विराटनगर । धरानका मेयर हर्क साम्पाङले रित्तो गाग्री बोकेर प्रदर्शन गरेका छन् । धरानमा खानेपानीको अभाव हुन थालेपछि भानु चोकमा रित्तो गाग्री बोकेर आन्दोलनको सुरुवात गरेको उद्घोष गरेका हुन् ।
उनी धरानको खानेपानी समस्या समाधान गर्ने नारा बोकेर स्थानीय तहको निर्वाचनमा होमिएका थिए । हिउँदमा खानेपानीको चरम अभाव झेल्दै आएको धरान उप महानगरको मेयरमा निर्वाचित भएपछि पनि खानेपानीको समस्या समाधान हुन नसकेको छैन ।
उनले सरकारले धरानको खानेपानी समस्याका लागि बजेट नदिएको भन्दै रित्तो गाग्री बोकेर प्रदर्शन गर्नु परेको बताए । उनले भने, दुई पटक फाइल बोकेर अर्थ मन्त्रालय र खानेपानी मन्त्रालय पुगे अव रित्तो गाग्री बोकेर जान्छु । उनले आफूलाई सरकारले नपत्याएको भन्दै रित्तो गाग्री बोकेर एक्लै मन्त्रालय जाने बताए ।
२०७९ वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका साम्पाङ खानेपानी कै मुद्दा बोकेका कारण विजयी भएका थिए ।
तर आफ्नो कार्यकालको दुई वर्षमा खानेपानी समस्या समाधान गर्न नसकेपछि उनले भोलि खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय लगायत विभिन्न मन्त्रालयमा यही कुच्चिएको गाग्री बोकेर जाने बताए ।
उनी मेयरमा निर्वाचित भएपछि श्रमदानको नाममा खानेपानी समस्या समाधान गर्न अभियान समेत सञ्चालन गरे । धरानमा खानेपानी ल्याउनका लागि श्रमदानसँगै चन्दाको रूपमा सहयोग समेत आएको थियो ।
श्रमदान र चन्दाबाट उनले कोकाह, सर्दु, खर्दु, निशाने र पकुवाबाट पानी ल्याउन खानेपानी ल्याउन पाइप समेत बिच्छयाए । तर डीपीआर र आवश्यक प्राविधिक अध्ययन बिना नै बनाइको आयोजना सफल हुन सकेन ।
उनले सम्पन्न गरेको भनेका योजनाबाट केहीबाट बाहेक हिँउदामा पानी नआएपछि धरानमा खानेपानीको चरम अभाव हुँदै आएको छ । साम्पांगको प्रदर्शनमा उनका समर्थक समेत सहभागी भएका थिए ।

Leave a Reply