भीम रावलको स्वागतमा खटिएका पूर्वमन्त्रीसहित २ जनालाई एमालेको कारबाही

कैलाली । नेकपा एमालेबाट निष्कासित भएका भीम रावलको स्वागतमा खटिएका प्रदेशका पूर्वमन्त्रीसहित २ जना कारबाहीमा परेका छन्।

नेकपा एमाले कैलालीले सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र उनका छोरासमेत रहेका जिल्ला कमिटी सदस्य भीष्मराज सुवेदीलाई कारबाही गरेको छ।

शनिवार बसेको पार्टीको जिल्ला सचिवालय बैठकले जिल्ला कमिटी सदस्य भीष्मराज सुवेदीलाई जिम्मेवारीबाट हटाउँदै पार्टीको संगठित सदस्य समेत नहरनेगरी निष्कासन गर्न केन्द्रीय कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

पूर्वमन्त्री कृष्णराज सुवेदीलाई पनि संगठित सदस्य समेत नहरनेगरी निष्कासन गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको एमाले कैलालीका उपसचिव तथा प्रचार विभाग प्रमुख चूडामणि भट्टले जानकारी दिए।

उनीहरू एमालेमा भीम रावल निकट मानिँदै आएका थिए । रावल कारबाहीमा परेपछि उनले चलाएको मातृभूमि जागरण अभियानमा दुवै जना सक्रिय भएका छन् । रावल धनगढी आउँदा दुवै जना स्वागतमा खटिएका थिए।

यस्तै, एमाले सचिवालय बैठकले पार्टीका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टका बारेमा सामाजिक सञ्जालमा जथाभाबी लेख्ने पूर्वसचिव भीम उपाध्याय र पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध धनगढी विमानस्थलमा भएको नाराबाजीप्रती ध्यानाकर्षण भएको जनाएको छ ।

बैठकले दुवै विषयमा ध्यानाकर्षण भएको जनाउँदै खेदप्रस्ताव समेत पारित गरेको प्रचार विभाग प्रमुख भट्टले बताए ।

Comments

One response to “भीम रावलको स्वागतमा खटिएका पूर्वमन्त्रीसहित २ जनालाई एमालेको कारबाही”

  1. Rajan Aryal Avatar
    Rajan Aryal

    खड्ग ओलीको बामाले कम्पनी यसरी नै सकिनुपर्छ, महाभ्रष्ट महादलाल ओलीलाई अब पनि नेता मान्ने कस्ता होलान्…

Leave a Reply

Your email address will not be published. Required fields are marked *