काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने आफ्नो खेलबाट मात्र नभएर सामाजिक सञ्जालका गतिविधिहरूले पनि बेलाबखत चर्चामा आउँछन् । अमूर्त र ‘सस्पेन्स’ स्टाटसहरू लेखेर आफूलाई चर्चामा ल्याउन पोख्त छन् उनी।
सन्दीपले हिजो लेखेको एउटा भावुक स्टाटसले अहिले सामाजिक सञ्जालमा ठूलै तरंग पैदा गरेको छ । मानिसहरूले अनेकथरि अड्कलबाजीहरू गरिरहेका छन् । उनले सन्न्यासको घोषणा गर्न लागेको हल्ला चर्को छ ।
सन्दीपले बिनासन्दर्भ राष्ट्रिय जर्सी लगाएको तस्बिर हाल्दै आफ्ना समर्थकहरूलाई धन्यवाद दिएका छन् ।
उनको अंग्रेजीमा लेखेको स्टाटसको भावार्थ यस्तो छ-
‘सबैलाई सबै कुराका लागि धन्यवाद । यो सुन्दर देश र यहाँका जनता सँधै मेरो लागि खडा हुनुभएको छ । । मेरो यात्राको प्रत्येक पाइलामा साथ र समर्थन दिनुभएको छ । तपाईंहरूको माया र प्रत्साहन मेरो लागि निकै महत्वपूर्ण छ र सँधै मेरो हृदयमा विशेष स्थान राख्नेछ । म आफ्नो कृतज्ञता शब्दमा बयान गर्न सक्दिनँ ।’
कुनै प्रसंगबिना सन्दीपले आखिर किन यसरी कृतज्ञता प्रकट गरे त भन्ने फ्यानहरूमा कौतुहल जाग्ने नै भयो । उनले सन्न्यास घोषणा गर्न लागेको देखि विदेश पलायन हुन लागेकोसम्म हल्ला चलिरहेका छन् । कसैले ‘एटेन्सन पाउन’ मात्रै सन्दीपले यस्तो लेखेको अनुमान पनि गरेका छन् ।
सन्दीप अहिले २४ वर्षका मात्र भए । उमेरका हिसाबले उनको लामो खेल करिअर बाँकी छ । यो सन्न्यासको विषयमा सोच्ने बेला नै होइन । उनी अहिले पनि नेपाली क्रिकेट टिमका महत्वपूर्ण सदस्य हुन् । हालै भएको नेपाल प्रिमियर लिगमा आशातित प्रदर्शन गर्न नसके पनि उनको क्षमतामा प्रश्न उठाउन मिल्दैन, किनकी सन्दीपले संसारभर क्रिकेट खेलेर आफूलाई प्रमाणित गरिसकेका छन् ।
अहिले सामाजिक सञ्जालमा सन्दीपको प्रदर्शन खस्किएको भन्दै टिकाटिप्पणीहरू भइरहेका छन् । तर, उनको स्तरको खेलाडीको लागि यस्ता टिकाटिप्पणीहरू कुनै असामान्य विषय होइन । महानतम खेलाडीहरूले पनि यदाकदा आलोचना भोग्नु नै पर्छ । त्यसो भए के हो त सन्दीपको स्टाटसको राज ?
क्यान स्रोतका अनुसार सन्दीपले यो स्टाटस केही दिनअगाडिको एउटा विवादसँग सम्वन्धित हुन सक्छ । जय ट्रफीका क्रममा अम्पायरहरूको निर्णयमा असन्तुष्टि जनाउँदै सन्दीपले सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए । स्टाटसमा नेपालको अम्पायरिङ स्तरबारे उनले प्रश्न उठाएका छन् ।
राष्ट्रिय खेलाडीले सार्वजनिक प्लेटफर्मममा नै यसरी असन्तुष्टि पोख्नु अनुशासनविपरीतको क्रियाकलाप भएको र यसले अन्तर्राष्ट्रिय समूदायमा समेत नकारात्मक सन्देश जाने भन्दै क्यानले गम्भीररूपमा लिएको बताइएको छ । यस विषयमा क्यानकाे टेक्निकल कमिटीले सन्दीपसँग स्पष्टीकरण समेत सोधेको स्रोतको भनाइ छ ।
क्यानको टेक्निकल कमिटी प्रमुख अम्पायर विनयकुमार झा नै हुन्, जोसँग सन्दीपले विवाद गरेका थिए । उनले सो विषयमा क्यानमा रिपोर्टसमेत गरेको बुझिएको छ ।
‘दुई-तीन अगाडि स्पष्टीकरण सोधिएको छ । सन्दीपकाे जवाफ आएको वा नआएको जानकारी भएन,’ स्रोतले भन्यो ।
यही स्पष्टीकरणबाट असन्तुष्ट बनेर क्यानलाई ‘घुर्क्याउन’ र फ्यानहरूलाई तरंगित बनाउन स्टाटस लेखेको हुन सक्ने दाबी पनि स्रोतको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले स्टाटसबारे थाहा पाएको तर सन्दीपले आफूसँग कुराकानी नगरेको बताए ।
उनले भने, ‘कुन सन्दर्भमा उसले त्यो लेखेको हो मलाई थाहा भएन । मेरो अहिले कुरा भएको छैन । उनल सन्यास लिनुपर्ने कुनै कारण छैन । ’

Leave a Reply