सय वर्षदेखि ‘हराएको’ ब्रम्हा मन्दिर पुनर्निर्माण हुँदै, वडाध्यक्षले गरे शिलान्यास

काठमाडाैं । काठमाडौं महानगर वडा नं. ८ स्थित जय बागेश्वरीमा शास्त्रीय विधिविधानपूर्वक ब्रह्मा मन्दिर पुनःनिर्माणको शिलान्यास भएको छ । गायत्री मार्गमा मन्दिर उत्खनन भएको स्थानमा वडाध्यक्ष आशामान संगतले शिलान्यास गरेका हुन् ।

वडाध्यक्ष संगतका अनुसार यो मन्दिर हराएकै १ सय वर्षभन्दा धेरै भएको थियो । यसस्थानमा झाडी मात्र थियो । पुरातत्व विभागको सहयोगमा उत्खननपश्चात् यसको प्राचीनताको अध्ययन गरिएको थियो । यसबाट मन्दिर छैटौँ शताब्दीदेखि सातौँ शताव्दीको विचमा निर्माण भएको अनुमान गरिएको छ ।

‘मन्दिरको वनावट र प्रकृति सम्बन्धी दस्तावेज नपाइए पछि हामीले जगको आकृति, प्रयोग भएको निर्माण सामग्रीका आधारमा पुरातत्वविदहरुबाट मन्दिरको रेखाङ्कन गराएका हौँ’, संगतले जानकारी दिए ।

उनका अनुसार मन्दिरको मूर्ति वर्षौँदेखि गौशाला प्रहरी कार्यालयमा रहेकोले उल्लेख गर्दै प्रहरी कार्यालयबाट मन्दिरमा सार्न हतार भइसकेको उल्लेख गरे ।

सार्वजनिक खरिद प्रक्रियाबाट छानिएको निर्माण पक्षबाट मन्दिरको पुनःनिर्माण हुँदैछ । यसको लागत करिब १ करोड १५ लाख रुपैयाँ हो । आउँदो वर्षको साउन २६ भित्र पुनःनिर्माण सम्पन्न गर्ने गरी कामको जिम्मा दिइएको छ । माटो, इटा र काठको प्रयोगबाट निर्माण हुने मन्दिर दुई तलाको प्यागोडा शैलीको हुनेछ । मन्दिरमा शिरमा गजुर राखिनेछ ।

निर्माण कार्य गर्दा वडासँगै महानगरपालिकाको सम्पदा तथा पर्यटन विभाग, पशुपति क्षेत्र विकास कोष, पुरातत्व विभाग, स्थानीय समुदाय, संघ संस्थाहरुसँगको समन्वय गरिनेछ ।

Comments

One response to “सय वर्षदेखि ‘हराएको’ ब्रम्हा मन्दिर पुनर्निर्माण हुँदै, वडाध्यक्षले गरे शिलान्यास”

  1. Laleek Avatar
    Laleek

    हार्दिक बधाई तथा शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *