एमालेको आह्वान अस्वीकार गर्दै नेकपा एसले भन्यो- हामी पार्टी एकताको मूडमा छैनौं

काठमाडौं । नेकपा एमालेले पार्टी विभाजन भएर गएकाहरुलाई फर्किन गरेको आग्रहलाई माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले अस्वीकार गरेको छ ।

एमालेको आज टुंगिएको केन्द्रीय कमिटीको बैठकले निर्णायक राष्ट्रिय शक्ति निर्माण अभियानलाई सफल बनाउन पार्टी विभाजनलगायतका कारणले पार्टी बाहिर रहेका सबै नेता र स्वतन्त्र ढङ्गले क्रियाशील रहेकाहरूलाई एमालेमा फर्कन आग्रह गरेको थियो ।

एमालेले पार्टी फोडेर अलग भएकाहरुलाई फर्किन आग्रह गरेपछि हामीले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीका प्रचार विभाग उपप्रमुख दामोदर अर्याललाई सोध्यौं ।

उनले आफूहरु वामपन्थी एकताको पक्षमा सधैं खुला रहे पनि एमालेको प्रस्तावलाई अस्वीकार गर्ने बताए ।

उनले भने, ‘उहाँहरुले अहिले फर्की भन्दैमा फर्किने कुरा हुँदैन । अहिले हामी पार्टी एकता गर्ने मूडमा पनि छैनौं । भोलि पार्टीको एकता नै भएछ कुनै कालखण्डमा भने नहोला भन्न सकिँदैन, तर घर फर्की भन्दैमा हामी विद्रोह गरेर हिँडेका फर्किने कुरा सम्भव छैन ।’

उपप्रमुख अर्यालले आफूहरु समाजवादको आधार तयार गर्न सबै वामपन्थी शक्तिहरु एकजुट हुनुपर्छ भन्ने पक्षमा रहेको सुनाए ।

उनले एमालेको आह्वानबारे भने, ‘हामी एकताको विरोधी होइनौं । त्यस्तो आह्वान त हामी पनि एमालेलाई गर्छौं नि ! तपाईंहरु हाम्रो पार्टीमा आउनुस्, हामीले नै वामपन्थी एकताको नेतृत्व गर्ने हो । एमालेको जस्तो प्रस्ताव त एमालेका सबै केन्द्रीय सदस्यहरुलाई हाम्रो पार्टीमा आउन आह्वान गर्छु ।’

Comments

One response to “एमालेको आह्वान अस्वीकार गर्दै नेकपा एसले भन्यो- हामी पार्टी एकताको मूडमा छैनौं”

  1. ksp pyl Avatar
    ksp pyl

    पार्टीलाई भनेको होईन के ? इमानदार र लहैलहैमा वा कसैको उक्साहटमा लागेर गएका इमानदारहरूलाई भनेको हो । माधव नेपाल, मेटमणी, विरोध खतिवडाजस्तालाई भनेको होईन नि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *