काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीलाई संसदीय समितिमा बोलाउन माग गरेको छ ।
प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबार बसेको बैठकमा माओवादी केन्द्रका सांसद दुर्गा राईले यस्तो माग गरेकी हुन् ।
उनले समितिका सभापति रामहरि खतिवडाको ध्यानाकर्षण गराउँदै भनिन्, ‘अहिलेको सरकारले अध्यादेश ल्याएर संसदलाई कामविहीन जस्तै बनाएको छ । यसरी कामविहीन बनाउनुभएन । प्रधानमन्त्रीज्यूलाई यो बैठकमा बोलाउनुपर्यो । मैले सबै सोधेको प्रश्नको जवाफ यो बैठकमा सहभागी हुनुभएका गृहमन्त्री रमेश लेखकज्यूले पनि दिन सक्नुहुन्न । प्रधानमन्त्रीज्यू यो समितिमा उपलब्ध जसरी पनि हुनुपर्यो, अध्यादेशसहित समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न ।’
माओवादी सांसद राईले राज्य व्यवस्था तथा सुशासन समितिले गठन गरेको उपसमितिले प्रतिवेदन बुझाइसकेको अख्तियार विधेयक किन रोकियो भन्दै प्रश्नसमेत गरिन् ।
उनले भनिन्, ‘भ्रष्टाचार र अख्तियार विधेयक माननीय हृदयराम थानीको नेतृत्वमा रहेको उपसमितिले प्रतिवेदन बुझाइसकेकोमा भ्रष्टाचार निवारण विधेयक पारित भयो, तर अख्तियार विधेयक किन रोकियो ? यसको जवाफ चाहियो । भ्रष्टाचार र अख्तियार एकापसमा जोडिएका विषय हुन् । यसको उत्तर तत्काल चाहियो ।’

Leave a Reply