन्टको मूल्य वृद्धि गरिरहेका छन् । यस्तो हो भने सरकारलाई भनेर सिमेन्ट आयात खुल्ला खुल्ला गर्नु पर्छ ।’
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले नेपालमा उत्पादन भएको सिमेन्ट भारतमा ५ सय रुपैयाँमा निर्यात भइरहेको तर, नेपालमा भने त्यही सिमेन्ट प्रतिबोरा ८ सय रुपैयाँमा विक्री भइरहेको छ ।
उनले समितिमा भने, ‘नेपालमा नै उत्पादन भएको सिमेन्ट निर्यात हुदा प्रतिबोरा ५ सय तर, नेपालमा भने त्यही सिमेन्टको मूल्य ८ सय पुगेको छ । विदेश निर्यात गर्ने मूल्यभन्दा नेपालीले प्रयोग गर्ने मूल्य अहिले प्रतिबोरा ३ सय महँगो छ । यो कसरी भयो ? मङ्सिर १८ गते उद्योग मन्त्रालय उद्योग मन्त्रीसँग भएको छलफलमा पनि प्रतिबोरा ५४० रुपैयाँमा दिन सहमति सिमेन्ट उद्योगीहरुले गरेका थिए । तर, मूल्य अहिले ८ सय प्रतिबोरामा कारोबार भइरहेको छ ।’
सिमेन्ट उत्पादन संघका अध्यक्ष रघुनन्दन मारुले नेपालमा अहिले २०/२२ मिलिएन टन वार्षिक सिमेन्ट उत्पादन रहेको बताए । ६० वटा सिमेन्ट उद्योगमा ४२ वटा मात्रै सिमेन्ट उद्योग सञ्चालनमा रहको जानकारी दिए ।
उनले भने, ‘आर्थिक मन्दीको कारणले ४२ वटा सिमेन्ट उद्योग मात्रै चलेको छ । क्षमताको ५० प्रतिशत मात्रै उद्योग सञ्चालन भएको छ । संघले सिमेन्टको मूल्य तोक्दैनौँ । बर्खाको समयमा सिमेन्टको माग कम हुन्छ । त्यस बेला उद्योगीले उत्पादनको लागतभन्दा कम मूल्यमा पनि विक्री गर्ने गरेका छौँ । माग धेरै भएको बेला मूल्य वृद्धि हुन्छ । अघोषित लोडसेडिङको कारणले उत्पादनको लागत वृद्धि भएर मूल्य वृद्धि भएको हो ।’
जेनरेटर चलाएर सिमेन्ट उत्पादन गर्दा प्रतिबोरा १६६ रुपैयाँ लागत वृद्धि हुन आउँछ । अहिले सिमेन्टको मूल्य वृद्धिभन्दा पनि मूल्य समायोजन भन्नू पर्छ । दैनिक रुपमा १२ घण्टा लोडसेडिङ रहेको मारुले बताए ।
सर्वोच्च सिमेन्ट सञ्चालन विष्णप्रसाद न्यौपानेले लोडसेडिङ र कच्चा पदार्थको मूल्य वृद्धिको कारणले सिमेन्टको मूल्य वृद्धि भएको समितिमा बताए । उनले भने, ‘अहिले १०५ रुपैयाँ मात्रै सिमेन्टको मूल्य वृद्धि भएको हो । सिमेन्ट उद्योगले १० प्रतिशत पनि नाफा कमाउन सक्दैनन् ।’
प्युठान सिमेन्टका सञ्चालक ताराप्रसाद पोख्रेलले सिमेन्ट उद्योगले २० प्रतिशत नाफा कमायो भनिरहेका बताए । उनले भने, ‘सरकारले हाम्रो उद्योगमा गएर अडिट रिपोर्ट हेर्न सक्छ । हामीलाई २० प्रतिशत नाफा चाहिँदैन १० प्रतिशत मात्रै दिए पनि हामी उद्योग सरकारलाई नै जिम्मा लगाउँछौँ ।’
सिमेन्ट उत्पादक संघका निवर्तमान अध्यक्ष धुब्र थापाले दिनदिनै मन्त्रीले बोलाएर सिमेन्टको मूल्य वृद्धि गरेको भनेर गाली गर्ने गरेको बताए । उद्योगीले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा उत्पादन लागत र बिक्री मूल्य दिएकाले त्यहाँ गएर हेर्न सकिने बताए ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग महानिर्देशक राजन पौडेलले सिमेन्टको मूल्यको विषयमा मन्त्रालयमा नै सिमेन्ट उद्योगी र निर्माण व्यवसायीसँग मूल्य वृद्धिको विषयमा ४ पटक छलफल भएको बताए ।
उनले भने, ‘उत्पादकले नै उत्पादन गरेको बस्तुको मूल्य तोक्न पाउने कानुनी अधिकार रहेको छ । उत्पादकले मूल्य तोकेपछि मूल्य ठिक छ कि छैन भनेर हामीले हेर्ने हो ।’
समितिका सदस्य अमरेशकुमार सिंहले सरकारले नै बिचौलिया काम गरिरहेको बताए । उनले भने, ‘२० प्रतिशतभन्दा धेरै नाफा लिन नपाउने कानु नै अध्यादेशबाट हट्यो । जनतालाई मारेर देश चलिरहेको छ ।
जसरी भए पनि कर उठाउने कुरा मात्रै छ । उद्योगीकै कुरा मान्ने हो भने पनि एकैपटक प्रतिबोरा १०० रुपैयाँभन्दा धेरै मूल्य वृद्धि हुँदैन । १०÷२० रुपैयाँ बढ्नु पर्ने थियो । ५ जना व्यापारीले प्रधानमन्त्रीलाई पैसा खुवाएर २० प्रतिशतभन्दा धेरै नाफा लिए कारबाही हुने व्यवस्था नै हटाए । यहीँ समितिबाट सिमेन्टको मूल्य निर्धारण गरौँ । सरकारको विश्वास नै छैन ।’
समितिका सदस्य राजन दाहाल सार्वजनिक लेखा समितिको नेतृत्व प्रतिपक्षलाई दिनु पर्ने बताए । के कारणले सिमेन्टको मूल्य बढ्यो भनेर जवाफ दिनु पर्ने उनले बताए ।
उनले भने, ‘३ करोडसम्मको कर छलिको मुद्दा नलाग्ने विषय कसरी अध्यादेशमा आयो ? सिमेन्टको मूल्य वृद्धि गर्नको लागि नै २० प्रतिशतभन्दा धेरै नाफा लिन नपाउने व्यवस्था अध्यादेशबाट हटाइयो ।’
संसद् हरि ढकालले समितिमा हेटौँडा र उदयपुर सरकारी सिमेन्ट उद्योगले किन मूल्य वृद्धि भन्दै उद्योग मन्त्रीसँग जवाफ माग गरेर ।
उनले भने, ‘निजी लगानीका सिमेन्ट उद्योगले सिन्डिकेट गरेर मूल्य बढाए भन्ने कुरा उठको छ । सरकारी सिमेन्ट उद्योगले किन मूल्य वृद्धि गरेको हो । उद्योग मन्त्रीले जवाफ दिनु पर्छ । नेपालमा उत्पादन भएको सिमेन्ट भारतमा ५ सय र नेपालमा कसरी ८ सय मूल्य तोकियो ।’ भारतमा ५ सय र नेपालमा ८ सय किन ?
संसद् जनार्दन शर्माले मूल्य वृद्धिलाई प्रोत्साहन हुने गरी अध्यादेश सरकारले अध्यादेश ल्याएको बताए । उनले भने, ‘कुन विषय कुन समितिमा छलफल गर्ने भन्ने कुराको पनि हामीले ख्याल गर्नु पर्छ मूल्यको विषयमा उपभोक्तासँग सम्बन्धित समितिले छलफल गर्छ ।’
संसद् योगेश भट्टराईले नेपाली कच्चा पदार्थ प्रयोग गरेर सिमेन्ट उत्पादन भएकाले मूल्य वृद्धि गर्दा विचार गर्नु पर्ने बताए ।
उनले समितिमा भने, ‘सिमेन्ट उद्योगले देशको ठूलो अर्थतन्त्रको हिस्सा बोकेको छ । विदेश निर्यात पनि भएको छ । निर्माणको सिजनमा नै सिमेन्टको मूल्य अत्याधुनिक वृद्धि हुनु भनेको नियतमा पनि केही खोट देखिन्छ । यो मूल्य वृद्धि स्विकार्न सकिँदैन । सिमेन्ट प्रतिबोरा ४५८ करिब ८ सय पुगेको छ । सरकारले समग्र मूल्य वृद्धि ५ प्रतिशत कायम गरेको छ । कोटा तोकेर उत्पादन कटौती गरेर मूल्य वृद्धि गर्नु हुँदैन । अहिले उद्योगमा आन्दोलन, हडताल वा कामदार ज्याला वृद्धि भएर मूल्य बढेको होइन । अनि कसरी मूल्य वृद्धि भयो ।’
कुनै पनि उद्योगले गलत गरेको छ भने सरकारले कारबाही गर्नु पर्ने उनले बताए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सिमेन्टको मूल्य वृद्धि भएको कुरा उठेपछि मन्त्रालय उत्पादकलाई बोलाएर ४ पटक छलफल गरेको बताए ।
उनले भने, ‘आज यो छलफल नभएको भए सिमेन्ट उत्पादक र निर्माण व्यवसायी राखेर नयाँ मूल्य निर्धारण हुने थियो । १५ प्रतिशत मूल्य समायोजन हुन सक्छ । असारमा निर्धारण भएको मूल्यमा केही थप गरेर नयाँ मूल्य निर्धारण हुन्छ । ४ सयको सिमेन्ट प्रतिबोरा ८ सय मूल्य पुगेको छैन । सरकारले सञ्चालन गरेको हेटौँडा सिमेन्ट प्रतिबोरा ६५० र उदयपुर सिमन्टप्रतिबोरा ७५० मूल्य रहेको छ । अझै पनि प्रतिबोरा १५० रुपैयाँ घाटामा रहेको छ । बजारमा सिमेन्टको अभाव र कार्टेलिङ छैन । केही मूल्य भने वृद्धि भएको हो । लोडसेडिङको कारणले उत्पादन केही समस्या परेको देखिन्छ ।’
समितिका सभापति ऋषिकेश पोखरेलले सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाइ निर्देशन दिए ।

Leave a Reply