सरकारी जग्गा व्यक्तिको नाममा बनाउने तत्कालीन मालपोत प्रमुखसहित ८ जना भ्रष्टाचारमा दाेषी ठहर

काठमाडौं । सरकारी जग्गालाई व्यक्तिको नाममा बनाउने मालपोत कार्यालय टीकापुर कैलालीका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाइलीसहित ८ जनालाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ । विशेष अदालतले सोमबार प्रतिवादी बनाइएका ८ जनामध्ये ४ जनालाई मुख्य अभियुक्त र ४ जनालाई मतियार सहित भ्रष्टाचारी ठहर गरेको हो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुवर र न्यायाधीश मुरारीवावु श्रेष्ठ र विदुर कोइरालाको इजलासले भ्रष्टाचारी ठहर भएको फैसला सुनाएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार विशेषले मालपोत प्रमुख रसाइलीलाई एक वर्ष, मानबहादुर चन्दलाई नौ महिना, अग्नीवहादुर शाही र दशरथ मण्डललाई ६ महिना कैदको फैसला सुनाएको हो ।

मतियारको रूपमा विन्द्रा रावल, कमलबहादुर रावल, शुसिलवहादुर रावल र विमल रावललाई ६ महिना कैद हुने फैसला सुनाएको सूचना अधिकारी रेग्मीले जानकारी दिए । दोषी ठहर भएकामध्ये विन्द्रा रावल जेष्ठ नागरिक भएकाले ७५ प्रतिशत कैद कट्टा भएपछि १ महिना १५ दिन मात्र कैद सजाय हुने फैसला विशेष अदालतले सुनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २४ करोड ६ लाख ६९ हजार रुपैयाँ भ्रष्टाचार गरेको अभियोमा ८ जनालाई प्रतिवादी बनाएर ८ महिना अघि गत जेठ २६ मा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो । कैलालीक साविक नारायणपुर–८ मा रहेको कित्ता नम्बर ९०८ को क्षेत्रफल १५–०–० ज.बि. (बिघा) जग्गा फिल्डबुकमा जङ्गल भनी कायम भएकोमा कित्ताकाट गरी मालपोत कार्यालय टीकापुरबाट २०६८ सालमा व्यक्तिको नाममा कायम गरेको भनी भ्रष्टाचार मुद्दा दायर भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *