रुपन्देही । देशकै दोस्रो ठूलो भन्सार कार्यालय रहेको भैरहवा भन्सार कार्यालय, रुपन्देहीले चालू आर्थिक वर्षमा पनि लक्ष्य भेटाउन नसक्ने देखिएको छ । कार्यालयले निर्धारित लक्ष्यअनुसार आधा वर्षको समाप्तिमा ४२ प्रतिशत मात्रै राजस्व संकलन गर्न सकेको छ ।
कार्यालयले आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा ४६ अर्ब २ करोड ९६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । जुन लक्ष्यको ४२ प्रतिशत मात्रै हो । भैरहवा भन्सार कार्यालयलाई भन्सार विभागले आर्थिक वर्ष २०८१/८२ का लागि १ खर्ब ९ अर्ब ३३ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको छ ।
‘हामीले भन्सार विभागले दिएको लक्ष्य भेटाउन सकेका छैनौँ, तर निराश हुने गरी राजस्व संकलन घटेको छैन,’ प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले भने । गत वर्षको सोही अवधिको तुलनामा यो वर्ष भन्सार राजस्व संकलन बढी भएको उनको दाबी छ ।
गत वर्ष यही अवधिमा ३९ अर्ब १४ करोड राजस्व संकलन भएको थियो । जुन लक्ष्यको ३० दशमलव ६२ प्रतिशत थियो भने अहिले चालू आर्थिक वर्ष लक्ष्यको ४२ प्रतिशत राजस्व संकलन भएको छ । यस वर्ष लक्ष्य पनि बढी छ ।
कार्यालयले साउनदेखि पुससम्मको मासिक राजस्व संकलन औसतमा ८० प्रतिशत माथि रहेको छ । साउनमा ८३ दशमलव ५३ प्रतिशत, भदौमा ९० दशमलव ५ प्रतिशत, असोजमा १०० दशमलव ३९ प्रतिशत, कात्तिकमा ८३ दशमलव १७ प्रतिशत, मंसिरमा ८२ दशमलव १७ प्रतिशत र पुसमा ८० दशमलव ६२ प्रतिशत राजस्व संकलन भएको छ ।
कार्यालयले चालू आर्थिक वर्षको सुरुवातदेखि नै सुधार देखाएको छ । ‘शतप्रतिशत राजस्व संकलन नभए पनि औसतमा ८० प्रतिशत माथि छ र यो सन्तोषजनक हो,’ रेग्मीले भने ।
२०७८ पुस ५ बाट नेपाल राष्ट्र बैंकले १८ वटा शीर्षकका विलासिताका वस्तुहरूको आयातमा अनिवार्य प्रतितपत्र (एलसी) खोल्नुपर्ने र दुई शीर्षकमा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेसँगै वस्तु आयातमा कमी हुँदा राजस्व संकलन खुम्चिएको थियो ।
कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यको ६३ दशमलव २४ प्रतिशत राजस्व संकलन गरेको थियो ।
भैरहवा भन्सार कार्यालयले मुख्य रूपमा मोटरसाइकल, जीप, कार, भ्यान, पेट्रोल, मोबाइल, टेलिफोन, इलेक्ट्रिक कार, एमएस विलेट, टायल, डिजेल, मार्बल स्ल्याब र एलपी ग्यासको आयातबाट राजस्व संकलन गर्दै आएको छ ।

Leave a Reply