काठमाडौं महानगरमा टिक्दैनन् प्रशासकीय अधिकृत ! बालेनकै कार्यकालमा ४ जना फेरिए, पाँचौ ल्याउन बल

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरको बागडोर सम्हालेका बालेन्द्र (बालेन) साहले साढे दुई वर्षको कार्यकाल पूरा गरिसकेका छन् । उनले आफ्नो आधा कार्यकालमात्र गुजार्दा महानगरको प्रशासकीय नेतृत्वमा भने चारपटक फेरबदल भइसकेको छ ।

२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर साह काठमाडौं महानगरपालिकाको मेयरमा विजयी भएका थिए । मेयरको कुर्सीमा बसेयता उनले अहिलेसम्म ४ जना प्रशासकीय अधिकृतसँग काम गरिसकेका छन् । अहिले फेरि उनी पाचौं प्रशासकीय अधिकृतको खोजीमा छन् ।

महानगरमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिव सरहको कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा पठाउने गरेको छ । मेयरको साहको कार्यकालको सुरूमा प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल थिए । त्यसपछि क्रमशः वसन्त अधिकारी, प्रदीप परियार र सरोज गुरागाईं आएका हुन् । अहिले गुरागाईंले बालेनले निलम्बनमा राखेर सरकारसँग अर्को प्रशासकीय अधिकृत मागिरहेका छन् ।

चार प्रशासकीय अधिकृतमध्ये दुईजनालाई मन्त्रालयले नै सरुवा गरेको हो भने वसन्त अधिकारीलाई बालेनले छानबिनमा तानेपछि सरुवा मागेका थिए । गुरागाईंलाई भने महानगरले हटाएर अर्को ल्याउन खोजेको हो । त्यसका लागि महानगरले मन्त्रालयलाई पत्र पठाइसकेको छ ।

४ प्रशासकीय अधिकृतको कार्यकाल कस्तो ?

बालेन निर्वाचन भएर आउनुअघि २०७८ पुस ७ गते काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा लोकनाथ पौडेल नियुक्त भएका थिए । उनले काठमाडौं महानगरमा ८ महिना प्रमुख प्रशासकीय नेतृत्व गरे । नवनिर्वाचित मेयर-उपमेयरसहितको टीममा रहेर काम गरेको तीन महिनापछि नै उनी सरुवा भए ।

२०७९ भदौ १७ गते तत्कालीन सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै सहसचिव पौडेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा ताने । तर, उनी महानगरबाट विवादरहित नै विदा भए । मन्त्री श्रेष्ठले उनको ठाउँमा वसन्त अधिकारीलाई सामान्य प्रशासन मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरे ।

अधिकारीको कार्यकाल भने सुखद हुन सकेन । कर्मचारी नियुक्तिको विषयमा अनियमितता गरेको आरोप लगाएर बालेनले उनलाई अघोषित निलम्बनमा राखे । र, निलम्बित अवस्थामै उनी सरुवा भए । काठमाडौं महानगरमा केही करार कर्मचारी थप्ने प्रक्रियामा छलछाम गरेर सचिवालयकी एक कर्मचारीकी छोरीलाई घुसाउन खोजेको आरोप अधिकारीमाथि लगाइएको थियो । अधिकारीलाई अपमानित गर्दै बालेनले कार्यालय आउन रोक लगाउनुका साथै गाडी पनि खोसिदिएका थिए । अनुसन्धानका क्रममा दुई हप्ता बिदामा बसेको बेला नै अधिकारी सरुवा भए ।

०८० माघ ३ गते बसेको मन्त्रिपरिषद् बैठक २९ जना सहसचिवको सरुवा गरेको थियो । सामान्य प्रशासन मन्त्रालयको प्रस्तावअनुसार सरुवा गरिएका सहसचिवमा अधिकारी पनि परे । उनलाई महानगरबाट तानेर मधेसी आयोगमा पठाइयो । उनले महानगरमा १६ महिना काम गरे ।

अधिकारी विवादमा तानिएपछि सामान्य प्रशासन मन्त्रालयले काठमाडौं महानगरको प्रमुख प्रशासकय अधिकृतमा प्रदीप परियारलाई पठायो । ०८० माघ ५ मा परियार काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त भएका थिए । उनी ८ महिनाको संक्षिप्त कार्यकालमा विवादरहित रहे । अवधि पूरा नहुँदै सरुवा भएको सहसचिव परियारलाई महानगरले भव्य विदाइ समेत गरेको थियो ।

०८१ भदौ २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले परियारलाई महानगरबाट सरुवा गरेर सञ्चार मन्त्रालय पठाएको हो । उनको स्थानमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव सरोज गुरागाईलाई पठाइएको थियो । तर, उनको मेयर बालेनसँग केमेस्ट्री मिल्न सकेन ।

गुरागाईं अहिले बिदामा छन् । पुरानो बसपार्कस्थित ‘काठमाडौं टावर’को प्रक्रिया पूरा नगरी भवन निर्माणको नक्सा स्वीकृत गरेको बालेनले उनीमाथि लगाएका छन् । व्यवसायी मनोज भेट्वालद्वारा निर्माणाधीन काठमाडौं भ्यू टावरको नक्सा पास नवीकरण गर्दा अनियमितता गरेको भन्दै बालेनले प्रमुख प्रशासकीय अधिकृत गुरागाईलाई कारवाही सिफारिस गरेका थिए ।

भ्यू टावरको भवन निर्माणको नक्सा पास कागजातको अनुमतिपत्रमा गुरागाईंले आधिकारिक नक्सा पास प्रणाली (ईबीपीएस) मार्फत प्रक्रिया नै पूरा नगरी स्वीकृति दिएको भन्दै उनीमाथि छानबिन समिति बनाएर छानविन भइरहेको छ ।

उनको जिम्मेवारी खोसेर शिक्षा विभागका प्रमुख गोविन्द्रप्रसाद शर्मालाई निमित्तको जिम्मा दिइएको थियो । तर, उनले पनि राजीनामा बुझाइसकेका छन् । यद्यपि, अर्को प्रशासकीय अधिकृत नआइन्जेलसम्म उनले नै निमित्त भएर काम गरिरहेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरमा समस्या

प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरको कामकारबाही प्रभावित बनिरहेको छ । मेयर बालेन साहले २६ पुसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेर नयाँ प्रशासकीय अधिकृत पठाइदिन अनुरोध गरेका छन् ।

‘काठमाडौं महानगरपालिकामा खटिई आउनु भएका प्रमुख प्रशासकीय अधिकृतका सम्बन्धमा छानबिन भइरहेको हुँदा हाल उहाँ बिदामा बस्नु भएकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ दफा ८४ बमोजिमको कामकाज गर्नका लागि प्रमुख प्रशासकीय अधिकृत खटाई पठाई दिन हुन अनुरोध छ,’ पत्रमा बालेनले भनेका छन् ।

तर, मन्त्रालयले भने महानगरमा अझै नयाँ प्रशासकीय अधिकृत पठाएको छैन । नयाँ प्रशासकीय अधिकृत नपठाउँदा समस्या भएको मेयर बालेन साहको सचिवालयले जनाएको छ ।

सचिवालयका सदस्य भुपदेव साहले प्रशासकीय अधिकृत नहुँदा महानगरको काम कारबाही प्रभावित भएको बताए ।

उनले भने, ‘अहिले निमित्त त हुनुहुन्छ । तर, उहाँलाई सबै कामको अधिकार दिइएको हुँदैन । त्यसैले पनि मेयर साबले मन्त्रालयमा ताकेता गरिरहनुभएको छ ।’ उनका अनुसार गुरागाईंमाथिको अनुसन्धान अझै सकिएको छैन ।

के भन्छ मन्त्रालय ?

महानगरमा पुगेका ४ जनामध्ये तीनजना प्रशासकीय अधिकृतहरू छोटो समयमै सरुवा हुँदा कर्मचारीवृत्तमा चिन्ता छाएको छ । सहसचिवहरू विवादमा तानिने डरले महानगर जान इच्छुक नरहेको मन्त्रालयका एक कर्मचारी बताउँछन् । मन्त्रालयले नयाँ अधिकृत पठाउन कुनै तयारी पनि गरेको छैन ।

प्रमुख प्रशासकीय अधिकृत गुरागाईं अहिलेसम्म कार्यरत नै भएकाले नयाँ पठाउने कुनै तयारी नभएको मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले बताए ।

उनले नेपाल प्रेससँग भने, ‘उहाँको दरबन्दी नै काठमाडौं महानगरपालिकामा नै छ । अहिलेसम्म उहाँ त्यहीँ कार्यरत हुनुभएकाले नयाँ पठाउन मिल्दैन । मन्त्रालयले उहाँको दरबन्दी अन्त नसारेकाले मेयरको पत्रमा केही कारबाही भएको छैन ।’

उनले थपे, ‘सहसचिवको सरुवा मन्त्रिपरिषद्ले गर्ने हो । सरुवाको लागि होमवर्कहरू हुँदैछ । पछि हुन सक्छ ।’

मन्त्रालयका एक कर्मचारीले स्थानीय तहका जनप्रतिनिधिले दोषजति कर्मचारीलाई देखाएर आफू उम्किन खोज्ने प्रवृत्तिले कर्मचारीहरू स्थानीय तहमा जान हतोत्साहित हुने गरेको गुनासो पोखे ।

Comments

One response to “काठमाडौं महानगरमा टिक्दैनन् प्रशासकीय अधिकृत ! बालेनकै कार्यकालमा ४ जना फेरिए, पाँचौ ल्याउन बल”

  1. bharat kumar thapa Avatar

    तोरी मेयर (आफुराजा भएको व्यवहार देखाउने ) भएको ठाउमा कोही आउदैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *