एमालेसँग सात बुँदे समझदारी गरेका हौं, कमजोरी नै नकेलाउने भन्ने आठौं बुँदा छैन : महामन्त्री शर्मा (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै कटाक्ष गरेका छन् । पूर्वकर्मचारी समाज नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीभित्र प्रश्न उठाउँदा कारवाही गरेकोप्रति कटाक्ष गरेका हुन् ।

उनले भने, ‘हामीले कांग्रेस र देश बनाउने डिजाइन बनाएर एकताबद्ध भएर लाग्दा आगामी दिन कांग्रेसले नै नेतृत्व गर्ने हो । त्यसका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्छ । यसो भन्दै गर्दा तपाईंहरूले पार्टीका नेताहरूको द्वन्द्व र फरक फरक विचार सुन्नुहोला । हुन्छ त यो कम्युनिष्ट पार्टी हो र ? जहाँ प्रश्न गरिसक्दा मान्छे कारवाहीमा पर्छ ।’

उनले प्रधानमन्त्रीले ओलीले कांग्रेसजस्तो अलोकतान्त्रिक दल कुनै छैन भनेको प्रति पनि व्यंग्यात्मक शैलीमा जवाफ फर्काए ।

उनले थपे, ‘अहिले सरकारमा सँगै सहकार्य गरेको छ केही भन्नै हुँदैन भन्ने होइन । हामीले सात बुँदे समझदारी गरेर अघि बढेका हौं । आठौं कुनै बुँदा छैन एकअर्काको कमजोरी नकेलाउने भन्ने । मैले प्रधानमन्त्रीलाई संसदमा पनि भनेको थिएँ, कांग्रेसमा सभापतिमा प्रतिस्पर्धा गरेका सबै यहीँ हुनुहुन्छ । सबै प्रतिस्पर्धीलाई एकताबद्ध गर्ने तागत कांग्रेसले राख्छ । तपाईंको पार्टीमा तपाईंसँग प्रतिस्पर्धा गर्ने अछाम जिल्लाको कहाँ हुनुहुन्छ म सोध्न चाहन्न भनेको थिएँ । कुनै दलको विषय दलको मात्रै हुँदैन ।’

उनले पार्टी जीवनमा अनुशासन आवश्यक भएपनि कसैको राजनीतिक जीवन नै समाप्त पार्न नमिल्ने तर्क गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *