रक्तचन्दन तस्करी गिरोह फेरि सक्रिय, सामान पास नहुँदै कसरी समातिए माओवादी नेता ?

काठमाडौं । माओवादी शान्ति प्रक्रियामा आएपछि व्यवसायिकरुपमै भएको रक्तचन्दन तस्करी केही वर्षयता ठप्प भए पनि यसमा संलग्नहरुले फेरि कारोबार थालेको प्रहरीले निष्कर्ष निकालेको छ ।

यसै साता ४ क्वीन्टलभन्दा बढी रक्तचन्दनसहित सहित काठमाडौंको पेप्सीकोलाबाट प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरुसँगको प्रारम्भिक बयानमा राजनीतिक नेतृत्वकै साथमा फेरि रक्तचन्दनको तस्करी चलिरहेको खुलेको हो ।

गत मंगलबार साँझ काठमाडौं महानगरपालिका वडा नम्बर १४ का ४१ वर्षीय रमेश थापा र सिन्धुपाल्चोक घर भई पेप्सीकोला बस्दै आएका ४० वर्षीय ज्ञानबहादुर तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको थियो । तिमल्सिना सिन्धुपाल्चोकका माओवादी नेता हुन् ।

शान्ति प्रक्रियापछि माओवादी आबद्ध वाइसिएल र क्यान्टोनमेन्टमा रहेका लडाकु कमाण्डरहरुले सिन्धुपाल्चोक नाकाबाट अर्बौका रक्तचन्दन तस्करी गरेका थिए। पछि माओवादीकै नेता मात्रिका यादव मन्त्री भएका बेला उनले रोक्न खोज्दा सिन्धुपाल्चोकमै उनीमाथि आक्रमण प्रयास समेत भएको थियो ।

पछिल्लो दशक रक्तचन्दन तस्करी रोकिएकोमा यसपटक ठूलो मात्रामा रक्तचन्दनसहित माओवादी नेता पक्राउ परेपछि प्रहरीले केही नयाँ तथ्य फेल पारेको छ । यद्यपी यसको विस्तृत अनुसन्धान बाँकी रहेको प्रहरीले जनाएको छ ।

रक्तचन्दन कारोबार गरिरहेको सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी आचार्यले बताए। उनीहरूको साथबाट ४ सय ६२ किलो रक्तचन्दन फेला परेको थियो । बोरा र डोरी छुट्याएर जोख्दा ४ सय ३२ किलो रक्तचन्दन देखिएको एसपी आचार्यले बताए ।

उनीहरूले भारतबाट रक्तचन्दन ल्याएर तिमल्सिनाको कोठामा राखेका थिए। तिमल्सिना भने पेप्सीकोलामा कोठा भाडामा बस्दै आएका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट भने उनीहरूले केही महिना अगाडि नै रक्तचन्दन ल्याएको र अर्को व्यक्तिलाई बुझाउने तयारी गरिरहेका थिए ।

पक्राउ परेका ज्ञान बहादुर तिमिल्सिना सिन्धुपाल्चोक बलेफि गाउँपालिका वडा नम्बर ८ का स्थानीय हुन। भूकम्प अगाडि उनले तातोपानी नाकाबाट झोलापोकामा सामग्री ल्याएर बिक्री गर्ने गरेका थिए ।

माओवादी पार्टीको राजनीतिसँगै बाह्रबिसेमा सामान्य होटल समेत सन्चालन गरेका तिमिल्सिना कोरोनापछि मास्क ब्यापारमा जोडिएको थिए । उनले तिनकुने आसपासमा स्पा समेत सन्चालन गरेका थिए । हाल उनी माओवादी सिन्धु सम्पर्क समितिका सदस्य रहेको बताइएको छ ।

Comments

One response to “रक्तचन्दन तस्करी गिरोह फेरि सक्रिय, सामान पास नहुँदै कसरी समातिए माओवादी नेता ?”

  1. ksp pyl Avatar
    ksp pyl

    छानबिन गर्दै जाउ यो तस्करीमा सिन्धुपाल्चोकका सबै माओवादी र सु्प्रिमो समेत संलग्न हुनुपर्छ ।सुनबाट अहिले फेरि रक्तचन्दनतिर लागेका छन् माओवादीहरू ।छानबिन गरेर सबैलाई जेल कोचिदेउ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *