शिक्षक सेवा आयोगका एक महिलासहित २ सदस्यका लागि दरखास्त आव्हान

काठमाडौं । शिक्षक सेवा आयोगमा एक महिलासहित दुई सदस्यका लागि दरखास्त आव्हान भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक महिलासहित दुई जना सदस्य नियुक्तिका लागि दर्खास्त आव्हान गरेको मङ्गलवार सूचना जारी गरेको हो ।

इच्छुक एवं योग्य नेपाली नागरिकले तोकिएको प्रक्रिया पुर्‍याएर १५ दिनभित्र दरखास्त दिन सकिने मन्त्रालयले सूचनामा उल्लेख गरेको छ ।

इच्छुक व्यक्तिले अवधारणा पत्रसहितको पाँच वर्षको व्यावसायिक कार्य योजनासहित सिफारिस समितिको सचिवालयमा पेस गर्नुपर्नेछ ।

व्यावसायिक कार्य योजना तीनदेखि पाँच हजार शब्दको हुनुपर्नेछ ।

दरखास्त दिने व्यक्ति पछिल्ला दुई वर्षदेखि कुनै राजनीतिक दलमा आबद्ध नभएको, स्नातकोत्तर उपाधि हासिल गरेको, कानून, शिक्षा वा प्रशासनको क्षेत्रमा १५ वर्ष काम गरेको तथा ४० वर्ष पूरा भई ६५ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्नेछ ।

शिक्षक सेवा आयोगमा एक अध्यक्ष र एक महिला सहित दुई जना सदस्य रहने व्यवस्था छ । आयोगका पदाधिकारीको नियुक्ति पाँच वर्षको लागि हुने व्यवस्था रहेको छ ।

अहिले दुई जना सदस्यमध्ये एक पद रिक्त छ भने एक पद रिक्त हुने अवस्थामा रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *