नवलपुरमा भारतीय ट्रकले पुल भाँचेर राजमार्ग अवरुद्ध भएपछि यस्तो बनाइयो वैकल्पिक मार्ग

रुपन्देही । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपस।स्थित विनयी खोलाको दुम्कीबासमा पुल भाँचिएपछि पूर्वपश्चिम राजमार्गमा हिंड्ने सयौं यातायातका साधनमा सर्वसाधारण अलपत्र परेका छन् । मुख्य राजमार्ग बन्द भएपछि अहिले प्रशासनको सहयोगमा दुई वटा वैकल्पिक बाटो प्रयोग गराउन थालिएको छ ।

विजयी त्रिवेणी गाउँपालिका–२ ज्यामिरेबाट भित्री बाटो त्रिवेणी चोक हुँदै गुम्बाचोकबाट राजमार्गमा निस्कने एउटा रुट प्रयोग भएको छ । जुन रुट अहिले चलिरहेको राजमार्गभन्दा ५ किलोमिटर लामो पर्न जान्छ ।

त्यस्तै, ठूला सवारी साधन ज्यामिरे पेट्रोलपम्प हुँदै सिजीचोक, डाँडाचौर, होङ्सि गेटमा पुग्ने अर्को बाटो प्रयोग गरिएको छ । उक्त बाटो १८ किलोमिटर लामो पर्नजाने अवरुद्ध सवारी आवागमनका लागि वैकल्पिक बाटोको प्रयोग गर्न थालिएको नवलपुरका डिएसपी जेशी शाहले नेपाल प्रेसलाई बताए । उनका अनुसार भाँचिएको पुल नजिकै अर्को एउटा डाइभर्सनबाट पनि सवारी आवागमन गराइएको छ । उक्त रुटबाट भने ६ पांग्रे सवारी साधन मात्रै ओहोरदोहोर भइरहेका छन् ।

लरीबाहेक सबै साधनलाई वैकल्पिक बाटोबाट हिंड्ने व्यवस्था मिलाइएको छ, रातीको समय भएकाले सबै चालकहरुले विशेष ध्यान दिनुपर्नेछ’ उनले भने । शुक्रबार साँझ साढे ५ बजेतिर भारतीय हेबी ट्रक एन एल ०१ ए एच ५१७९ नम्बरको ट्रक पुलबाट पास हुने क्रममा पुल एक्कासी भाँचिएपछि यातायात अवरुद्ध भएको हो ।

पूर्वी नवलपरासीमा रहेकामध्ये विनयी खोला पुल सबैभन्दा लामो हो । बुधबारदेखि यो राजमार्गको दाउन्ने क्षेत्रमा शीतलहरले लामो समय बाटो अवरुद्ध बनेकोमा शुक्रबार घाम लागेपछि सहज भएको थियो ।

Comments

One response to “नवलपुरमा भारतीय ट्रकले पुल भाँचेर राजमार्ग अवरुद्ध भएपछि यस्तो बनाइयो वैकल्पिक मार्ग”

  1. ksp pyl Avatar
    ksp pyl

    बढी भार भएको ट्रकलाई चेकजाँच नगर्ने ट्राफिकलाई जरिवाना गर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *