एमालेले देखेको ‘घेराबन्दी’- वनको बाघ कि मनको ?

काठमाडौं । एमालेका महासचिव शंकर पोखरेलले सोमबार बलियो राष्ट्रिय शक्ति बन्न नदिने भू-राजनीतिक खेलअन्तर्गत एमाले र पार्टी नेतृत्वविरुद्ध घेराबन्दी भइरहेकाे दाबी गरे । दुई दलीय व्यवस्थाको वकालत गर्दै उनले एमालेलाई कमजोर बनाउने खेलमा साना दलहरू सहयोगी बनेको आरोप पनि लगाए ।

आगामी निर्वाचनपूर्व कसैसित गठबन्धन नगर्ने उद्घोषसाथ एमाले र कांग्रेसले आमनिर्वाचनलाई एजेन्डा केन्द्रित गर्ने संकल्प गरेपछि घेराबन्दी बढेको उनले टिप्पणी गरे ।

‘नेपालका साना राजनीतिक दलहरू आफ्नो राजनीतिक कुण्ठाबाट ग्रस्त भएर सामाजिक अराजकताको बाहक बनिरहेका छन्’, पोखरेलले भने, ‘अहिले एमाले र त्यसको नेतृत्वका विरुद्धको घेराबन्दी बलियो राष्ट्रिय शक्ति बन्न नदिने भू-राजनीतिक द्वन्द्वको खेल हो ।’

महासचिव पोखरेलले मात्रै होइन, अध्यक्ष ओलीले पनि एमालेलाई राष्ट्रिय शक्ति बन्न नदिन आन्तरिक र बाह्य षड्यन्त्र भइरहेको दाबी गर्दै आएका छन् ।

उनले हालै बसेको केन्द्रीय कमिटीको बैठकमा पेश गरेको राजनीतिक दस्तावेजमा पनि एमालेलाई राष्ट्रिय शक्ति बनाउन पार्टीले गर्नुपर्ने काम र चुनौतीहरूबारे उल्लेख गरेका थिए । एमालेलाई अहिले मिथ्या र भ्रामक प्रचार ठूलो चुनौती बनेको ओलीकाे बुझाइ छ ।

प्रतिवेदनमा भनिएको छ, ‘…मिथ्या प्रचारमार्फत राज्यका निकाय, राजनीतिक दल र तिनको नेतृत्व, सुरक्षा संवेदनशीलता र अर्थतन्त्रमाथि नै प्रहार गर्ने क्रम बढेर गएको छ । यस्तो मिथ्या प्रचारको सीमापार प्रयोग झनै ठूलो चुनौती बनेको छ । हाम्रो पार्टीका लागि त यो चुनौती झनै ठूलो बनेको छ ।’

निराधार र कपोलकल्पित आरोप लगाउने, नेताहरूको चरित्र हत्या गर्न र जनतामा भ्रम एवं निराशा फैलाउने यो अभियान केबल केही नेताहरूविरुद्ध मात्रै नभएको ओली बताउँछन् ।

प्रतिवेदनमा भनिएको छ, ‘याे केही व्यक्तिहरूको लहडमा मात्रै सञ्चालित छैन । राष्ट्रिय राजनीतिमा नेकपा (एमाले) को जुन स्थान, हैसियत र भूमिका छ, यसलाई कमजोर पार्ने सुनियोजित उद्देश्यमा केन्द्रित छ ।’

पहिचानको नाममा उग्र जातीय राजनीति गर्दै समाजलाई विभाजित गर्ने प्रयास, पार्टी विभाजन, अदालतको आदेश र अध्यादेशसमेतको सहारामा राष्ट्रिय राजनीतिबाट किनारा लगाउने षड्यन्त्रलाई असफल पारेको एमालेको निष्कर्ष छ । यद्यपि अझै पार्टीका विरुद्ध योजनाबद्ध रुपमा दुष्प्रचारकाे अभियान चलाइएको ओलीको प्रतिवेदनमा उल्लेख छ ।

पछिल्लो समय रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, काठमाडौं महानगरपालिका मेयर बालेन शाह र उनका समर्थक, राजावादी र पहिचानवादी शक्तिदेखि माओवादीसम्म एमाले र ओलीविरुद्ध भ्रामक र मिथ्या सूचना फैलाउनमा केन्द्रित भएको एमाले नेताहरु बताउने गर्छन् । अहिले एमाले नेतृत्वमात्रै होइन हरेक तहका नेता कार्यकर्ताहरुले पार्टी र पार्टी नेतृत्वप्रति घेराबन्दी भइरहेको टिप्पणी गर्दै आएका छन् ।

कोबाट हुँदैछ घेराबन्दी ?

एमालेका प्रमुख सचेतक महेश बर्तौला देश सरल ढंगबाट नबनोस् भन्न विभिन्न शक्तिहरू लागिरहेको बताउँछन् ।

उनले भने, ‘देश सरल ढंगबाट नबनोस् भन्ने ढंगबाट एउटा शक्ति लागिरहेकै छ । त्यसमा भूराजनीतिक परिस्थिति पनि जोडिएकाे छ । देशभित्र पनि विभिन्न शक्तिहरूलाई प्रयोग गरेर एमाले राष्ट्रवादी शक्तिलाई कमजोर बनाउने प्रयास भइरहेको छ ।’

एमालेले राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर काम गरिरहेकाले पार्टीविरुद्ध षड्यन्त्र भइरहेको उनको भनाइ छ ।

उनले थपे, ‘एमाले वा एमालेको नेतृत्वमा राष्ट्रिय शक्तिको रूपमा निर्माण हुँदा कतिपय दाउपेचमा रमाउन खोज्ने शक्तिहरूलाई असर गर्ने हुँदा हामीविरुद्ध प्रयोग भइरहेको छ । मुलुकलाई अस्थिरतामा धकेलेर रमाउने शक्तिहरू छन्, विशेषगरी माओवादी केन्द्र पनि मुलुक बनाउन होइन, मुलुक बनाउने संकल्प गरेको राजनीतिक नेतृत्वविरुद्ध भ्रमित र कमजोर गर्ने प्रयासमा छन् ।’

देशीविदेशी प्रतिक्रियावादी शक्ति, नेपालको राजनीतिक स्थायित्व नचाहने, विकास र समृद्धि नचाहने, नेपाल जहिले पनि विदेशीको क्रीडास्थल बनाउन चाहने प्रवृत्तिबाट नै एमालेविरुद्ध घेराबन्दी भइरहेको उनले बताए ।

तर प्रधानमन्त्री ओलीले भू-राजनीतिलाई देखाएर आफ्नो कायरतालाई लुकाउने काम आफूबाट नहुने बताएका छन् ।

नेपालको परराष्ट्र नीतिबारेको संवादमा बोल्दै उनले भने, ‘हामीले हाम्रो भौगोलिक अवस्था र भूराजनीतिलाई बिर्सेका छैनौं, तर भू-राजनीतिको नाममा सत्ता स्वार्थी, सत्तामा रहन जेसुकै निर्णय गर्ने, राष्ट्रिय हितलाई तिलाञ्जलि दिन तयार हुने जस्ता स्तरहीन काम गर्दैनौं ।’

स्थायी कमिटी सदस्य विशाल भट्टराईले पनि अहिले एमालेविरुद्ध सबैभन्दा बढी घेराबन्दी सामाजिक सञ्जालबाट भइरहेको बताए ।

उनले भने, ‘पार्टी नेतृत्व र पार्टीविरुद्ध भएका नभएका कुरा ल्याउने कुरा नियोजित रुपमा पनि भइरहेको छ । प्रधानमन्त्रीको विरुद्ध त पटकपटक हमला भइरहेको छ नियोजित रुपमा नै । हाम्राविरुद्ध अहिले निराधार कुराहरू ल्याएर भ्रम फैलाएर एमालेलाई निर्णायक राष्ट्रिय पार्टी बन्न नदिने षड्यन्त्र भइरहेको छ ।’

नेपालमा अस्थिरता चाहने शक्तिहरुले नै एमालेविरुद्ध प्रचार गरिरहेको उनको बुझाइ छ ।

उनले भने, ‘हामी निर्णायक राष्ट्रिय शक्तिको अभियानमा छौं, तर कुनै ठूलो पार्टी नहोस्, ससाना पार्टीहरू मिलेर बनेको नियन्त्रित सरकारको अस्थिरता सिर्जना गर्न सकियोस् भनेर लागिरहेकाविरुद्ध आज महासचिवले इङ्गित गर्नुभएको हो ।’

चन्द्रकिशाेर भन्छन्- एमालेभित्र उकुसमुकुस छ

राजनीतिक विश्लेषक चन्द्रकिशोर ओली नेतृत्वको सरकार र पार्टीभित्रै बढ्दै गएको उकुसमुकुसलाई एमाले नेताहरुले घेराबन्दीको संज्ञा दिएको तर्क गर्छन् ।

उनी भन्छन्, ‘सरकारको कामलाई लिएर असन्तुष्टि बढ्दैछ, त्यसैले गठबन्धनको अर्का दल कांग्रेसमाथि दबाब बढाउने र वामपन्थी गठबन्धनको सम्भावनाको ढोका बन्द नगर्ने मनसायले एमालेका नेताहरुले घेराबन्दीको कुरा गर्दैछन् ।’

आफ्नो कमजोरी लुकाउन र सरकारले काम गर्न नसकेर भएको आलोचनालाई प्रधानमन्त्रीविरुद्धको घेराबन्दी भन्न नमिल्ने उनको भनाइ छ ।

उनले थपे, ‘अर्को कुरा एमालेमा पार्टीभित्रको आन्तरिक लोकतन्त्रमा पनि उकुसमुकुस भइरहेको छ । पार्टी छाडेर जानेहरुले जसरी आरोप लगाउँदैछन्, त्यसलाई अहिले नेताहरुले घेराबन्दी भन्दैछन् ।’

Comments

One response to “एमालेले देखेको ‘घेराबन्दी’- वनको बाघ कि मनको ?”

  1. ksp pyl Avatar
    ksp pyl

    घरको बाघ हो नि । एमालेलाई कमजोर बनाउन पाए नेपाललाई गुलाम बनाउन सकिन्छ किनकी अरू त भाडाका टट्टु हुन् , जे भने त्यहि मान्छन भन्ने छ विस्तारवादी दुष्टहरूलाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *