अधिवक्ता पोखरेलकाे टिप्पणी: मोहनविक्रम र चित्रबहादुर पनि रविलाई जाेगाउने साँठगाँठमा लागे

काठमाडौं । राष्ट्रिय जनमोर्चा निकट विद्यार्थी संगठनका पूर्व अध्यक्ष तथा अधिवक्ता बिमल पोखरेलले नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई खुला पत्र लेख्दै रवि लामिछानेलाई जोगाउन साँठगाँठ गरेको आरोप लगाएका छन्।

सामाजिक सञ्जालमार्फत पोखरेलले रवि लामिछाने अध्यक्ष रहेको राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग सहकार्य गर्ने निर्णयप्रति असन्तोष व्यक्त गरेका छन्।

उनले अमेरिकी साम्राज्यवादले राष्ट्रिय स्वतन्त्र पार्टी खोलेको आरोप लगाउँदै लामिछानेलाई काँधमा बोकेर मोर्चाबन्दी गर्न खोजिएकोमा प्रश्न उठाएका छन्।

उनले भनेका छन्, ‘रवि लामिछाने सहकारी ठगीमा मुछिएका व्यक्ति हुन् भनेर केसीले दिनरात चिच्याउने, तर तिनै व्यक्तिसँग मोर्चाबन्दीको सैद्धान्तिक र राजनीतिक आधार के हो ?’

पोखरेलले हालै सत्ता र विपक्षी दलहरूको बैठकपछि जारी संयुक्त वक्तव्यलाई पनि आलोचना गरेका छन्। उनले वक्तव्यमा लामिछानेलाई सहकारी ठगी मुद्दामा जोगाउने उद्देश्य स्पष्ट देखिएको दाबी गर्दै चित्रबहादुर केसीले स्वार्थको कारण प्रचण्डसँग लाइन मिलाएको आरोप लगाएका छन्।

उनले राजावादीको कित्तामा खुलेर लागेका राजेन्द्र लिङ्देनसँगको सहकार्य कुनै मानेमा उचित नभएको जनाएका छन् ।

Comments

One response to “अधिवक्ता पोखरेलकाे टिप्पणी: मोहनविक्रम र चित्रबहादुर पनि रविलाई जाेगाउने साँठगाँठमा लागे”

  1. ksp pyl Avatar
    ksp pyl

    चित्रबहादुर र मोहन बिक्रम जासुस कम्युनिष्ट हुन् । दरवारका जासुस । राप्रपासँग एजेण्डा मिल्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *