एमालेबाट निकालिनु अघि नै नयाँ पार्टीको कसरतमा थिए रावल, यी नेतासँग संवादमा

कैलाली । नेकपा एमालेले कारवाही गरेपछि भीम रावल नयाँ पार्टी खोल्ने तयारीमा जुटेका छन् । नेकपा विवादपछि १० बुँदे सहमति गरेर एमालेमै रहेका रावललाई पार्टीले पुस १० मा संगठित सदस्यता खोसेको थियो । पार्टीले कारवाही गर्नुभन्दा केही दिन पहिलेबाटै उनी नयाँ पार्टी निर्माणको तयारीमा जुटेका थिए ।

पार्टीले कारवाही गर्नु भन्दा केही दिन पहिले सुदूरपश्चिम प्रदेशसभा सदस्य डा. तारा जोशीलाई उनले आफूलाई साथ दिन आग्रह गरेका थिए । तर, जोशीले तत्काल नै आफूले त्यस्तो मनसाय नबनाएको प्रतिक्रिया दिए ।

‘तपाईँले खोल्ने पार्टी कम्युनिस्ट त होला नि हैन ?’ जोशीले रावललाई सोधे ।

‘नाइँ अब गैर कम्युनिस्ट पार्टी खोल्छु’ रावलको प्रतिक्रिया थियो । त्यसको केही दिनपछि एमालेले साधारण सदस्य समेत नरहने गरी कारवाही गरेपछि भीम रावलले अब नयाँ पार्टी खोलेर अगाडि बढ्ने विषयमा आफू निकटकालाई बताइसकेका छन् ।

रावलले आफू निकटकालाई पार्टीको मूल एजेन्डाका विषयमा केही छलफल गरेका थिए । अधिकांशले कम्युनिस्टभन्दा गैर कम्युनिस्ट पार्टी निर्माण गर्न सुझाव दिएको उनी निकट स्रोतले जानकारी दिएको छ ।

‘१२\१५ वटा कम्युनिस्ट पार्टी छन्, दोकान थापे जस्तो भएको छ । तपाईँले आफ्नो शैलीमा नयाँ पार्टी निर्माण गर्दा उपयुक्त हुन्छ होला भनेर सुझाव दिएका थियौँ’ उनी निकटका एक नेताले भने, ‘उहाँले ठिकै छ तपाईँहरूको सल्लाह सुझावसहित अगाडि बढ्छु भन्नु भयो । ’

सोमबारमात्रै रावलले नेपाली कांग्रेस बीपीका उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेशका स्वतन्त्र सांसद डा. तारा जोशीसँग भेट गरेका छन् । उनीहरूसँग पनि रावलले आगामी रणनीतिका विषयमा छलफल गरेका थिए । रावलसँग भेटेका मल्ल नेपाली कांग्रेस डडेल्धुराका पूर्व जिल्ला सभापति हुन् भने जोशी एमाले हुँदै नेकपा एकीकृत समाजवादीमा थिए । मल्ल अघिल्लो कार्यकालको प्रदेशसभा सदस्य हुन् भने जोशी यस पटक स्वतन्त्र निर्वाचित सांसद हुन् । डडेल्धुरामा जनमतका दृष्टिकोणले बलिया मानिएका दुई नेताहरूसँगको संवादलाई रावलको आगामी यात्रासँग अर्थपूर्ण रूपले हेरिएको छ ।

मल्लकै नेतृत्वमा डडेल्धुरामा बीपी कांग्रेस खोलिएको थियो । उक्त पार्टीले २०७९ साउन ११ मल्ललाई वरिष्ठ उपाध्यक्षमा मनोनीत गरेको थियो । २ वर्षसम्म पनि उक्त पार्टी तङ्ग्रिन सकेको छैन । अहिले रावलले खोल्ने पार्टीसँग उक्त पार्टीले पनि सहकार्य गर्ने गरी छलफल भइरहेको समेत बताइएको छ ।

‘मलाई तीन वर्ष पहिले शेरबहादुर देउवाले पार्टीबाट निकाल्नु भएको थियो, उहाँलाई तीन दिन पहिले केपी ओलीले पार्टीबाट निकाल्नु भयो अब आगामी राजनीतिक यात्रा पनि सँगै हुनसक्छ कि भन्ने विषयमा हामी छलफल गर्न त्यहाँ पुगेका थियौँ, छलफल सकारात्मक भयो’, मल्लले भने, ‘छलफलबाट बिपी कांग्रेस र उहाँबिच सहकार्य गरेर पनि अगाडी बढ्ने कुरो हुन सक्छ । ’

सोमबार नै सुदूरपश्चिम प्रदेशका पूर्ण आन्तरिक मामिला मन्त्री पूर्णा जोशीको पनि रावलसँग टेलिफोन संवाद भएको थियो । त्यस क्रममा पनि उनले नयाँ अभियानमा होमिने सङ्केत गरेका थिए ।

‘साथीहरू सबैको राय लिइरहेको छु , देशभरी सबैसँग बुझ्छु , नीति ,विधि, राष्ट्र र भ्रष्ट्राचारको विरुद्ध उकुसमुकुस भएको छ , देशव्यापी नयाँ अभियान थाल्छु’ उनले भनेका थिए । त्यस क्रममा नेकपा एकीकृत समाजवादीको विषयमा पनि छलफल भएको थियो । तर, रावलले त्यसमा सम्भावना नरहेको बताएका थिए ।

रावलसँग एमालेसहितका विभिन्न पार्टीका केही नेता कार्यकर्ता, स्वतन्त्र व्यक्तिहरू, नागरिक समाजका व्यक्तिहरूले पनि निरन्तर संवाद गरिरहेका छन् ।

‘एमालेमा देशभक्त, केपी ओलीको स्वेच्छाचारी, निरङ्कुश तानाशाही आचरणबाट आजित भएकाहरु, अपराधी र देशघातीहरुलाई च्याप्ने र देशभक्त र इमानदारलाई पार्टीमा काम गर्न नदिएर किनारा लगाउने क्रियाकलाप छ । त्यसका विरुद्ध उभिनेछन् भन्ने मैले विश्वास गरेको छु । अब सबैको भावनालाई समेटेर अगाडि बढ्छु ’, उनले आफू निकटहरूसँग बताउँदै आइरहेका छन् ।

यसैबीच रावलले बुधबार पत्रकार सम्मेलनको आयोजना गरेका छन् । त्यसमा उनले आफूमाथि गरिएको कारवाहीबारेको जवाफ र आगामी तयारी विषयमा बताउने छन् ।

‘नयाँ पार्टी खोल्ने विषयमा पनि त्यहि घोषणा गर्नुहुन्छ ’ भन्ने प्रश्नमा रावलका सहयोगी गोविन्द दुवाल भन्छन्, ‘पत्रकार सम्मेलन गर्ने विषय टुङ्गो लागेको छ । नेकपापछिका उतार चढावको विषय जानकारी गराउने कुरा भएको छ । त्यस बाहेकका विषयमा उहाँ (भीम रावल ) छलफलमा हुनुहुन्छ । ’

देशभरिका आफू निकटका नेता कार्यकर्ताहरूसँग आन्तरिक छलफलबाट पार्टी घोषणा गर्ने तयारीमा रावल पुग्दा एमाले भित्रका केही नेता कार्यकर्ताहरूले भने पार्टीको केन्द्रीय समितिको बैठकसम्म कुर्न सुझाव दिएका छन् ।

‘हामीले कारबाही फिर्ता हुनुपर्छ र जिम्मेवारीमा ल्याउनु पर्छ भन्नेका छौँ नत्र धेरै ठूलो क्षति हुन्छ । राम्रो हुँदैन भनेका छौँ ’ एमाले केन्द्रीय सदस्य तथा सुदूरपश्चिमका पूर्व मन्त्री प्रकाश शाहले भने, ‘२१ गते केन्द्रीय कमिटीको बैठक छ त्यहाँ पनि हामीले कारबाही फिर्ताको कुरा राख्छौँ । ’

एमाले केन्द्रीय सदस्य तथा पूर्व सांसद झपट रावल पनि अहिले भीम रावललाई कारबाहीको बेला नभएको बताउँछन् ।

‘यो कारबाही गर्ने समय होइन। यो बेठिक हो । दु:खद र दुर्भाग्यपूर्ण हो । तीनैजनाको कारवाही फिर्ता लिएर जिम्मेवारी दिनु पर्छ ’, रावलले भने, ‘हामी राप्रपा कांग्रेस माओवादी ल्याइरहेका छौँ । आफ्नै पार्टीका नेताहरूलाई कारबाही गर्नु ठिक होइन । ’

अहिले कारवाहीभन्दा पनि निष्क्रिय रहेकाहरूलाई सक्रिय बनाउनु पर्ने, बसिरहेकाहरूलाई कुदाउनु पर्ने र सुतिरहेकाहरूलाई ब्युँताउनु पर्ने अवस्था रहेको उनी बताउँछन् ।

Comments

4 responses to “एमालेबाट निकालिनु अघि नै नयाँ पार्टीको कसरतमा थिए रावल, यी नेतासँग संवादमा”

  1. ksp pyl Avatar
    ksp pyl

    महाअधिवेशनमा अध्यक्षमा हारेपछि नै यी मनुवा छुट्टै पार्टी खोल्न खोज्दै थिए । तैपनि घुर्की लाएर अध्यक्ष खाईदेउ भनेर ज्यू हजुर गर्छन कि भनेर ठानेको उल्टै पार्टीबाट निकाले पछि तिरीमिरी झ्याई देखे यिनले । यिनले पार्टी खोलेको दिन एमालेको गोडामा बिझेको काँडो झिके सरह हुन्छ, खोले हुन्छ ।यिनले पार्टी खोल्दैनन । अभियान भन्दै अझै पनि घुर्काएर खान पाईन्छ कि भनेर कोसिस गर्छन ।

    1. manaia thompson Avatar
      manaia thompson

      You are not Khadga Prasad Oli aka KP Oli aka ukhan tukke aka Giribandhu criminal. Are you?

  2. Laleek Avatar
    Laleek

    शुभकामना छ ।

  3. Nagendra Avatar
    Nagendra

    रावलको नियत के थियो?
    ================
    १. यत्ति दौडाहा गर्ने जागर रहेछ त एमालेको चुनाबी अभियान, पार्टी निर्माण र रास्ट्रीय अन्तरास्ट्रिय मुद्दामा चालेका पाइलामा किन रावलको एक पाइलो देखिएन ?? कुरा प्रस्ट छैन र रावलले एमाले मै बसेर के गर्न खोजेका थिए ?? माकुने र प्रचण्ड धुरिएर लाग्दा नसिध्यिएको एमाले सक्न लागेका घमण्डी ढोंगी छिचिमिरा हरु !!
    २. एमालेले आफुमा भएका कमजोरी केलाउनु पर्छ !! बिसेसत: जनतामा आएको असन्तुस्टीको जरो खोज्नु पर्छ, सरकारको काम जनचासो र समस्यामा केन्द्रित गर्नु पर्छ : युवा मैत्री कार्यक्रम र शिप मुलक तालिम उपलब्ध गराउनु पर्छ, रोजगार मुलक अवसरहरु सिर्जना गरेर बेरोजगारी कम गर्नु पर्छ : यस्ता राजनैतिक ब्येपारीहरुका पसल र द्वन्द उद्योगीहरुका आन्ध्रा सुक्छन त्येश पछि : देश अनि बन्छ !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *