ट्रेड युनियन हटाउन लागिएको भन्दै कर्मचारी नेताहरूको आपत्ति

काठमाडौं । निजामती कर्मचारीका विभिन्न संगठनहरूले दलगत ट्रेड युनियन हटाउने गरी भएको बहसप्रति आपत्ति जनाएका छन् ।

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा आफ्नो सुझाव प्रस्तुत गर्दै निजामती कर्मचारीका विभिन्न संगठनका प्रतिनिधिले हक हितको लागि संगठित हुने अधिकार संविधानले नै दिएको भन्दै यसलाई कुण्ठित गर्ने काम नगर्न सुझाव दिए ।

बैठकमा एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइरालाले ट्रेड युनियन अधिकारमा विषयमा विद्यमान कानूनमा रहेका विषयलाई नै निरन्तरता पाउनुपर्ने बताए । मुलुकको परिवर्तनमा ट्रेड युनियनको भूमिकालाई नबिर्सन भन्दै ट्रेड युनियन अधिकार खारेज गर्ने बहस उचित नभएको उनको टिप्पणी थियो ।

त्यस्तै कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेलले ट्रेड युनियन अधिकारलाई कुण्ठित गर्ने दिशातर्फ नजान सुझाव दिए । निजामती सेवामा रहेर गलत गर्नेलाई कारवाही हुनुपर्नेमा आफूहरू स्पष्ट रहेको भन्दै उनले संवैधानिक अधिकार खोस्ने बहस नगर्न आग्रह गरे ।

त्यस्तै माओवादीनिकट नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टले ट्रेड युनियनलाई व्यवस्थित गर्न सकिने भएपछि यसलाई नै हटाउने कुरा उचित नभएको धारणा राखे ।

यसअघि विधेयकमाथिको छलफलका क्रममा कांग्रेस-एमाले सांसदहरूले दलगत ट्रेड युनियन हटाइ एउटैमात्रै आधिकारीक ट्रेड युनियन राख्नुपर्ने बताउँदै आएका थिए ।

Comments

One response to “ट्रेड युनियन हटाउन लागिएको भन्दै कर्मचारी नेताहरूको आपत्ति”

  1. ksp pyl Avatar
    ksp pyl

    युनियन पार्टी पिच्छेका बनाउने, नेता हुने काम नगर्ने, सरूवा बढुवा मिलाई दिएर पैसा खाने अनैतिक काम भन्दा बाहेक यिनीहरूले गर्ने केही होईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *