दिनेश त्रिपाठीमाथि हातपात गर्ने व्यक्ति प्रहरी हिरासतमा, नामबाहेक थप परिचय खुलाएनन्

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि बुधबार हातपात गर्ने व्यक्ति अहिले प्रहरी हिरासतमा छन् । उनले आफ्नो नामबाहेक केही पनि परिचय खुलाएका छैनन् ।

स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा प्रतिवादी बनाइएका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको विषयमा थुनछेक बहस सकिएपछि वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि सामान्य हातपात भएको थियो ।

जिल्ला अदालत, काठमाडौंको हाताभित्रै त्रिपाठीमाथि हातपात गर्ने ४८ वर्षीय ललीत केसी हुन् । उनी दोलखा जिल्लाको तामाकोशी गाउँपालिका-१ का स्थायीवासी हुन् । ललितपुर, टीकाथलीमा डेरा गरी बस्ने उनले हालसम्म आफ्नो काम, पेशा वा व्यवसाय बताएका छैनन् ।

‘हेर्दा अति सामान्य युवा छन्, के गर्छन् भन्ने कुरा भनेका छैनन्’, जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले बताए ।

बुधबार साँझ बबरमहलस्थित जिल्ला अदालतनजिकैबाट उनी पक्राउ परेका हुन् । आजमात्रै उनको म्याद थप गरिँदैछ । उनलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ ।

जाहेरवालाको तर्फबाट बहस गर्न जिल्ला अदालत पुगेका वरिष्ठ अधिवक्ता त्रिपाठीले बहस सिध्याएर बाहिरिने क्रममा उनीमाथि हातपात प्रयास भएको थियो । उनले रविमाथि हदैसम्मको कारवाही हुनुपर्ने माग राख्दै बहस गरेका थिए ।

Comments

One response to “दिनेश त्रिपाठीमाथि हातपात गर्ने व्यक्ति प्रहरी हिरासतमा, नामबाहेक थप परिचय खुलाएनन्”

  1. KB Gurung Avatar
    KB Gurung

    kada vanda kada karnahi garnu parxa….Dinesh Tripathi pidit ko pakchya bata okalat gardai ako manxe ho jun usko peshanai ho…

Leave a Reply

Your email address will not be published. Required fields are marked *