वामदेव गौतम आलोकनगरबाट किन मोडिए च्यासल ? नेकपा एसका नेताले देखाए चार कारण

काठमाडौं । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग एकता गर्न ठिक्क परेका राष्ट्रिय एकता अभियानका संयोजक तथा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम सम्भवतः भोलि एमालेमा फर्किनेछन्।

आज ४ बजे एमाले सचिवालयको बैठक राखिएको छ । पार्टी मुख्यालय च्यासलमा बस्ने बैठकको एजेण्डामा गौतमलाई पार्टीमा भित्र्याउने र दिने जिम्मेवारी पनि रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतम बताउँछन् ।

यसअघि गौतमको प्रस्तावलाई बेवास्ता गर्दै आइरहेका ओलीले एकीकृत समाजवादीले भित्र्याउने तयारी गरेपछि तत्परता देखाएका हुन् ।

ओलीसँग संवाद हुनुअघि गौतम नेकपा एसका अध्यक्ष माधव नेपालसँग पटक पटक छलफल गरेर वार्ता समिति–समिति बनाएर एकताको तयारी गरेका थिए। नेकपा एसको कार्यालय आलोकनगरमै पुगेर नेकपा एसमा फर्किने निश्चित भएको बताएका थिए । यद्यपि, अन्तिम समयमा गौतम आलोकनगर छाडेर च्यासलतिर मोडिएका छन्।

नेता गौतमलाई भित्र्याउने तयारी अन्तिम समयमा किन भाँडियो ? हामीले एकीकृत समाजवादीका प्रचार विभाग उपप्रमुख दामोदर अर्याललाई सोध्यौँ।

उनले नेता गौतमको चरित्रकै कारणले नेकपा एसमा भित्र्याउने प्रयास विफल भएको बताए ।

उनले भने, ‘उहाँले २७ गते बैठक बसेर निर्णय गर्छौ भनेर जानुभएको थियो। माओवादी, एमाले र एकीकृत समाजवादीसँग पनि वार्ता गर्ने निर्णय गराउनुभएछ। त्यसैले उहाँमा कुनै विचार देखिएन। अहिले तीन कम्युनिष्ट पार्टीको कार्यनीति नै फरक छ। माओवादीले माओवाद भन्छ, एमालेले जनताको बहुदलीय जनवाद र नेकपा एसले समाजवादी कार्यदिशा भनेको छ। उहाँलाई जे भए पनि हुने देखियो।’

उनले नेता गौतममा अझै व्यक्तिवादी राजनीति, महत्वाकांक्षा रहेको टिप्पणी गरे ।

अर्यालले थपे, ‘हिजो एमाले हुँदा पनि नेकपाकालमा पनि कहिले कुन नेता उचाल्ने कहिले कसलाई उचाल्ने प्रवृत्ति थियो । उहाँको धमिलो पानीमा माछा मार्न खोज्ने कार्यशैली छ ।’

नेता गौतमलाई अध्यक्ष नेपालले १० औँ महाधिवेशनले पारित गरेका प्रस्तावहरूलाई नि:शर्त स्वीकार्दै सहकार्य गर्न प्रस्ताव राखेको उनले बताए । गौतमसँग भएका नेताहरूको विगतको कामको मूल्याङ्कन हेरेर जिम्मेवारी दिन अध्यक्ष नेपाल तयार भइसके पनि एकता विफल हुनुको चार कारण खुलाए ।

पहिलो, वामदेवजीसँग दुईतीन जनाबाहेक अहिले पूर्वएमालेका नेताहरू छैनन् । पहिले एमालेमा काम गरेका उहाँको श्रीमती र डिबी कार्की मात्रै हुनुहुन्छ। उहाँहरूबाहेक पूर्वएमालेमा काम गरेका कोही पनि हुनुहुन्न। अहिले उहाँले युट्युबरहरुलाई पछि लगाएर हिँड्नुभएको छ । उनी उहाँले ती सबै २६ जनालाई केन्द्रीय सदस्य बनाउनुपर्छ भनेर लिस्ट लिएर आउनुभएको थियो। तर, हाम्रो जग एमाले हो नि। एमालेमा कहिलेदेखि काम गरेको छ त्यसलाई मूल्याङ्कन गरेर जिम्मेवारी दिइरहेका छौँ। त्यो उहाँको प्रस्ताव हामीले मान्ने कुरा भएन ।

दोस्रो, उहाँले प्रत्यक्ष राष्ट्रपति वा प्रधानमन्त्री मानेर जानुपर्छ एकीकृत समाजवादीले भन्ने प्रस्ताव राख्नुभयो। त्यो हाम्रो पार्टीको अहिलेसम्म माग छैन । त्यो नेपालीहरूको मौलिक एजेन्डा होजस्तो हामीलाई लागेको नै छैन। त्यसले उहाँको त्यो प्रस्ताव मान्न सकिएन ।

तेस्रो, उहाँ जहिले पनि व्यक्तिवादी राजनीति गर्नुहुन्छ। उहाँले माधव नेपालबाहेक कसैलाई नेता नै मान्दिनँ भन्नुहुन्छ। सार्वजनिक रूपमै भन्नुभयो। हामी त सामूहिक नीति र जिम्मेवारीमा चल्छौँ। कमिटी मान्नुपर्‍यो नि व्यक्ति होइन ।

चौथो, उहाँले अर्को आफूलाई संगठन विभागको अडान राख्नुभयो । उहाँले देशैभरि संगठनमा उथलपुथल ल्याइदिन्छु भन्नुभयो । त्यस्तो क्षमता भए त्यही अभियानमा गर्न सकिहाल्नुहुन्थ्यो नि । उहाँले तेस्रो वरियतामा मान्नुभएको थियो मान्न चाहिँ ।

Comments

2 responses to “वामदेव गौतम आलोकनगरबाट किन मोडिए च्यासल ? नेकपा एसका नेताले देखाए चार कारण”

  1. shojhoketo Avatar

    एकिकृत समाजवादीले जानेछ – बामदेवलाई एमालेमा पठाइदिने हो भने उनको ब्यक्तिगत महत्वाकांक्षायुक्त हांक्क हुक्क खुराफात सहन गर्न नसकि उनी भन्दा जुनियरहरु धेरै जना एकिकृतमा जान सक्ने छन , यो जुक्ती एमालेले लगाएर उनलाई एकिकृतमा पठाइदिने हो भने त्यसैगरि त्यहांका होनाहार पुर्व एमाले क्याडरहरु पुरानै घर फर्किने धेरै सम्भावना छ ।

  2. Bhim koirala Avatar

    आया- गयाले खास अर्थ बाेक्छ जस्तो लाग्दैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *