काठमाडौं । करिब ८ वर्षअघि सरकारले ‘ड्यूटी फ्री’ मा किनेको सरकारी मदिरा बेच्ने तयारी गरिएको छ । सिंहदरबारदेखि भद्रकालीसम्मको सडकमुनि ७ वटा गोदाममा ती मदिरा थुपारिएको छ । गोदाममा वाइन, ह्विस्की, रम, जिन र ब्रान्डीलगायत रक्सी छ ।
नेशनल ट्रेडिङले ती रक्सी भन्सार छुटमा ५ लाख ७३ हजार ५१७ अमेरिकी डलर (झण्डै साढे ७ करोड) खरिद गरेको थियो । ऋणमा फसेपछि नेशनल ट्रेडिङलाई ७६ सालमा खाद्य संस्थानसँग गाभेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा गाभियो ।
संस्था गाभिएपछि नेशनल ट्रेडिङको चल अचल सम्पत्ति खाद्य व्यवस्था तथा व्यापार कम्पनीले व्यवस्थापन गर्नुपर्ने भएपनि अहिलेसम्म हुन सकेको थिएन ।
गोदाममा थन्किएको उक्त मदिरा पिउन योग्य र अयोग्य छुट्टाउने काम अन्तिम चरणमा पुगेको छ ।

खाद्य संस्थानको बोर्ड बैठकले व्यवस्थापनलाई मदिराको अवस्था के कस्तो छ भनेर अध्ययन गरेर प्रतिवेदन पेस गर्न भनेको छ । यसअघि पनि उद्योग मन्त्रालयले मदिरा बिक्रीको लागि भनेर उपसमिति बनाएको थियो । उपसमितिले मौज्दात मदिरासँगै खान योग्य र अयोग्यको सूची बनाएपनि फाइल अघि बढेन ।
त्यसताका ४ करोड मूल्य बराबरको मदिरा खान योग्य र बाँकी अयोग्य भएको निचोड निकालिएको थियो । भन्सार र राजस्व अनुसन्धानसँग समन्वय गर्न नसक्दा मदिरा बिक्रीको काम रोकिएको बताइन्छ ।
नयाँ प्रमुख कार्यकारी अधिकृतको रूपमा रमेश आचार्य आएसँगै मदिरा बिक्री प्रक्रिया थालिएको हो । अहिले खाद्यले भन्सार र आन्तरिक राजस्व कार्यालयसँग समन्वय गरेर काम अगाडि बढाएको छ । मदिराको ज्ञान भएका नेशनल ट्रेडिङका २ जना कर्मचारीलाई अवकाश भइसके पनि ज्यालादारीका रूपमा राखिएको छ ।
गत असोजमा आएको बाढी गोदाममा पसेपछि रक्सीमा थप क्षति पुगेको छ । बाढीपछि रक्सी राखेको कार्टुन भिजेर रक्सी पोखिएको आचार्यले बताए ।
उनले नेपाल प्रेससँग भने, ‘रक्सी राखेको ठाउँमा बाढी पसेपछि खान योग्य र अयोग्य छुट्याइँदैछ । पुनः अहिले ६ जनाले रक्सीको बोतल पुस्दै सोकेसमा राख्ने काम भइरहेको छ । गणनासमेत सकिएपछि भन्सार विभाग र राजस्व प्रतिनिधिलाई पनि बोलाएर छलफल गरिने छ । खान योग्य रक्सीमा कति राजस्व लाग्ने हो भनेर उहाँहरुले भन्नु हुन्छ । त्यसपछि भन्सार फ्री को रक्सीको भन्सार तिर्ने छौँ । अनि लिलामीमा राख्नेछौँ ।’

२०७४ सालमा ३ लाख १३ हजार २१६ डलर बराबरको सरकारी मदिरा खान अयोग्य भनेर प्रतिवेदनमा उल्लेख भएको खाद्य संस्थानकी सूचना अधिकारी शर्मिला न्यौपानेले बताइन् । त्यस बेला २५ लाख ४८ हजार ९८० डलरको सरकारी मदिरा प्रयोग गर्न सकिने प्रतिवेदनमा उल्लेख छ ।
अहिले भने करिब २ करोडको मदिरा खान योग्य भएको अनुमान छ । कुन मदिरा कति प्रतिशत अल्कोहल भएको भन्ने पनि परीक्षण भइसकेको । वाइन ठड्याएर राखेका कारण बिग्रिएको बताइन्छ ।
ह्विस्की भने प्राय सबै खानयोग्य छन् । भने, केहीको लेभल गएको छ । ह्विस्की उडेर केही बोतलमात्रै पनि रहेको आचार्यले बताए ।

Leave a Reply