झपट रावलले एमाले बैठकमा दर्ता गर्न नपाएका ४ बुँदा, वडाले बनाउने सिटीहल बीआरआईमा किन ?

काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावलको मातृभूमि जागरण अभियानलाई समर्थन गर्दै अछामका एक हजार सदस्य र समर्थकले मंगलबार वक्तव्य निकाले । यो लिस्टमा केन्द्रीय कमिटीभन्दा तलका सदस्यहरूको नाम समावेश छ ।

के एमाले केन्द्रीय कमिटीबाट भीम रावललाई समर्थन गर्ने एकजना पनि निस्किएनन् ? यो प्रश्न रावल पक्षधरले निकालेको वक्तव्यसँगै उब्जिएको छ । यद्यपि हालै सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकमा २ जना सदस्यले रावलमाथिको कारवाही फिर्ता लिन माग गरेका थिए ।

केन्द्रीय कमिटी बैठकमा झपट रावल र प्रकाश शाहले रावलमाथिको कारवाही फिर्ता नलिए सुदूरपश्चिममा एमालेलाई क्षति पुग्ने दाबी गरेका थिए । नभन्दै अछामबाट त्यसको संकेत देखिएको उनीहरूको बुझाइ छ ।

यद्यपि झपट रावलले समेत भीम रावलको अभियानमा जोडिने निर्णय भने गरेका छैनन् । उनले अझै पनि भीम रावललाई पार्टीमा फर्काएर जिम्मेवारी दिनुपर्ने मत भने कायमै राखेका छन् । जुन मत उनी गत केन्द्रीय कमिटी बैठकमा हस्ताक्षर अभियान चलाएर लिखितरूपमा दर्ता गराउन चाहन्थे ।

‘मैले केही केन्द्रीय सदस्य कमरेडहरूसँग सल्लाह पनि गरेको थिएँ । पार्टीको हितका लागि चार वटा विषय समेटेर सदस्यहरूको हस्ताक्षरसहित बैठकमा दर्ता गराउने प्रयास भइरहेको थियो । तर खाजा ब्रेकपछि अध्यक्ष कमरेडले जवाफ दिने भनेपछि त्यो दर्ता गर्न पाइएन’ रावलले नेपाल प्रेससँग भने ।

उनले सोही बैठकमा त्रिदेशीय रणनीतिक सडक मानिने सेती लोकमार्गलाई बीआरआईमा नराखेर डडेलधुराको सिटी हललाई राखिएकोमा प्रश्न समेत उठाएका थिए । वडाले गर्ने काम बीआरआई परियोजनामा पारिएकोमा उनको विरोध थियो । सुदूरपश्चिमको उराइ नाका जोड्ने सेती लोकमार्गलाई सरकारले बेवास्ता गर्न नहुने उनको तर्क छ ।

त्यसो भए एमाले बैठकमा झपट रावलले दर्ता गर्न नपाएका बुँदा के थिए त ? रावलले पार्टीमा लिखितरुपमा दर्ता गर्न चाहेका चार बुँदा थिए ।

१. भीम रावलसहितको कारवाही फिर्ता

२. मीनबहादुरलाई धन्यवाद दिएर जग्गा फिर्ता

३. पार्टीलाई सामाजिक अभियानमा जोड्ने

४. भ्रष्टाचारलगायत अभियोगमा मुछिएकालाई कारवाही

झपट रावलले एमाले बैठकमा केही विषय राखे पनि ३ मिनेटमात्र समय भएकाले पार्टीमा दस्तावेजीकरण होस् भनेर लिखितरूपमा दर्ता गराउन चाहेका थिए । उनले भीम रावललगायत विन्दा पाण्डे र उषाकिरण तिम्सिनासहितको कारवाही फिर्ता लिएर उनीहरूलाई पार्टी काममा लगाउनुपर्ने मत अहिले पनि कायमै रहेको बताएका छन् ।

त्यस्तै अदालती फैसलाको फेरो समातेर विवादित जग्गामा पार्टी भवन बनाउनुभन्दा भाटभटेनीका सन्चालक मीनबहादुर गुरुङलाई धन्यवाद प्रस्ताव पारित गरेर, पार्टी कार्यालयलाई दिएको जग्गा फिर्ता गर्ने प्रस्ताव दर्ता गराउन खोजेका थिए ।

त्यस्तै पार्टी पछिल्लो समय सामाजिक अभियान र सामुदायिक गतिविधिबाट अलग भइरहेको भन्दै तल्लै तहदेखि सबै नेताहरू जोडिएर सामाजिक अभियान चलाउने र जनतामा जोडिने कार्यक्रम ल्याउन प्रस्ताव राखेका थिए ।

रावलले पार्टीभित्र शुद्धीकरण अभियान चलाउने र भ्रष्टाचार तथा अन्य फौजदारी तथा नैतिक पतन जनिने कसूरमा संलग्न भएका वा अभियोग लागेकाहरूलाई जिम्मेवारीमुक्त गर्ने र सम्बन्धित अदालतबाट सफाइ पाएपछि पूर्ववत जिम्मेवारीमा फर्काउने प्रस्ताव राखेका छन् ।

Comments

One response to “झपट रावलले एमाले बैठकमा दर्ता गर्न नपाएका ४ बुँदा, वडाले बनाउने सिटीहल बीआरआईमा किन ?”

  1. ksp pyl Avatar
    ksp pyl

    भिम रावलजस्तालाई अब कुनै पनि हालतमा एमालेमा ल्याउनुहुन्न । भिम रावलमा गए भनेर हल्ला गरिएका अधिकाँश माओवादी र अन्य पार्टीका हुन् । थोरै एमालेका हुन् ती पनि निष्क्रिय भएर बसिरहेका । एमालेलाई केही घाटा छैन । काँडो झिकेकोजस्तो भएको छ । निकालेको एक दुई दिनमै उसको असली रूप देशले देखिसक्यो । एमाले दलालहरूको पछि लाग्ने नै होईन । फटाफट आफ्नो काम गर्ने हो । सिपी खोइ ? आरके कहाँ गए ? माधव, झलनाथ नभएर के नापिएको छ ? यस्ता गद्दारहरू भएकोभन्दा नभएको राम्रो । भिम रावलभन्दा अछामको वडा तहको एउटा ईमानदार र प्रतिवद्व कार्यकर्ता एमनलेको सम्पत्ति हुन्छ । दलालीमा लिप्त नेता भएपछि ठूला नेता भएर के काम ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *