गैरकानूनी उत्खनन् रोक्न प्रहरीलाई अनुरोध गर्दा प्रमुख प्रशासकीयसँग पालिका अध्यक्षले सोधे स्पष्टीकरण

विराटनगर । गैरकानूनी रूपमा नहरको शाखाबाट माटो निकालेर बेच्नेहरूलाई कारबाही गर्न अनुरोध गर्दा मोरङको ग्रामथान गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले उल्टै स्पष्टीकरण दिनुपरेको छ ।

मोरङको ग्रामथान गाउँपालिका- २ को बिर्ता जाने नहरको शाखाबाट अवैध रूपमा माटो निकालेर बेचेको भेटिएपछि प्रमुख प्रशासकीय अधिकृत राजाराम पौडेलले प्रहरीलाई रोकिदिन भन्दै पत्र पठाएका थिए । पौडेलले पुस ९ गते ग्रामथानमा रहेको झोरा हाट प्रहरी चौकीलाई पत्र लेखेका थिए ।

उनले प्रहरीलाई गैरकानूनी रूपमा उत्खनन् रोक्ने सम्बन्धमा पठाएको पत्रमा भनिएको छ, ग्रामथानअन्तर्गतका विभिन्न नहर र सडकबाट गैरकानूनी रूपमा उत्खनन् भइरहेको सूचना आएको र गाउँपालिकाले अनुगमन गर्दासमेत उत्खनन् भइरहेको पाइएकाले गैरकानूनी उत्खनन् रोकी सवारीसाधन नियन्त्रणमा लिइदिन अनुरोध छ ।’

प्रमुख प्रशासकीय अधिकृतले प्रहरीलाई उत्खनन् कार्य रोक्न पत्र पठाएको भन्दै गाउँपालिकामा नवनिर्वाचित अध्यक्ष नमोनारायण माझीले पुस ११ गते स्पष्टीकरण सोधेका हुन् ।

पालिका अध्यक्ष माझीले प्रमुख प्रशासकीय अधिकृत पौडेललाई सोधेको स्पष्टीकरण पत्रमा भनिएको छ, ‘प्रहरीलाई के कति कारणले स्पष्टीकरण सोधिएको हो ?’

माझी मंसिर १६ गते सम्पन्न उपनिर्वाचनमा पालिका अध्यक्ष विजयी भएका हुन् । माओवादीको तर्फबाट उम्मेदवार भएका माझीले गैरकानूनी उत्खनन् रोक्ने सम्बन्धमा काटेको पत्रका बारेमा स्पष्टीकरण सोधेका हुन् ।

गाउँपालिका उपाध्यक्ष गुणावती थारुसहितले अनुगमन गर्दा शाखा नहरबाट डोजरले खनेर माटो निकाल्दै गरेको पाइएको थियो ।

थारुले भनिन्, हामी जाँदा डोजरले खनेर ट्रिपर र ट्याक्टरले माटो ओसारिरहेका थिए । हामीले भन्दा समेत नमानेपछि प्रहरीलाई रोक्न अनुरोध गर्दै प्रमुख प्रशासकीय अधिकृतले पत्र पठाउनु भएको हो । यसैलाई लिएर अध्यक्षले स्पष्टीकरण सोध्नुभएको छ ।’

अध्यक्ष माझीले भने आफूलाई थाहा नदिइ पत्र पठाएकाले स्पष्टीकरण सोधको बताए ।

उनले भने, ‘म अध्यक्ष भएर आएको हो, तर मलाई थाहा नदिई पत्र पठाएपछि स्पष्टीकरण सोधेको हो ।’

Comments

2 responses to “गैरकानूनी उत्खनन् रोक्न प्रहरीलाई अनुरोध गर्दा प्रमुख प्रशासकीयसँग पालिका अध्यक्षले सोधे स्पष्टीकरण”

  1. समिर Avatar
    समिर

    माओवादीको विजयको शुभसंकेत

  2. ksp pyl Avatar
    ksp pyl

    माटो निकालेकै त्यहि माओवादी मेयरको निर्देशनमा होला । माओवादीको त काम नै यस्तै हो नि फेरि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *