३२ वर्ष कटेका ६०० क्रान्तिकारी विद्यार्थी बहिर्गमन, माओवादी बैठकमा उठ्यो व्यवस्थापनको सवाल

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय कमिटीको बैठकमा ३२ वर्षे उमेर हदपछि नेतृत्वको दौडबाट बाहिरिएका नेताहरुको व्यवस्थापनको विषयमा प्रश्न उठेको छ । उमेर हद लागू भएपछि अध्यक्षका दाबेदार अधिकांश नेताहरुसहित ३२ कटेका ६०० क्रान्तिकारी विद्यार्थी नेताको बहिर्गमन भएको छ ।

अध्यक्षको आकांक्षी इन्द्र भुसाल, मिलन एमसी, जीपी मैनाली, तुकमान महरा, पवन कार्की, केशव रावल, नारायण खनाल, मदन भुल, नरेश शर्मासहितका विद्यार्थी नेताहरु थिए, तर अहिले नेतृत्वको दौडबाट बाहिरिएपछि उनीहरुले आफू निकट नेताहरुलाई आफ्नो भूमिकाबारे प्रश्न गरिरहेका छन् ।

अध्यक्षका दाबेदार केशव रावल गुट खारेज अभियान चलाइरहेका छन् । वर्षमान पुन र अध्यक्ष प्रचण्ड निकट पवन कार्की, महासचिव देव गुरुङ निकटका मिलन एमसी र जनार्दन समूहका मदन भुल आ-आफ्ना समूहबाट मैदानमा थिए ।

तर यी नेताहरुको व्यवस्थापन नहुँदासम्म माघ १२ गतेको निर्वाचन पनि अनिश्चित बन्दै गएको नेताहरु बताउँछन् । अध्यक्षका आकांक्षी नेताहरुले आफ्नो राजनीतिक भविष्य सिध्याउन लागेको भन्दै अभियान चलाइरहेको एक नेताले बताए ।

विद्यार्थीबाट बिदा भएका नेताहरुको उचित व्यवस्थापन नभए फागुनमा हुने भनिएको स्ववियु निर्वाचनमा समेत प्रभाव पर्ने सम्भावना बढेको छ । गत असोज १० देखि १४ सम्म कीर्तिपुरमा चलेको क्रान्तिकारीको बन्दसत्रमा उमेर हदको विषयले प्रवेश पाएपछि विवादले उग्र रुप लिएको थियो ।

तर पुस १३ गते जिल्ला-जिल्लामा मतदान केन्द्र राखेर मुक्ति प्रधान नेतृत्वको निर्वाचन समितिले उमेर हदबारे छिनोफानो गरेको थियो ।

अघिल्लो पटक रञ्जित तामाङ अध्यक्षबाट बाहिरिँदा तामाङसहित ७ जना नेतालाई माओवादीले पार्टी केन्द्रमा स्थान दिएको थियो । धुम्बाराहीमा जारी माओवादी केन्द्रको बैठकमा विद्यार्थी नेताहरुलाई उचित जिम्मा दिएर जाने प्रस्ताव गरेको छ । बैठक जारी रहेकाले प्रस्तावबारे कुनै निर्णय भएको छैन ।

३२ वर्ष कटेका ६०० क्रान्तिकारी विद्यार्थी बहिर्गमन भएपछि पार्टीको केन्द्रीय कमिटी बैठकस्थलमा प्लेकार्ड प्रदर्शन गर्न पुगेका केही विद्यार्थी नेताहरुलाई फर्काइएको छ ।

Comments

2 responses to “३२ वर्ष कटेका ६०० क्रान्तिकारी विद्यार्थी बहिर्गमन, माओवादी बैठकमा उठ्यो व्यवस्थापनको सवाल”

  1. Nick Kashyap Avatar
    Nick Kashyap

    यस्तै ब्यवस्थापन गर्न भनेर खर्चिलो संघियता ल्याएका हौ नि।

  2. ksp pyl Avatar
    ksp pyl

    खाडी भासिने अब । अरूले जान हुने यिनले चाहिँ यहाँ लुटेर मात्र खाईरहने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *